भित्ताको क्यालेण्डरले फेब्रुअरी १०, २०२१ देखाएको छ। यी अक्षर लेखिरहदाको समय हो यो ।
पिताजीको निधन भएको पनि दुई महिना उकालो लाग्यो। त्यसयता आफू जन्मेको देश नेपाल र केही समयका लागि स्थायी बासिन्दा भएको देश अमेरिकामा ऐतिहासिक महत्वका केही घटना भए। लेखनको विषयका हिसाबले ती घटना एक जुगमा एकपटक आउने खालकै थिए । लेखनलाई प्यासन बनाएको म जस्तो अक्षरकर्मीका लागि लेखनका लागि जुरेका चुनिदा अवसर थिए ती। ती चुनिदा परिघटनामाथि आफ्नो धारणाको अभिलेखका लागि पनि केही लेख्नुपर्ने थियो।
तर, लेखिएन, लेख्ने जाँगर नै चलाउन सकिन। यसका पछाडि मूलत: दुई कारण थिए। पहिलो, आखिर लेखेर के हुन्छ र भन्ने सोच। हुन त यस्तो सोचले मलाई यसअघि पनि बेलाबेलामा सताएको हो, यसपटक भने अलि बढी नै सतायो। दोस्रो, पछिल्लो समयमा लेखनको यति धेरै अवमूल्यन भयो कि अब त लेख्नु भनेकै कसैको पक्षधरता प्रकट गर्नु हो, गाली या प्रशंसा लेख्नु हो। आलोचनात्मक चेतसहितको वस्तुगत लेखन अब या त अव्यवहारिकताको प्रदर्शन हो या आफू नसक्ने र अरूले पनि गरिखाएको देख्न नसक्ने सोचको अभिव्यक्ति। मैले जीवनमा लेखन यति अपमानित र निरीह भएको पहिले कहिलै देखेको थिइन।
देश फर्कौ, 'वल्लो घरको नेर पल्लो घर सरे'कै भयो देश। नाम फरक होला, थर फरक होला, सबै 'नरे' प्रवृतिकै त छन्। प्रचण्ड, माधव, झलनाथ, देउवा, बाबुराम, खड्गप्रसाद ... जे जे भने पनि मौका पाउँना साथ यिनीहरू पनि नरे' नै भएका थिए र अब हुने पनि त्यही हो। आआफ्नो व्यक्तिगत क्षमताका आधारमा कोही उन्नाइस होलान्, कोही बीस, फरक त्यति मात्र हो।
पिताजी भन्नुहुन्थ्यो, ‘हतियार सँधै साँद लगाएर बस्नुपर्छ, कतिबेला काम आउँछ भन्न सकिदैन।‘ कालो अक्षर भैसी बराबर भएका मेरो पिताजीका लागि खुकुरी नै हतियार थियो। ताप्लेजुङको तेल्लोकमा बसुञ्जेल उहाँको एउटा भोजपुरे खुकुरी थियो, प्राय: कम्मरमा पोटुकी बाँधेर त्यसैमा अड्याउनु हुन्थ्यो। एक महिना जतिको फरक पारेर ढुंगामा साँद लगाउने गर्नुहुन्थ्यो। काठमाडौं आएपछि उहाँले त्यो खुकुरी साँद लगाउन छोड्नु भयो। उहाँ भन्नुहुन्थ्यो, सहर बजारको हतियार भनेको कलम रहेछ, आफूले त्यो चलाउनै जानेको छैन, साँद लाउने कुरै भएन।‘
पिताजी आफ्ना छोरा र नाति-नातिनीलाई भन्नुहुन्थ्यो, ‘तिमीहरूको हतियार भनेको कलम हो, साँद लगाउँदै गर्नु, कतिबेला काम लाग्छ के थाहा ?’ उहाँ सहर पसेर आफूचाँहि हतियार बिनाको मान्छे भएको ठान्नु हुन्थ्यो। समाजशास्त्रीय केणबाट हेर्दा पिताजीको त्यो भनाइमा कति महत्वपूर्ण अर्थ रहेछ, अहिले म त्यसको अनुमान लगाउँदै छु।
पिताजी, मेरो कलमलाई लाग्गा भन्नुहुन्थ्यो। बोली पनि छुरा छ भन्नुहुन्थ्यो। नबिराउने नडराउने स्वभावको भएकाले दु:ख चाँहि पाउँछस् भन्नुहुन्थ्यो ।
उहाँलाई मैले देश छोडेको पटक्कै मन परेको थिएन। उहाँ भन्नुहुन्थ्यो, ‘देश नै छोडेपछि त सक्किगो नि।‘ दुई वर्षअघि पिताजीले दशैको टीका लगाउँदा आशीष दिदै भन्नु भएको थियो, ‘छिट्टै देश फर्किनु।‘
