प्रदीप भट्टराई
गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ‘ म महिला प्रधानमन्त्री बनाउन लागिरहेको छु ।‘ उनले त्यसो भनिरहँदा विगतमा महिलालाई अरू पनि थुप्रै बनाएको दाबी गरे । उनको भाषण सुन्दा लाग्थ्यो, ओलीसँग एउटा यस्तो मेशिन छ, जसले महिलालाई जे पनि बनाउन सक्छ । त्यसका लागि ओलीले चाहनु मात्र पर्छ ।
आजको एमालेमा ओलीले चाहँदा मात्र जे पनि हुने स्थिति छ । तर, उनी एमालेबाट कुनै पनि महिलालाई प्रधानमन्त्री बनाउन चाहँदैनन् । बाँचुन्जेल र सकुन्जेलसम्म एमालेको पालो आउँदा ओली आफैँ प्रधानमन्त्री हुन्छन् । पालो नआउँदा वा आफू प्रधानमन्त्री भएको बेलाचाहिँ महिलालाई प्रधानमन्त्री बनाउन लागिरहेको छु भन्छन् । यो सबै उनले लाज पचाएर भन्ने कुरा हुन् ।
तर, पनि उनले महिलालाई प्रधानमन्त्री बनाउन लागिरहेको भनेर एउटा तुरुप फ्याँकेका छन् । यो तुरुपले नेपालमा खासै महत्त्व राख्दैन । किनभने ओली हरेक दिन केही न केही यस्ता उट्पट्याङ कुरा गरिरहन्छन् । तर, वाचाल ओलीले यसपटकको यो कुरा त्यत्तिकै गरेका छैनन् । यसको पछाडि उनको एउटा स्वार्थको ढोक्सा छ । त्यो ढोक्सा के हो समय क्रममा अरू देखिने गरी उजागर हुन्छ नै ।
सबैलाई थाहा छ, अहिले एमाले र कांग्रेसबीच सत्ताका लागि सात बुँदे सहमति भएको छ । सात बुँदेको बुँदा नम्बर ४ मा ‘सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने’ लेखिएको छ । त्यही सहमतिको आधारमा ओली पहिलो चरणमा प्रधानमन्त्री भएका हुन् । र, यो सात बुँदे सहमति मान्य भइरह्यो भने दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन् ।
धेरैलाई यो पनि थाहा छ कि यो सात बुँदे कांग्रेस सभापति देउवाको भन्दा पनि उनकी श्रीमती डा. आरजु राणा देउवाको विशेष चाहनामा भएको हो । त्यतिबेला आरजुलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डर थियो । आफ्नै श्रीमती पक्राउ हुने स्थिति आएपछि देउवा गलेर बालकोट पुगे । र, आफू संसदको सबैभन्दा ठूलो दलको नेता हुँदाहुँदै पनि दोस्रो ठूलो दल एमालेका नेतालाई पहिला र आधाभन्दा बढी समय प्रधानमन्त्री हुन दिन तयार भए । त्यो पनि एक किसिमको उधारो सहमति मात्रै हो । नेपालका ठूला राजनीतिक दल र तिनका नेता विश्वास गुमाउँदै बनेका धोकाका पहाड मात्र हुन् । यो सहमति पनि त्यही धोकाको पहाड चढ्न नसकेर बिचमै नतुहिएला भन्न सकिन्न ।
अहिले भएको खास नगदी कारोबार चाहिँ आरजु पक्राउ पर्नुबाट जोगिएर परराष्ट्रमन्त्रीका रूपमा झन्डा हल्लाएर हिँड्नु नै हो । त्यससँगै देशमा धेरै थान काँग्रेसीहरू लाभको पदमा पुगेका छन् । प्रकारान्तरममा उनीहरूले आफ्नै धोक्रो भरेर कांग्रेसलाई उँभो लगाउने भन्दा पनि उँधो लगाउने हुन् ।
यसो गर्दा पुरानो माओवादी र नयाँ रास्वपा सिंहदरवारबाट सडकमा पुगेका छन् । सम्भवतः रास्वपाका शक्तिशाली सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण र दोहोरो राहदानी प्रयोग गरेकोमा ढिलो चाँडो जेल पनि पुग्न सक्नेछन् । त्यसो भयो भने बढीमा आरजु पुग्ने जेलमा रवि पुग्ने हुनसक्छ । रवि जेल गए भने रास्वपा नामको लामिछाने क्लब लगभग विघटन नै होला ।
मूल विषयमा फर्कनुअघि एक छिन श्रीमती आरजु राणा देउवाको कुरा गरौं । देउवासँग विवाह गरेर ‘राणा देउवा’ हुनुअघि उनको रगतको सम्बन्ध चारजना देशभक्तको ज्यानलिने ज्यानमारा जुद्धशमशेर जबरा हुँदै उनकी बुहारी राप्रपाकी नेतृ प्रतिभा राणासम्म जोडिन्छ ।
