बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद, मोबाइल मात्रै १४ वटा भेटियाे

पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट प्रहरीले विभिन्न १७ देशका मुद्राहरू र नेपाली गरी ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनसहित बरामद भएकाे रकम र अन्य सामानहरू सार्वजनिक गरेकाे हाे।

उनको घरबाट नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआईबीले जनाएकाे छ।

उनकाे घरबाट विभिन्न ब्राण्डका १४ वटा मोबाइलहरु, दुई वटा ल्यापटप र २० वटा पेनड्राइभ पनि बरामद भएको छ। साथै आइप्याड, ट्याब, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको प्रहरीले जनाएकाे छ।

पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिइन्।

निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो।

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ। लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो।

प्रकाशित मिति: : 2024-01-10 14:22:00

प्रतिकृया दिनुहोस्