नइ पिरती ढल पडेको नइँ आफूना गाउँको।
माटी उकेरू कि मान्नो साई बसेकी ठाउँको।
त्यही माटो हो जहाँ सालनाल गाडिन्छ। त्यही माटो हो जहाँ पेट भर्नलाई अन्न उब्जाइन्छ। त्यतै गरिन्छ लडिबुडि पनि। अन्तमा यो चोला खरानी बन्ने पनि त त्यही माटोमा हो। माटो ईश्वर हो। माटो आधार हो। माटो ममता जननी हो। के हैन र माटो? पुर्वजका पालादेखि नै पुजिँदै आएको माटोको गाइँदै आएको आफ्नै महिमा छ। जसलाई शब्दमा वर्णन गरेर साध्य छैन। सिरानीमा राखेका गीतका पंक्तिले सम्झाउछन् माटोको महिमा। जहाँ प्रेमीको बसोबास छ। प्रेम फुलाउने फलाउने उक्त माटोको बारेमा केही नभनी अँजुलीमा उठाएर छातीमा टाँसुझैँ लाग्छ भन्ने आसय व्यक्त गरिएको छ।
आज आषाढ १५ अर्थात् नेपाल सरकारले मनाउने गरेको धान दिवस। किसानका खेतहरूले नेपाल सरकारको ब्यानर पर्खिरहेजस्तो। ठूलाबडाका पाइताला खोजिरहेजस्तो देखावटी समयको मझघारमा उभिएर क्षणभर टोलाइरहेँ।
यस वर्ष पश्चिम नेपालको आकाशमा दुई दिनअघि देखि मात्र मडारिन थालेको हो, बादल। छिटपुट वर्षाले किसानमा वर्षातका हिसाबले भर्खर आषाढको सुरुवाती भएको देखिन्छ। तर, समयानुसार दुई साता बितिसके। तराईको गर्मीले झनै बढाइरहेको छ विगतको यादलाई।
विगतमा पहाडमा यतिखेर चारैतिर सुनिन्थ्यो ढोलकको आवाज। घन्किन्थे चैत र धमारीका भाका। लोप हुँदै गइरहेको छ पुरानो संस्कृति। तथापि, बचेखुचेका केही पुराना अनुहारले जोगाइरहेकै छन्, अहिलेसम्मन संस्कृतिका पाटाहरू।
खेतालाहरु हिलो खेलिरहेका हुन्थे। गीत गाइरहेका हुन्थे। दमाईले ढोलकको तालमा ठट्यौली पारामा खेतालालाई हौस्याउँदै गालीसमेत गरिरहेको सुनिन्थ्यो। सुदूरपश्चिममा एकातिर स्वतन्त्रता छ बजाउनेलाई अर्कोतिर स्वतन्त्रता छ खेताला र रोपारहरुलाई। त्यो स्वतन्त्रता भनेको हिलो खेल्दै गीत गाउँदै रमाइलो गर्ने हो। मनोवैज्ञानिक हिसाबले हेर्ने हो भने बिहान दिउँसो रोपाइमा जोतिएको ज्यानमा गीतसंगीतले थप ऊर्जा दिइरहेको हुन्छ। थकाइ लाग्न नदिने वा थकाइ लागिहाल्दा पनि मानसिक रुपले पत्तै नपाउने एक गतिलो माध्यम पनि हो रोपाइमा गाइने गीतसंगीत। रोपाइ पर्व आफैँमा एउटा काव्य जस्तो लाग्छ।
विगत यादगार बनेपछि देउसरालाई फोन गर्छु गाउँघरतिर रोपाइको चहलपहलका बारेमा सोध्न। प्रतिउत्तर आउँछ उनको, ‘गाउँघरतिर खेतला नैथिन्। युवा जति विदेश गैगे। अचेल रोपाइका बेला चटके देखिना छन् ठौरठौर। रोपाइ खेतमा हुन्छ भनिबर सिकाउने जसा नेता आउँदा गाडी हुइकाइबर। खेतमी गई रोपे जसो गद्दा रे फोटो खिचाइ माग्दा। फेसबुकमी फोटो हाल्ला। तमासा देखिने रैछ बाँचेपछि। अझैँ के-के तमासा देखिने हुन्। धमारी, चाँचरि, ढुस्को गाउने जान्ने पुराना मान्स रएइन। नयाँले सिकेइन। नयाँ पुस्ताका प्वाख लागिगे। सबै भटाभट उड्डा छन्। उसेरी काँइ काइ त पुरानाइ ढंगले बनाउनै लाछन् अचेल पन रोपाइँ। इसोइ छ।’
