दुर्गा प्रसाईंको बिएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.ले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी चिकित्साशिक्षा आयोगले सिट निर्धारण गरेसँगै बिएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो।

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले वि.सं. २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको थियो।

सर्वोच्च अदालतले वि.सं. २०८० चैत्र १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो।

बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.का प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताएका छन्।

विर्तामोडमा सुविधा सम्पन्न अस्पताल सञ्चालन र मेचीनगर– ११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्रा.डा शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2024-09-07 14:10:00

प्रतिकृया दिनुहोस्