अमेरिकामा भोलिदेखि टिकटक बन्द हुँदै, ट्रम्पले चाहे रोकिन सक्छ प्रतिबन्ध !

अमेरिकी सर्वोच्च अदालतको नयाँ व्याख्यासँगै जनवरी १९ देखि अमेरिकामा चिनियाँ शर्ट भिडियो शेयरिङ एप ‘टिकटक’ बन्द हुने निश्चित भएको छ। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो। योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।

त्यसअघि मूल कम्पनी बाइटडान्सलाई टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बेच्ने मौका दिइएको छ। भोलिसम्म टिकटक विक्री भए प्रतिबन्ध लाग्ने छैन। टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको दाबी गर्दै कम्पनी सर्वोच्च अदालत पुगेको थियो।

चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ । टिकटकले विज्ञप्तिमा जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको हो।

यद्यपि  राष्ट्रपति बाइडेनले टिकटकमाथि प्रतिबन्धको निर्णय गर्ने जिम्मा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छोडिदिएका छन्।

बाइडेनले गत वर्ष टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बेच्नु पर्ने अन्यथा प्रतिबन्ध भोग्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए।

ट्रम्पले टिकटकलाई निरन्तरता दिने सङ्केत गरिसकेका छन्। चुनावी अभियानकै क्रममा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका थिए। यद्यपि सुरुवाती समयमा उनी पनि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने पक्षमा थिए।

केही दिनअघि अमेरिकी खर्बपति व्यापारी तथा आगामी ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई)को जिम्मेवारी पाएका एलन मस्कले टिकटकको शेयर किन्ने तयारी गरेको समाचार बाहिरिएका थिए। तर, टिकटकले ती समाचारहरूको खण्डन गरिसकेको छ।

वासिङ्टन पोस्टका अनुसार नवनिर्वाचित राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाले लगत्तै टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा धकेल्न सक्छन्। उनले टिकटकमाथि प्रतिबन्ध लगाउने मिति जनवरी १९ मा नभएर त्योभन्दा ६० देखि ९० दिन पर धकेल्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका समाचारहरू बाहिरिएका छन्।

अमेरिकी मिडिया रिपोर्टका अनुसार टिकटकका सीईओ शाउ जी चू पनि आगामी जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुन सक्ने सम्भावना उच्च छ। ट्रम्पले उनलाई निम्ता दिइसकेका छन्।

प्रकाशित मिति: : 2025-01-18 11:14:00

प्रतिकृया दिनुहोस्