मैले त्यो छिट्टै सन् २०२५ लाई बनाएको थिएँ। छोरो हाइस्कूल ग्राजुयसन गरेर युनिभर्सिटी जान्छ, त्यसपछि देश फर्कनु पर्ला भनेर मनस्थिति बनाउँदै थिएँ। तर, त्यो छिट्टै नदेखी पिताजी हामीलाई छोडेर जानु भयो।
यता देश धन्धुकारीको हातमा पुग्यो, सत्यानास सुरू भएको छ। त्यो कहाँ पुगेर विराम लाग्ने हो, यसै भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा एकपटक देश छोडेको बात लागिसकेको मानिस देश फर्केर के नै पो गर्न सकिएला र ? उमेर पनि ६० को हाराहारीमा पुग्छ, बूढो शरीर फर्काएर देशलाई नै समस्या थपिने हो। यसै पनि देशमा समस्याको चाङ छ। त्यो चाङ थोरै भए पनि बढ्ने नै हो। यदाकदा मनमा त्यस्तो आउँन थालेको छ।
नेपालमा कि त पैसा हुनुपर्छ कि आफ्नो मान्छे। यी दुबै भएर पनि पुग्दैन, स्वाभिमान भन्ने कुनै नाम पनि आफूसँग हुनुहुन्न। केही स्वाभिमानी मानिसले अवसर पाए पनि तिनीहरूले अरूलाई त्यसको हेक्का नदिने कला जानेका हुन्छन्। अपवादलाई छोडेर यो सबैमा लागु हुन्छ।
माथिका कुनै योग्यता र गुण नभएका मानिसमध्येको एक ठान्छु म आफूलाई। ५० वर्षसम्म त्यो योग्यता र गुणको विपक्षमा लागियो र त्यसका लागि चाहिने शासन व्यवस्थाका लागि जहाँबाट जे गर्न सकिन्थ्यो, त्यो गरियो। नभन्दै व्यवस्था पनि परिवर्तन भयो। संसारकै खराबमध्येको कम खराब व्यवस्था ल्याइयो । तर, त्यो व्यवस्थामा पनि अवस्था उही रह्यो। केही पात्र फेरिए, प्रवृति उही रह्यो। बाँच्ने कला जानेकाहरूको नाटकमा नयाँ पात्र र प्रवृति मख्ख परे। उदाहरण खोज्न टाढा जानै पर्दैन, ‘गाउँ गाउँबाट उठ...’ भन्ने रामेश हैन, ‘चौतारीमा राजा भेटिए...’ भन्ने गणेश रसिकहरू प्राज्ञ भए, जनसाहित्य लेख्ने कुन्ता शर्माहरू केही भएनन्, राजाको गुलामी गर्ने माधव घिमिरेहरू राष्ट्रकवि भैरहे। यी त केही उदाहरण हुन्, हरेक क्षेत्रमा यस्तै उदाहरण भेटिए।
प्रकारान्तरमा यस्तो अवस्था सिर्जना भयो, यी कम्युनिष्ट र कांग्रेसका नेता भनाउँदाहरू मौका नपाएर जोगिएका रहेछन्, मौका पाएको भए धेरै अघि स्खलित भैसकेका हुने रहेछन्। मौका पाउनासाथ उनीहरूले आफ्नो सक्कली अनुहार र प्रवृति देखाइहाले। अर्को त उनीहरूसँग औकात पनि रहेनछ, नियत पनि सफा रहेनछ।
ढिलै भए पनि जब यो थाहा लाग्यो, त्यसपछि मुलुक छोड्नुको विकल्प रहेन। योग्यता नभएको पनि हैन, पाखुरीमा पाइन सकिएको पनि थिएन, देशलाई आफू जतिका मानिस पनि चाहिएकै थियो तर पनि देशमा बस्ने वातावरण नै भएन। नभएपछि के गर्ने ? जसलाई जुन जुन देशले भिसा पत्यायो, त्यतै लागियो। तर, भौतिक रूपमा केही फरक भए पनि देश छोडेर हिडिसकेपछि सबैको एउटै वर्ग हो, आप्रवासी।
म अहिले अमेरिकाको आप्रवासी हुँ, अझ यहाँ त आप्रवासी पनि हैन, एलियन अर्थात् अर्कै ग्रहबाट आएको अनौठो जीव भनिन्छ आप्रवासीलाई । म जन्म र नागरिकता दुबैले नेपाली, अहिले अमेरिकामा मेरो हैसियत त्यही हो। अब प्रश्न रहन्छ, बाँकि जीवन यही अनौठो जीव भएर बाँच्ने कि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिने ?
