काठमाडौँकाे ‘काँठ’मा चम्किरहेकाे एउटा ‘सरकारी’ स्कुल (भिडियाेसहित)

करिब ६० वर्षअघिकाे काठमाडौंको ‘काँठ’ कस्ताे हुँदाे हाे? काठमाडौंका सिरानतिर रहेका पहाड अनि जंगल छेउछाउमा त्याे ‘काँठ’काे जीवन बाँचेकाहरू अहिले त निकै कम भेटिन्छन्। उसै पनि ‘काँठ’ अब बदलिइसकेकाे छ। 

सामान्यतया काठमाडौं चक्रपथ बाहिरकाे क्षेत्र हो काँठ। याे भनेकाे गाउँजस्ताे सहर हाे, सहरजस्ताे गाउँ पनि हाे। 

याे पूर्वाेत्तर काठमाडौंकाे ‘काँठ’ क्षेत्रलाई बिगत साठी वर्षदेखि शिक्षाकाे उज्यालाे दिइरहेकाे एउटा ‘सरकारी’ स्कुलकाे कथा हाे।

...

काठमाडौंको मुख्य सडकमध्ये एक मानिन्छ, चाबहिल ‘रोड’। जहाँबाट सहजै पाइन्छ, चारै दिशामा जाने रुटको गाडी। चाबहिलबाट चुच्चेपाटी हुँदै झण्डै १२ किलोमिटर टाढा छ, गोकर्णेश्वर मन्दिर र जंगडोल। 

रुखैरुखले भरिएको जंगल अनि मन्दिरको छेउमा ठडिएको छ, ‘सहयोगी उच्च माध्यमिक विद्यालय’। जसले मन्दिरका भक्तालु र जंगल आउने घुमन्तेहरूलाई लोभ्याइरहेको छ। बाहिर हेर्दा यसले जसरी जाेकाेहीकाे झट्ट मन खिच्छ, काठमाडौंकाे ‘काँठ’बाट यसले देशका लागि धेरै उत्कृष्ट ‘दिमाग’हरू पनि उत्पादन गरेकाे छ। 

चार तले भवनमा बनेको सहयोगी स्कुल गोकर्णेश्वर क्षेत्रकै उत्कृष्ट समुदायिक विद्यालयमध्ये एक हो। त्यसैले त सहयोगी स्कुलमा पढ्न आउने विद्यार्थीहरूको लर्को काठमाडौंसँगै सिन्धुपाल्चोकदेखि रामेछापसम्मै फैलिएकाे छ। 

अर्थात् जति याे पfकाे हुँदैछ सरकारी शिक्षाकाे आकर्षणकाे आयतन उति नै बढिरहेकाे छ। 

नेपाल सरकारबाट भोगाधिकार प्राप्त गरेको भूमिमा स्थापित सहयोगी स्कुल २४ रोपनी ८ आना एक पैसा क्षेत्रफलमा फैलिएको छ। जहाँ शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू पढाइका साथै खेलकुदमा पनि सक्रिय छन्।

आजभन्दा करिब ६ दशकअघि गुन्द्रीबाट सुरु स्कुल अहिले सेवासुविधा सम्पन्न रहेको सहयोगीका प्रधानध्यापक कृष्ण चापागाईंको दाबी छ। उनका अनुसार अहिले एउटा विद्यार्थीले पाउनुपर्ने सेवासुविधा सबै स्कुलले दिलाइरहेको छ।

‘त्योबेला स्कुल सुरुवात गर्दा धेरै दुख र संघर्ष गर्नुपरेको थियो। एउटा राम्रो बस्ने सीट थिएन। गुन्द्रीबाट सुरु भएको थियो’, विगतलाई सम्झदै उनले भने, ‘तर अहिले त्यो अवस्था छैन। शिक्षक र विद्यार्थीहरूले राम्रोसँग पढाउने र पढ्ने अवस्था छ। स्कुलमा कुनैपनि कुराको कमी छैन।’

समाजमा शिक्षा फैलाउने उद्देश्यले सञ्चालन भएको सहयोगी सुरुवाती दिनमा माध्यमिक तहसम्म मात्रै स्थापना भएको थियो। तर झण्डै तीन दशकपछि विद्यार्थीहरूलाई थप शिक्षित बनाउनका लागि २०५१ सालदेखि सहयोगी उच्च माध्यमिक बन्यो।

‘पहिलोपटक कक्षा ११–१२ पढाउँदा चार जना स्टुडेण्ट थिए’, तीन दशकअघिको कुरा सम्झदै उनले भने, ‘तर अहिले विद्यार्थीहरूले भरिभाउ छन् क्लासहरू। उहाँहरू आफैं हाम्रो विद्यालय खोज्दै आउनुहुन्छ।’

विद्यालयले विद्यार्थीहरूलाई राम्रो शिक्षा र संस्कार मात्र होइन छात्रवृत्तिदेखि दिवा खाजाको समेत व्यवस्था गरेको छ। जसले विद्यार्थीहरूलाई अध्ययनको लागि थप प्रोत्साहन गरिरहेको छ। त्यसैलेपनि विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट छन्। 

