अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै चीनको भ्रमण गर्ने योजना बनाएका छन्।
ट्रम्पले आफ्ना सल्लाहाकारहरूलाई चीन भ्रमणको तयारी गर्न लगाएको वाल स्ट्रिट जर्नलले आफ्नो एक्सक्लुसिभ समाचारका रुपमा प्रकाशित गरेको छ।
ट्रम्पको चीन भ्रमणले चिनियाँ नेता सी जिनपिङसँगको सम्बन्धलाई नयाँ उचाईंमा पुर्याउने उनले आफ्ना सल्लाहकारमाझ उल्लेख गरेका थिए। ट्रम्पले चुनावी दौडदेखि नै लगातार चिनियाँ वस्तु तथा सेवा आयातमाथि धेरै कर लगाने घोषणा गर्दै आएका छन्। ट्रम्पले २०१७ मा कार्यकाल सुरु गरेको एक वर्षपछि बेइजिङ्ग भ्रमण गरेका थिए।
दोस्रो कार्यकालको पहिलो १०० दिनकै बीच आफू चीन जाने इच्छा उनले व्यक्त गरेका छन्। ट्रम्प र सीले गत शुक्रबार पहिलो पटक फोनमा कुरा गरेका थिए। दुई नेताबीचको फोन वार्ताका क्रममा व्यापार, फेन्टानाइल, टिकटक र अन्य विषयहरूका बारेमा छलफल भएको थियो।
‘म अपेक्षा गर्छु कि हामी धेरै समस्याहरू सँगै समाधान गर्नेछौं, र तुरुन्तै सुरू गर्नेछौं’ ट्रम्पले फोनपछि सामाजिक सञ्जालमा लेखेका थिए। ट्रम्पले सीलाई आफ्नो सपथ ग्रहण समारोहमा निमन्त्रणा गरेका छन्। २० जनवरीमा जो बाइडनले ट्रम्पलाई पदभार सुम्पिनेछन्। सीले उक्त निम्ता स्वीकार गरे पनि उनी आफै भने त्यसमा सहभागी हुने छैनन्। र सीले आफ्ना उपराष्ट्रपति हान झेङ्गलाई पठाउँदैछन्।
चीनको अर्थतन्त्रमा दवाब बढ्दै जाँदा, बेइजिङले अमेरिकासँग करहरूको वृद्धि रोक्न वा कमसेकम त्यसलाई अहिले खुकुलो बनाउन चाहेको छ। ट्रम्पले चिनियाँ आयातमाथि ६० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी लगातार दिइरहेका छन्।
चिनियाँ नेता सी जिनपिङ र उनकी पत्नी पेङ लियुआन २०१७ मा मार-ए-लागोमा आयोजित स्वागत भोजमा सहभागी भएका थिए। त्यो ट्रम्पको पहिलो कार्यकाल थियो। दोस्रो कार्यकालको पहिलो १०० दिनमा चीनसँगै ट्रम्पले भारतको सम्भावित भ्रमणका बारेमा पनि छलफल गरेका थिए।
यो छलफल र ट्रम्प-सीबीचको फोनवार्ताका बारेमा दुबै देशका सञ्चार माध्यमहरूले भने फरक फरक टिप्पणी गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले ताइवानसँगको सम्बन्धलाई लिएर समाचार सामग्रीहरू पस्किएका छन्। उक्त फोन वार्तामा ट्रम्पले ताइवानसँगको मुद्दालाई सावधानीपूर्वक सम्हाल्न भनेर सम्झाएका थिए। ताइवानका तर्फबाट ट्रम्पको सपथ समारोहमा भाग लिन ताइवानका विधायक कुओ-यूको नेतृत्वमा नेताहरू सहभागी हुने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने ट्रम्पले निम्तो गरेका छैनन्। ट्रम्पको सपथ ग्रहण समारोहमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेई लगायत उपस्थित हुनेछन्। ट्रम्पका निकट वैचारिक सहयोगी मानिने भिक्टर अर्वानलाई निमन्त्रणा गरिए पनि उनी सहभागी हुन नसक्ने खबर न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।