उनको व्यक्तिगत आचरण र चरित्र पनि यही तथाकथित खानदानीबाट आएको हो । विनम्रता, शालीनता, मानवीयता र शिष्टता उनको रगतमै छैन । उनको अनुहारमा पनि ती गुणहरूको एक झल्को पाइँदैन । यतिसम्म कि उनको अनुरोध पनि आदेशजस्तो सुनिन्छ ।
उमेरले डाँडा काटिसकेकी आरजुको लागि म्याचमेकर बनेर आइपुगिन् तत्कालीन नेपालका लागि अमेरिकी राजदूत जुलिया चाङ ब्लक । उनकै पहलमा देउवासँग विवाह भएपछि उनी श्रीमती आरजु राणा देउवा बनिन् । देउवा पत्नी भएपछि उनी एक नामूद बिचौलियाका रूपमा देखापरिन् ।
नेपालको इतिहासमै सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका देउवाको कार्यकालमा नीतिगत भ्रष्टाचार गर्नु प¥यो वा ठूलो फाइल सदर गराउनु प¥यो भने आरजुलाई केही मुन्छाउनै पर्ने भयो । त्यही मुन्छाएको भागले आरजुको जीउ मात्र हैन, बैंक खाता पनि मोटाउदै गयो । त्यही क्रममा ठडियो, बुढानीलकण्ठमा भव्य दरबार ।
देउवा पत्नी भएपछि यी राप्रपा नेतृकी छोरी एकाएक कांग्रेस नेता भइन् । कांग्रेस महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, संविधान सभा सदस्य, सांसद, कृषि समितिको सभापति हुँदै परराष्ट्रमन्त्रीलगायतका पदहरू उनका लागि फालिम लागेर आए । मनोविज्ञानमा विद्यावारिधि गरेकी श्री ३ महाराज जुद्धशमशेरकी नातिनी तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी उनी सांसद चाहिँ महिला कोटाबाट भइन् ।
यसअघि एकपटक प्रत्यक्ष चुनाव लड्दा उनी नराम्ररी पराजित भइन् । त्यही हारबाट डराएकी उनी यसपटक महिला कोटामा सिंहदरवार पुगेकी हुन् । उनी जस्ती सक्षम महिला आरक्षणको कोटामा सांसद हुनु नै उनको गतिछाडा कुकर्म हो ।
आरजुको रगतमै महत्त्वाकाङ्क्षा छ । उनका आफ्नै हजुरबा जुद्धशमशेर र उनका खलकले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न के गरे भन्दा पनि के गरेनन् भन्ने ‘एन्टीथेसिस’ इतिहासमा जगजाहेर छ । त्यही डीएनए लिएर आएकी आरजुको महत्वाकांक्षाको चढ्दो ग्राफ हेर्ने हो भने उनी कांग्रेस केन्द्रीय सदस्य र नेपालको परराष्ट्रमन्त्रीमै रोकिनेवाला छैनन् । कांग्रेसको आगामी महाधिवेशनमा उनी कम्तीमा पनि उपाध्यक्ष बन्न चाहन्छिन् । विधानतः आगामी महाधिवेशनबाट उनका श्रीमान् देउवाको कांग्रेसको प्रत्यक्ष–सक्रिय राजनीति सकिँदै छ ।
उत्तराधिकारी राजनीतिमा विश्वास गर्ने कांग्रेसमा देउवाको तत्कालीन विरासत थाम्ने जिम्मा आरजुकै हो । कांग्रेसलाई प्रालि बनाइसकेका देउवा दम्पतिसँग पैसा पनि अकुत छ । कांग्रेसको राजनीतिमा विरासत र पैसा दुवै हाबी हुन्छ ।
यो स्थितिमा आरजु २०८२ को मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनमा सभापतिमा उठिन् र जितिन् भने पनि अचम्म मान्नुपर्ने छैन । यसैपनि देउवा इतर खेमामा गगन थापा, शेखर कोइराला, शशांक कोइरालाले उम्मेदवार हुने भनेका छन् । यसरी धेरै उम्मेदवार भएर मत बाँडियो र यता देउवा खेमाबाट उनी मात्र उम्मेदवार भइन् भने उनलाई जित्नबाट शायदै रोक्न सकिएला ।
राष्ट्रिय परिदृश्यको कुरा मात्र हैन, अन्तर्राष्ट्रिय परिदृश्यले पनि आरजुको पल्ला भारी बनाउँदै छ । आरजुले कांग्रेसलाई बिस्तारै भारतीय जनता पार्टीको नजिक लैजादैछिन् । आरजुको हिन्दूवादी राप्रपा रगतले पनि यसलाई कतै न कतै सघाइरहेको छ ।
