‘डिएनआइजी ग्रुप’को धन्दा: दुबईमा युवा बुटलेर युरोप पुर्‍याउँदै

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आइतबार हुन लागेको ‘डिएनआइजी समिट’ विवादमा तानिएको छ। यो कार्यक्रम दुबई नेप्लीज् इन्फ्लुएन्सियल ग्रुप (डिएनआइजी) ले बुर्जुमानको डबल ट्री हिल्टन होटलमा गर्न लागेको छ।

‘इम्पारिङ द कम्युनिटी’ को नारा दिएर आयोजना गरिएको यो कार्यक्रममा दर्जनौँ विशिष्ट व्यक्तिहरूलाई वक्ता राखिएको छ।

सुन्दा र देख्दा कार्यक्रमको उदेश्य राम्रै लागेपनि यसको अर्काे पाटो भने डरलाग्दो छ।

‘बेरोजगार युवाहरूलाई आकर्षक रोजगारीे दिने बाहना हो। यो मानव तस्करीकै फरक शैली हो। अन्तिममा युरोप, क्यानडा पठाइदिन्छौँ भनेर असुली धन्दा गर्ने उदेश्य हो,’ यो कार्यक्रमलाई नजिकबाट नियालिरहेका दुबईस्थित एकजना नेपालीले भने।

कार्यक्रममा विभिन्न सेसनहरूको तालिका छ। धेरैजसो एचाआर कम्पनीमा आवद्ध व्यक्तिहरु वक्ताका रुपमा छन्। ‘उनीहरूको उदेश्य नै दुबई छोडेर युरोप, क्यानडा अष्ट्रेलिया जानुपर्छ भनेर मोटिभेट गर्र्नु हो।’

यूएईमा कार्यरत ‘प्रोफेशनल’ युवाहरूलाई एक सुत्रमा बाँध्ने र त्यहाँको नेपाली समुदायलाई सूसचित गर्ने यो ग्रुपको लक्ष्य रहेको दाबी छ। यो ग्रुपका संस्थापक भनिएका मनोज मरहट्ठा नै लाइफ लाइन एचआर सर्भिस नामक म्यानपारवर कम्पनीसँग जोडिएका छन्।

‘यो ग्रुपमा जोडिएका युवालाई विभिन्न बाहना गरेर अन्तिममा लाइफ लाइन एचआर सर्भिससँगको सम्पर्कमा पुर्याइन्छ। अनि युरोप, क्यानडा र अन्य मुलुक पठाउने बाहनामा पैसा असुल गरिन्छ,’ स्रोतले भन्यो।

संस्थापक मनोज भने आफ्नो गुप्रमा मन ठूलो भएका व्यक्तिहरू अटाउने दावी गर्छन्।

‘मन ठूलो भएका प्रोफेशनल व्यक्तिहरू यो ग्रुपमा हुन्छन्। पद र तलबमा मात्र धेरै भएको होइन। जुनस्तरको काम गरेपनि उसको सोच राम्रो हुनुपर्यो। उनीहरूमा प्रोफेशनल वा पोजेटिभ अप्रोच हुनपर्यो,’ टिकटकमा सार्वजानिक भिडियोमा एक जनाले सोधेको प्रश्नमा उनले जवाफ दिएका छन्।

यो कार्यक्रममा आबुधावीस्थित नेपाली दूतावासले समेत समन्वय गरेको दाबी डिएनआइजी ग्रुपको छ। पोस्टहरूमा दूतावासको लोगो पनि राखेर प्रचारप्रसार गरिएको छ। दूतावास स्रोतले भने कार्यक्रममा आफूहरूले समन्वय नभएको दाबी गर्छ।

२९ जुनमा दूतावासमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा मनोजलाई राजदूत तेजबहादुर क्षेत्रीले निम्तो दिएका थिए। मनोजसहित उनका साथीहरूले राजदूत क्षेत्रीसँग पनि कसिलो सम्बन्ध बनाएको बताइन्छ।

‘उहाँहरू (डिएनआइजी ग्रुपका प्रतिनिधि) का कुरा नै ठुल्ठूला हुन्छ। योजना त्यस्तै सुनाउँछन्। अनि राजदूत सुनेर मख्ख,’ स्रोतले भन्यो।

प्रकाशित मिति: : 2024-07-13 14:51:00

प्रतिकृया दिनुहोस्