धर्मको खोलमा लपेटेर बम्जनले बोकेका ‘पाप’का भारी 

फोटो/भिडियो: सनि शाक्य
फोटो/भिडियो: सनि शाक्य

माओवादीका ‘जनसेना’ र तत्कालीन ‘शाही सेना’को भीडन्त अनि त्यो युद्धको चर्को आवाजले आक्रान्त भइरहेका नेपालीमाझ २०६१ तिर एउटा ‘शान्ति’को खबर भुसको आगोजस्तै बनेर फैलियो।

भारतीय सीमा नजिकै बाराको एउटा जंगलमा ठूलो पिपलको बोटमुनि ‘ध्यान’ गरिरहेका एउटा बालकलाई देखेका केही स्थानीयले त्यो खबर क्षणमै देशभरि फैलाए। अनि त उनलाई हेर्नका लागि तीर्थालुहरूको भीड लाग्न थाल्यो। 

पत्तै थिएन, को हुन् के हुन् उनी! 

मान्छेले उनलाई रातारात भगवानै बनाइदिए। अनि १४ वर्षीय ती बालक ‘बुद्धका अवतार’का रुपमा देशभरि छाए। 

कैयौँ महिना नखाएरै अनि नसुतेरै ‘तपस्या’मा लीन भएको भनेर चिनाइएका उनका बारेमा खोजी हुँदै जाँदा पत्ता लाग्यो, उनी बारा जिल्ला रतनपुरीका रामबहादुर बम्जन थिए। 

२०४६ चैत २७ गते वीरबहादुर बम्जन र मायादेवी बम्जनको कोखमा जन्म लिएका उनी १४ वर्षको हुँदा ‘बुद्धका अवतार’का रुपमा चिनिए। उनीपछि पनि यो परिवारमा अरु ६ जना सन्तानको जन्म भयो। रामबहादुर तेस्रो सन्तान थिए। 

दुई कक्षा पढ्दा पढ्दै लामा ज्ञान लिन भारतको देहरादून पुगेका उनी २ वर्षपछि घर आएका थिए। त्यसपछि भने उनी फेरि देहरादूनको गुम्बामा फर्किएनन्। 

बरु ‘सपनामा देउता’ देखेको भन्दै उनी ध्यान गर्न जंगल छिरे।

नेपाली भक्तालुले ‘भगवान’ बनाएका बम्जनलाई खोज्दै खोज्दै आइपुगेका विश्वका धेरै पत्रकारहरूले उनलाई ‘लिटिल बुद्ध’को नाम दिएर संसारभरि फिँजाए। 

उमेर छिप्पिदैं गयो। बम्जन जवान हुँदै थिए। जसरी उनको चर्चा चुलिइरहेको थियो उनले आफ्नो ‘साम्राज्य’ पनि उसैगरी फैलाउँदै लगे। ‘बोधि श्रवण धर्म संघ’को नामबाट फैलिएको उनको ‘मिथ्या’ धर्मको साम्राज्यभित्र धर्ममात्रै थिएन बरु भित्रभित्र अपराधका खात पनि लागिरहेका थिए। 

तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन त्यसपछि लिटिल बुद्ध भइसकेका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि यसरी फैलाए कि अन्तत: त्यही साम्राज्यको भासमा उनी हिँड्दाहिँड्दै भासिए। 

र, ३४ वर्षको जीवनमा ‘अपराध’का भारी बोकेर उनी अहिले जेल यात्राको तयारीमा छन्। 

नाममा जे सुकै होस्, धर्मको त्यो खोलभित्र अरु केही थिएन बरु अपराधै अपराधमात्रै थिए।

उनले केही वर्षमै बारा, सर्लाही, सिन्धुपाल्चोकलगायत ठाउँमा आश्रम खोले। उनको आश्रमममा ध्यान गर्न जाने पनि बढिरहेका थिए। २०६६ मा उनले गढिमाइ मेलामा हुने बली रोकिदिने बताएका पनि थिए। 

तर मेला लाग्ने दिनमा उनी आफ्नो आश्रमबाट हराए। बली रोकिएन। यसबीचमा उनका हर्कतहरु त्यति बाहिर आएका थिएनन्। तर पछि क्रमश: बम्जन हत्यामा संलग्न भएको, बालयौन दुर्व्यवार गरेको, आश्रममा रहेकालाई बेपत्ता बनाएको आरोपमा फस्दै गए। 

सोही आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले मंगलबार साँझ सवा ७ बजे पक्राउ गरेको छ। पक्राउ परेका उनलाई प्रहरीले बुधबार आज सार्वजनिक गरेको छ। 

बाल यौन शोषण गरेको आरोप
रामलाल बम्जनलाई प्रहरीले बाल यौन शोषण गरेको आरोपमा पक्राउ गरेको हो। २०७६ सालमा जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्धमा पक्राउ गर्न अनुमति दिएको थियो। 

२०७१ साल साउनदेखि बाराको हलखोरियामा रहेको बम्जनको आश्रममा आनिको रुपमा बसेकी एक बालिकालाई उनले यौन शोषण गरेको सर्लाही अदालतमा मुद्धा परेको थियो। 

उनलाई बाल यौन शोषणमात्र मात्र होइन। हत्या, बेपत्ता पारेको, अबैध सम्पति आर्जन गरेको आरोपमा पनि अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। 

बम्जनको आश्रमबाट चार जना बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ। नुवाकोटकी चुन्मो भन्ने २९ वर्षीया चिनमायाँ तामाङ, मकवानपुरका ५१ वर्षीय सञ्चलाल वाइवा र डोल्मो भन्ने ३० वर्षीया फुलमायाँ रुम्बासँगै बाराका ३४ वर्पीय सुरेश कुमार आले बेपत्ता पारेको बम्जनमाथि आरोप छ। 

लोभ नभएका तपस्वी बम्जनको विलासी जीवन
बम्जन आफूलाई लोभ, क्रोध, मोह नभएको प्रवचन दिन्छन्। अन्य धर्मभन्दा माथि रहेको दाबी गर्ने उनी आफ्नो छुट्टै मैत्रेय धर्म रहको बताउँदै आएका छन्। बोधि श्रवण धर्म संघ खोलेर आफ्नो मैत्रेय धर्मलाई प्रचारप्रसा गरिरहेका छन्। 

उनी यही संघबाट देश–विदेशमा लोभ, क्रोध, मोह गर्न नहुने प्रवचन दिँदै हिड्छन्। तर उनको जीवन भने उनका अनुयायीले सोचेभन्दा, ज्ञान प्राप्त गरेभन्दा निकै भिन्न छ। 

बारामा जन्मिएका उनको काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ मा टन गाउँमा चार तले घर छ। मंगलबार उनी यही घरबाट पक्राउ परेका हुन्।

उनी टोयोटाको फर्चुनर गाडी चढ्छन्। प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको गाडी तुलाराम भण्डारीको नाममा रहेको भएपनि बम्जन चढ्दै आएका थिए। उक्त गाडी प्रहरीले बरामद गरेको छ। 

फर्चुनर गाडी मात्र होइन बम्जनले आफू चढ्नका लागि नयाँ ल्याण्डक्रुजर जिप अर्डर गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ। पनित महर्जनको नाममा ५ करोडमा बुक भएको उक्त ल्याण्डक्रुजर खरिद गर्न बम्जनले ३ करोड रुपैयाँ भुक्तानी दिएको भेटिएको छ।

साथै उनको बुढानिलकण्ठ घरमा जिमखानादेखि आरामदायी बासस्थान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले बम्जन चढ्दै आएको चार वटा मोटरसाइकल, उनले प्रयोग गर्ने आइप्याड ५ वटा, ल्यापटप २ थान र १४ थान मोबाइलसँगै विभिन्न इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ।

उनको साथबाट १७ देशको विदेशी मुन्द्रा ३ लाख ९२ हजार ६ रुपैयाँ र नेपाली ३ करोड ३ लाख ७५ हजार ५०० गरी कूल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ प्रहरीले बरामद गरेको छ। 

यो पैसा कसरी उनको घरमा आयो खुल्न सकेको छैन। यस विषयमा अनुसन्धान भइरहेको सिआइबीले बताएको छ। 

२०७६ माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सिआइबीले खोज्दै आएको थियो। तर बम्जन चार वर्षसम्म लुकिछिपी बसेका थिए। 

केही दिनअघि बुढानिलकण्ठ आएको सूचना पाएको सिआइबीले मंगलबार डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा उनी बस्ने घरमा पठाएको थियो।

बुढानिलकण्ठमा प्रहरी पुग्दा बम्जनले खाना खाँदै गरेका थिए। प्रहरीलाई देखेपछि उनी भाग्ने प्रयाससमेत गरेका थिए। 

तर ‘अप्रेसन व्लु’ अभियान चलाएर खोजेको प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो। उनलाई बुधबार नै सर्लाही लगिएको छ। 

भिडियो

यो पनि–

बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद, मोबाइल मात्रै १४ वटा भेटियाे

प्रकाशित मिति: : 2024-01-10 21:33:00

प्रतिकृया दिनुहोस्