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाललाई बाँधिदिएको राखीको डोरी बलियो हुँदैछन् । यही डोरो समातेर मोदी र भाजपा आरजुको पक्षमा दृढ भएर उभिए भने उनी नेपाली कांग्रेसको सभापति हुन अरू सजिलो हुनेछ ।
आरजु कांग्रेस सभापति भइन् भने उनका लागि नेपालको प्रधानमन्त्री हुने सम्भावना अरू बढ्ने छ । किनभने दुई वर्षपछि कांग्रेसको प्रधानमन्त्री बन्ने पालो आउने छ । अहिले नै सत्ता गठबन्धन एमालेका अध्यक्ष ओलीले ‘म महिला प्रधानमन्त्री बनाउन लागिरहेको छु’ भनेर आरजुको महत्वाकांक्षाको आगोमा घ्यू हालिदिइ सकेका छन् ।
ओलीलाई अहिलेको सत्ता गठबन्धनलाई कायम राख्न आरजुको महत्व कति छ भन्ने राम्रैसँग थाहा छ । आरजुकै जोडबलमा बनेको कांग्रेस–एमाले गठबन्धनको भविष्य पनि उनकै हातमा कैद छ । ओलीले महिलाका नाममा अप्रत्यक्ष रूपमा प्रधानमन्त्रीको घाँस हालिदिएर आरजुको महात्वाकांक्षाको भोक बढाइदिएका छन् ।
आरजुको महत्त्वाकाङ्क्षा यथार्थमा परिणत हुन असम्भव पनि छैन । त्यसका लागि चाहिने भनेको उनकै श्रीमान् शेरबहादुर देउवाको स्वीकृति मात्र हो । पाँचपटक प्रधानमन्त्री भैसकेका देउवाका सामु आफू छैठौपटक प्रधानमन्त्री बन्ने कि श्रीमतीलाई नेपालकै पहिलो प्रधानमन्त्री महिला बनाउने भन्ने विकल्प आउँदा उनले दोस्रो विकल्प नै रोज्नेछन् ।
जगजाहेर नै छ कि आरजुको निर्णय नै देउवाको निर्णय हो । यस्तो स्थितिमा देउवाले संसदीय दलको नेताबाट राजीनामा दिए भने त्यसपछि आरजु निर्विरोध पनि हुन सक्छिन् । यसका लागि पहिलो त कांग्रेस संसदीय दलको अंकगणित नै उनको पक्षमा छ । यसअघि देउवा र गगनबीच भएको चुनावको परिणामले नै त्यसको प्रस्ट चित्र देखाइसकेको छ ।
दोस्रो कुरा भनेको महिला कार्ड पनि हो । नेपालले पहिलो प्रधानमन्त्री महिला आफ्नो पार्टीको तर्फबाट पाउन लागेको बेला त्यसलाई तगारो हाल्न गगन वा शेखर कोइरालालाई नैतिकताले पनि दिँदैन । उनीहरूले त्यसो गरे पनि त्यसलाई संसदीय दलको अंकगणितले दुस्साहस मात्र बनाउने छ ।
यसरी विधिवत् संसदीय दलको नेता बनेपछि आरजुलाई प्रधानमन्त्री बन्न कसैले पनि रोक्न सक्दैन । आंशिक रूपमा रोक्न सक्ने भनेको ओलीले नै हो तर उनले आफू महिलालाई प्रधानमन्त्री बनाउन लागिरहेको बताएर नरोक्ने संकेत गरिसकेका छन् । हुन त ओली विश्वसनीय पात्र हैनन् ।
तर, त्यस्तो अवस्थामा पनि उनले आरजुलाई रोक्न खोजे देउवाले प्रचण्डसँग हात बढाउन सक्छन् । ओलीलाई चुनावी सरकारबाट हटाउनको लागि मात्र पनि प्रचण्डले देउवाको हात थामिदिन सक्छन् । यसरी यो कोणबाट पनि आरजुको लागि प्रधानमन्त्री हात लाग्न सक्छ ।
हो, नेपालमा आरजुको सामाजिक छवि पटक्कै राम्रो छैन । तर, नेपालका कसको चाहिँ छवि राम्रो छ र ? जो जो प्रधानमन्त्री भएका छन् वा हुने क्रममा छन्, सबैको अनुहार उस्तै ध्वाँसे छ । तैपनि देशमा यस्तो राजनीतिक सिन्डिकेट बनाइएको छ कि उनीहरूले चाहे पनि जे हुने अवस्था छ । त्यो जे मा आरजु नेपालको पहिलो महिला प्रधानमन्त्री भइन् भने अचम्म मान्नुपर्ने छैन । त्यही अघि नै उनी नेपाली कांग्रेसको सभापति भइन् भने पनि अचम्म मान्नुपर्दैन । त्यसो भयो भने उनका लागि नेपालको पहिलो प्रधानमन्त्री महिला बन्ने रोडम्याप अझ सहज हुनेछ ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया