सात दशकको फेरोमा डा. शेखर कोइरालाका राजनीतिक जीवनका उकाली-ओरालीहरू झन् रफ्तारमा छन्। जीवन आफैमा एउटा यात्रा हो। अनि राजनीति त्यस्तो क्षेत्र हो, जहाँ उमेरको हदले अवकाश भइहाल्नुपर्दैन।
डा.कोइराला काठमाडौँ रहँदा बिहानैदेखि कार्यकर्ता भेटघाट टोखा निवासबाट सुरु हुन्छ। बिहानको खानापछिका अन्य भेटघाट र छलफल बालुवाटारको सम्पर्क कार्यालयमा गर्छन्। त्योभन्दा बढी उनी जिल्ला दौडाह अझ भनौँ जनता र कार्यकर्ताका घरदैलामै रहन्छन्।
मोरङको विराटनगरस्थित राजनीतिक परिवारमा नोना कोइराला र केशवप्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मिएका हुन् शेखर कोइराला। करिब ७ दशकअघि आजकै दिन उनी जन्मिएका थिए।
सौम्य शक्तिको सामर्थ्य बुझेरै विश्वका कैयौँ राष्ट्रमा ‘सफ्ट पावर डिप्लोमेसी’ अपनाइएका छन्। शस्त्रले गर्न नसक्ने काम शास्त्रले गर्छ भनेझैँ सैन्य बलबाट पार नहुने काम सौम्य पहलबाट सम्भव पनि हुनेगर्छन्। यो तथ्य ठूला र शक्तिशाली मुलुकमा मात्र लागू हुने होइन। सौम्यता साना मुलुकका निम्ति झन् फलदायी देखिन्छ।
डा.कोइराला पनि पार्टी संगठनका लागि 'सफ्ट पावर डिप्लोमेसी' अनुसार नै अघि बढिरहेको देखिन्छ। त्यसको एउटा उदाहरण हो पार्टीभित्र संसदीय दलको नेतामा उनी आफै अघि सरेनन्।
पार्टीको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका डा.कोइराला १४औँ महाधिवेशनमा सभापति पदमा चुनाव लडेका थिए।
डा. कोइरालाको सुरुवाती राजनीति विराटनगरमा महेन्द्र मोरङ क्याम्पस केन्द्रित थियो। उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए। अध्ययनका लागि भारत गए। चिकित्सक भएर फर्केपछि पाल्पाको मिसन अस्पतालबाट आफ्नो चिकित्सकीय ‘करिअर’ अघि बढाए।
१४औँ महाधिवेशनअघि उनी कांग्रेस नेता-कार्यकर्ताको भाव बुझ्न लामो अवधि देशाटन गरेका थिए। १४औँ महाधिवेशनमा सभापति पदका लागि पाँच जना प्रतिस्पर्धी थिए। उनी दोस्रो हुनु आफैमा एक खालको ‘जित’ नै थियो।
मतदानमा पहिलो चरणमा खसेको मतको ५० प्रतिशत कसैले पनि पुर्याउन नसक्दा चुनाव दोश्रो चरणमा गएको थियो। डा. कोइराला शेरबहादुर देउवासँग पराजित भए। पहिलो चरणबाट बाहिरिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएपछि डा.कोइराला पराजित भएका थिए।
काँग्रेसमा औपचारिक महाधिवेशन सुरू हुन अझै केही समय बाँकी नै छ। तर डा.कोइराला फेरि एक पटक महाधिवेशनको तयारीमा जुटिरहेका छन्। यसपालि सभापति भएरै छोड्ने उनको आत्मविश्वासलाई अहिले धेरै कार्यकर्ताहरूले पनि स्वीकार गरिसकेका छन्। यद्यपि लोकतान्त्रिक पार्टीभित्र नेतृत्व छान्ने अधिकार र अवसरका लागि अझै केही महिनाहरू सिङ्गै छन्।
राष्ट्रिय राजनीतिमा डा.कोइरालाले दुई ठुला दल मिलेर राजनीतिक निकास दिनुपर्ने भन्ने नीति लिएका थिए। त्यसको सुरुवात कोशी प्रदेशको सरकारबाट सुरु पनि भयो।
विपी कोइरालाको निवासको शान विराटनगरको कोइराला निवास अहिले यिनै डा.शेखरको काँधमा छ। विपी र जिपी (गिरिजाप्रसाद) कोइरालाले चलाएको त्यो राजनीतिक ठाँट र शानको सौम्यता यतिबेला डा.शेखरको जिम्मेवारीमा छ।
पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।
क्रान्तिकारी परिवारमा जन्मेका डा.कोइरालाले पारिवारिक पीडाहरू पनि खेपेका छन्। बाबु र आमाको पार्टीप्रतिको इमानदारिताले नै डा.शेखर सौम्य छन्। पार्टी कार्यकर्ताहरुसँग आफ्नी आमाले गर्ने व्यवहार डा.कोइरालाले सानै उमेरमा अनुभव गरेका थिए। त्यसको झल्को कोइरालाको राजनीतिक व्यवहार र भाषणमा समेत झल्किन्छ।
