धनपालथानबाट साढे १५ क्वीन्टल गाँजा बरामद,मोरङका एसपी कार्की नै खटिए फिल्डमा

Break n Links
Break n Links

मोरङको धनपालथानबाट प्रहरीले लगभग साढे १५ क्वीन्टल गाँजा बरामद गरेको छ। धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट बिहीबार दिउँसो १५ सय ४८ किलोग्राम गाँजा बरामद भएको हो। मोरङबाट एकैपटकमा यति धेरै लागूऔषध गाँजा बरामद भएको यो नै पहिलो घटना हो।

भारततर्फ लैजान ठिक्क पारिएको तयारी गाँजा मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर बरामद गरेको थियो। भण्डारण गरी गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको कार्कीले बताए।

गोठमा लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिन उनी आफैं टोली लिएर पुगेका थिए। कार्कीका अनुसार गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा लागूऔषध गाँजा फेला पारिएको हो।

गाँजा बरामद गरेर प्रहरीले गोठधनी सिंहलाई समेत पक्राउ गरेको छ। यद्यपि, गोठमा कसले भण्डारण गरेर राखेको भन्ने यकिन भइसकेको छैन। गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए।

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर अवैध बाटोको प्रयोग गर्दै भारततर्फ कटाउने गरिएको छ। यसको अवैध कारोबारमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने र मौका मिल्नसाथ भारत पुर्याउने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ।

प्रकाशित मिति: : 2024-06-27 22:00:00

प्रतिकृया दिनुहोस्