सहयोगी स्कुलले विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि छात्रवृत्ति, दिवा खाजा र आर्थिकस्थिती नाजुक भएकाहरूलाई निःशुल्क शिक्षा छरिरहेको छ। त्यसैगरी स्कुले ड्रेसदेखि कापी–कलम पनि विद्यालयले नै व्यवस्था गरिदिइरहेको प्रधानध्यापक चापागाईंले बताए।

‘हाम्रो स्कुलको नामै काफी छ सहयोगी’, बिएल नेपाली सेवासँग उनले भने, ‘त्यसैले स्कुलले सकेको सहयोग गरिरहेको छ। हाम्रो विद्यालयको लक्ष्य भनेको कमाउनेभन्दा पनि विद्यार्थीलाई शिक्षित बनाउनु हो।’
 
‘बोर्डिङ’भन्दा कम छैन

नेपालको दोस्रो उच्च माध्यमिक विद्यालय सहयोगीले ६० वर्षदेखि शिक्षा छरिरहेको छ। र, यसै अवधिभर लाखौंको संख्यामा विद्यार्थीहरू शिक्षित बनेका छन्।

‘हामी पढाएका स्टुडेण्डहरू अहिले राम्रो काम गरिरहेका छन’, बोर्डिङभन्दा सरकारी स्कुल कम नभएको बताउँदै उनले भने, ‘यहीँ सहयोगीमा पढेकाहरूले प्रगति गरेको देख्दा असाध्यै खुसी लाग्छ।’

स्कुल र शिक्षकको सबैभन्दा ठुलो उपलब्धि नै विद्यार्थीको प्रगति रहेको उनको बुझाइ छ।

‘हामीले पढाएर धेरै पैसा कमाउँछौं भन्ने छैन तर विद्यार्थीहरूले राम्रो काम गरेको सुन्दा र देख्दा स्वर्ग पुगेजस्तो लाग्छ’, उनी भन्छन्, ‘एउटा शिक्षकको लागि त्योभन्दा ठुलो कुरा केही नहुँदो रहिछ।’

शिशुदेखि कक्षा– १२ सम्मका विद्यार्थीहरूलाई राम्रो शिक्षा दिन सफल रहेको सहयोगी स्कुलबारे उनले भने, ‘यहाँको इन्भारमेन्ट र एजुकेशनको कारण हाम्रो स्कुल विद्यार्थीहरूले रोज्ने गर्नुहुन्छ।’

फेरिएको सहयोगी

कुनैबेला भुइँमा बसेर पढाउने गरेको सहयोगीको मुहार अहिले बदलिएको छ। त्योबेला पर्याप्त बिल्डिङ र खेलकुल खेल्ने ठाउँ थिएन।

धेरै असुविधा र समस्याहरूले घेरिएको थियो स्कुल। तर अहिले सुविधा सम्पन्न छ। ‘त्यो बेलाको सहयोगी र यो बेलाको सहयोगीमा धेरै परिवर्तन आएको छ’, उनले बताए।

भवनसँगै पढाइमा पनि परिवर्तन आएको प्रधानध्यापकको अनुभव छ। उनका अनुसार समुदायिक स्कुलहरूमा धेरै नेपाली मात्र हुन्थ्यो तर अहिले अंग्रेजी पनि उत्तिकै पढाइन्छ।

अंग्रेजी सिक्नको लागि बोर्डिङ स्कुल नै खोज्नु नपर्ने अवस्था रहेको उनको भनाइ छ।

‘सरकारी स्कुलमा नेपाली त पढाइ हुन्छ नै तर अहिले अंग्रेजी पनि उस्तै राम्रो भइरहेको छ’, अंग्रेजीको शिक्षक समेत रहेका प्रधानध्यापक चापागाईंले भने, ‘सरकारी स्कुल पढेकाहरू पनि अंग्रेजी भाषामा बोल्न र लेख्न सिपालु छन्।’

त्यसैले पनि समुदायिक विद्यालयलाई हेप्नु वा अंग्रेजी पढाइ हुँदैन भन्नु गलत रहेको उनको ठम्याइ छ।

एउटा स्कुललाई राम्रो बनाउनका लागि एक जना मात्र नभई सबैजनाको हातेमालो हुनेपर्ने प्रधानध्यापक बताउँछन्। जबसम्म एउटा शिक्षले सकारात्मकका साथै काम गर्दैनन् तबसम्म शिक्षामा सुधार नआउने उनको बुझाइ छ।

‘शिक्षकले तलब मात्र पकाउने होइन। मनभित्रबाटै काम गर्ने जुनून पैदा हुनुपर्छ’, उनले भने, ‘त्यसपछि बल्ल शिक्षालगायत स्कुलमै आमूल परिवर्तन आउँछ।’

सहयोगीका शिक्षकलगायत विद्यार्थी प्रस्तुति देखेर खुसी भएका प्रधानध्यापक चापागाईं भन्छन्, ‘हाम्रो स्कुल सुविधा सम्पन्न छ तर केही सामान र प्रविधि नहुँदा समस्या भइरहेको छ। यदी त्यो हुँदो हो त हामी झनै राम्रो गर्न सक्ने थियौं।’

आफूहरूको समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ भन्ने उनको विश्वास छ

प्रकाशित मिति: : 2024-06-29 18:55:00

प्रतिकृया दिनुहोस्