विराटनगरको प्रारम्भिक शिक्षा अनि भारतमा चिकित्सा शिक्षा अध्ययन गरेका कोइरालामा राजनीतिक समझ उच्च कोटीकै देखिन्छ। भारतका नेताहरू चन्द्र शेखरदेखि मोरारजी देशाई, अटल विहारी वाजपेयी र डा.मनमोहन सिहं अनि सोनिया गान्धी हुँदै नरेन्द्र मोदीसम्म डा.शेखरको राजनीतिक सम्बन्ध निरन्तर छ।
कुटनीतिक क्षेत्रमा डा.कोइराला थप अब्बल छन्। नेपालको शान्ति प्रक्रियामा डा.कोइरालाको भूमिका अत्यन्तै गहन थियो र मिहीन थियो। २०४७ सालमा भारतका प्रधानमन्त्री चन्द्र शेखरको भ्रमण र चन्द्र शेखरलाई विराटनगर उतार्न डा.कोइरालाले खेलेको भूमिका उदाहरणीय राजनीतिक योगदान हो। अनि धरानमा अस्पताल बनाउनमा समेत डा. कोइरालाको योगदान उत्तिकै छ। डा.कोइराला राष्ट्र र पार्टीका लागि दुवै भूमिकामा अब्बल भएर निखारिएका पात्र हुन् भन्ने विषय 'ओपन सेक्रेट' छ।
डा. कोइराला यतिबेला केन्द्रीय राजनीतिमा निरन्तर अघि बढिरहेका छन्। उनले बोलेका कुराहरू समाचारका हेडलाइन बन्छन्। उनले लिएको राजनीतिक कोर्सले केन्द्रीय राजनीतिसमेत चलायमान छ। तर पार्टीमा डा. कोइराला नेतृत्वका लागि संघर्षरत छन्।
उमेरका हिसाबले पनि अब डा. कोइराला राजनीति पारिको पुछारमा ब्याटिङमा उत्रिएका पात्र हुन्। हुन त काँग्रेसका नेताहरुको व्यक्तिगत उमेर ७० र ८० ‘ट्रेन्डिङ’मा देखिन्छ। त्यही रफ्तारमा पार्टी नेतृत्वमा पुग्ने उनको अभिलाषा उत्कर्षतर्फ मोडिएको प्रस्टै छ।
वि.सं. २०२३ सालमा एसएलसी दिएका डा. कोइरालाको रुचि त इतिहास र भूगोल थियो। तर विज्ञान विषयमा पनि उनी अब्बल नै थिए। एसएलसीमा दोस्राे श्रेणीमा उत्तीर्ण भए। उच्च शिक्षा विज्ञान विषय लिएर चिकित्सा विज्ञानतर्फ उनका पाइला मोडिएका थिए। तर राजनीतिक चेतना साथमा थियो।
१४औँ महाधिवेशन फेरि उनका लागि दोस्रो एसएलसीझैँ राजनीतिक आइरन गेट भयो। स्कुले जीवनका ५५ वर्षपछि वि.सं. २०७८ महाधिवेशनमा दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो।
वि.सं. २०३९ साल देखि २०४८ सालसम्म काँग्रेस नेतृत्व कोइराला परिवारभन्दा बाहिर थियो। अनि फेरि २०७२ देखि कोइराला नेतृत्वमा छैन काँग्रेस।
जीवनको यो ‘हिरक यात्रा’ सँगै डा.कोइरालाका सौम्य पदचापले उनको राजनीतिक उचाई थप अग्लिँदै जाने सम्भावनालाई पनि उत्तिकै खुल्ला राखेको छ। जो नेतृत्वसम्मको हुन पनि सक्छ।
गएको महाधिवेशनमा ४०.१३ प्रतिशत मत पाएका डा. कोइराला कमसेकम ५० प्रतिशत कटाउनेगरी १५औँ महाधिवेशनको तयारीमा छन्। वि.सं.२०५७ माघ ६–१० गतेसम्म भएको दशौँ महाधिवेशनबाट नेतृत्वका लागि चुनाव लडिरहेका देउवा १३औँ महाधिवेशनबाट मात्रै सभापति चुनिए।
काँग्रेस नेतृत्वमा पुग्न सजिलै त कहाँ पो छ र!
वि.सं. २०१७ सालको सातौँ माहधिवेशनमा विपी कोइरालाविरुद्ध सभापतिमा डा. भूदेव राई चुनाव लडेका थिए। केदारमान व्यथित पनि सभापतिको चुनाव लड्नेमध्येका एक थिए। त्यसैगरी शक्तिशाली गिरिजाप्रसाद कोइरालाका विरुद्ध नरहरि आचार्यले पनि चुनाव लडेको इतिहास छ।
भिमबहादुर तामङ, रामहरी जोशी, गणेशमान सिंह, चिरञ्जीवी वाग्ले हुँदै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह,विमलेन्द्र निधि, कल्याण गुरुङसम्मका नेताहरू पनि सभापतिका लागि चुनाव लडेका थिए। तर सभापति हुन सकेनन्।
१२औँ महाधिवेशन डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गरेर लोकप्रिय मतका साथ केन्द्रीय सदस्य पदमा विजयी प्राप्त गरेका थिए। डा. शेखर १५ औँ महाधिवेशन पनि आफ्नो सौम्यतालाई कायम राख्दै फेरि एक पटक नेतृत्वमा पुग्ने आत्म विश्वासका साथ अघि बढेको देखिन्छ।
शुभचिन्तक, नेता तथा कार्यकर्ता र डा.कोइरालालाई नेतृत्वमा पुगेको देख्न चाहनेहरू उनको सुस्वास्थ्य अनि दीर्घायुको कामना पक्कै गरिरहेका छन्।