पार्टीका दोस्रो तेस्रा पुस्ताका नेताको कुरा गर्ने हो भने उनीहरू पनि सबै 'नरे'हरूकै दास हुन्। उनीहरूले दिने पद र पावरका लागि यिनीहरू जे गर्न पनि तयार हुन्छन्। यो वा त्यो दलका 'नरे'हरूका टाट्नामा नयाँ पुस्ताका पदलोलुप दोपायाहरूको कमी छैन। र, प्रवृतिकै रूपमा झ्यांगिसकिएको बन्सो भएकाले यो त्यति छिटै नास हुनेवाला पनि छैन।
यी दुई विकल्पबाहेक तेस्रो विकल्प पनि देख्न छोडियो अब त। देश फर्कौ, 'वल्लो घरको नेर पल्लो घर सरे'कै भयो देश। नाम फरक होला, थर फरक होला, सबै 'नरे' प्रवृतिकै त छन्। प्रचण्ड, माधव, झलनाथ, देउवा, बाबुराम, खड्गप्रसाद ... जे जे भने पनि मौका पाउँना साथ यिनीहरू पनि नरे' नै भएका थिए र अब हुने पनि त्यही हो। आआफ्नो व्यक्तिगत क्षमताका आधारमा कोही उन्नाइस होलान्, कोही बीस, फरक त्यति मात्र हो।
जनता पनि घुमी फिरी यिनै 'नरे'हरूकै कारिन्दा हुन्, अरू बेला ठूला ठूला कुरा गरे पनि भोट उनीहरूलाई नै दिन्छन्। किनकि नोट पनि 'नरे'हरूले दिन्छन्, भतेर पनि उनीहरूले लगाउँछन्। अब भोट उनीहरूलाई दिए पछि अरू कुनै बहादुर या सिंहले त मौका पाउने कुरै भएन।
पार्टीका दोस्रो तेस्रा पुस्ताका नेताको कुरा गर्ने हो भने उनीहरू पनि सबै 'नरे'हरूकै दास हुन्। उनीहरूले दिने पद र पावरका लागि यिनीहरू जे गर्न पनि तयार हुन्छन्। यो वा त्यो दलका 'नरे'हरूका टाट्नामा नयाँ पुस्ताका पदलोलुप दोपायाहरूको कमी छैन। र, प्रवृतिकै रूपमा झ्यांगिसकिएको बन्सो भएकाले यो त्यति छिटै नास हुनेवाला पनि छैन।
आखिर यो वा त्यो नामका 'नरे'हरूकै त देश रहेछ। वल्लो घरको नरे पल्लो घरमा सरे भनेझै त 'नरे'हरूकै आलोपालो चलेको छ। जब देशको अवस्था यस्तो छ। के आशले फर्कनु र देश ? यसै पनि एकपटक देश छोडेको बात लागिसकेको मानिस भैसकियो। त्यसैले पिताजी, माफ गर्नुहोला छिट्टै देश फर्कन सकिएला जस्तो छैन।
( आज कुशेऔंशी । २०२१ फेब्रुअरी १० मा लेखेको यो लेख पिताजीप्रति श्रद्धापूर्वक अर्पण गरेको छु : लेखक)