मान्छेको जीवनमा आनन्द उमङ्ग भित्र्याउनेदेखि बह पोख्ने माध्यम गीत सङ्गीत, साहित्य र कला नै हो। यसकै साहारामा मान्छे घरी प्रफुल्ल मुद्रामा हुन्छ घरी आफूलाई पोखिरहेको हुन्छ। क्षणभरकै लागि मात्र किन नहोस् महसुस गर्छ कुनै अर्कै दुनियाँमा पुगेको। मान्छेले आफ्नो जीवनमा अनुभव गरेको गहिरो भाव लोकसाहित्य हो। हाम्रो लोकसाहित्य भन्नु नै हाम्रो आफ्नोपन हो। हाम्रो पहिचान हो। त्यतै भेटिन्छन् हाम्रा जराहरु। हाम्रा पुर्वजबाट हरेक पर्व पर्वादीको चयन गरिएको हुनुपर्छ समयअनुकुल रमाइलो गरेर एकआपसमा खुसी बाड्नका लागि। गीत संगीतका माध्यमबाट आफूलाई पोखेर मन हलुका पार्नका लागि। यसरी खुसी बाँड्ने होस् वा आफूलाई पोख्ने चाडपर्वहरुमध्येमा पर्छ आषाढ पन्ध्र पनि।
विश्वका केही प्रतिभाहरुले आषाढ महिनालाई नै माध्यम बनाएर लेखे। आषाढमा टेकेर लेखे। हाम्रा लोककविहरुले पनि आफूलाई पोखेँ काब्यमा। रचना गरे चाँचरी धमारी, चैत, ढुस्को आदि। जसको भाव बुझ्ने हो भने भावविह्वल बनाउँछ हृदय। त्यो काव्यका बारेमा कहिल्यै सोचेनन् आषाढ पन्ध्रका दिन ब्यानर लगेर खेतमा फोटो खिचाउन पुग्नेहरुले। जुन दिनानुदिन लोप हुँदै गइरहेको छ।
आषाढ लाग्ने बित्तिकै कालिदासको मेघदूतको प्रसङ्ग उठाउने गर्छन् कतिपय साहित्यिक मनहरुले। जहाँ कुबेरको बगौँचा हेरचाह गर्ने कामको जिम्मेवारी पाएको यक्ष स्त्रीमा हरबखत लम्पट भई काम बिगार्न पुग्छ। यसरी काम बिगारेको सजाएस्वरुप उसलाई पदच्युत गरी एक वर्षका लागि देश निकाला गरिएको हुन्छ। देश निकाला भएको यक्ष रामगिरि पर्वतमा बस्न पुग्छ। वर्षायाम सुरु हुन लाग्दा अर्थात् आषाढको प्रथम दिनमा उसले आफ्नी प्रियसीको सम्झनामा उद्वेलित भएर आकाशमा मडारिरहेको बादललाई दूत बनाएर आफ्नो प्रणय सन्देश पठाउँछ। जुन सन्देश निकै मार्मिक भावपूर्ण र सहजै हृदयस्पर्श गर्ने खालको छ।
हाम्रा लोककविहरुले रचना गरेका कतिपय गीतहरु पनि रुवाउने खाले छन्। जुन बिस्तारै लोप हुने अवस्थामा पुगेका छन्। मैले यहाँ हाम्रा लोककविहरुलाई महाकवि कालिदाससँग दाज्न खोजेको कदापि हैन। न त दाज्न खोजेको हुँ हाम्रा गीतहरुलाई उनको मेघदूतसँग नै। कालिदास छुट्टै प्रतिभा भएका अपवाद मध्येका एक थिए। जसका बारेमा जति नै चर्चा गरे पनि कमै हुन जान्छ।
यहाँ भन्न खोजिएको यतिमात्र हो हाम्रा रोपाइमा गाइने गीतहरुले दिने सन्देश र ती गीतहरु आफैँमा एउटा काव्य हुन। जसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ। जसको व्यापक रुपले खोजिनीति हुन सकेको छैन। पाठ्यक्रममा समावेश हुनुपर्ने खालका ती गीतहरु जसको भावसम्म पनि बुझ्ने चेष्टा गर्दैनौँ। मात्र रोपाइमा फोटाे खिचाउन व्यस्त भैदिन्छौ। कुराकानीका क्रममा देउसराले सम्झाएकी हुन् गोपी चन्दको चाँचरी। जसमा भनिएको छ:
नगरकी दिदी बैनीउ चेला जन पाल्या,
पाल्योताल्यो गोपी मेरो जोगी हुन लाग्यो।
तिनु तेरा बबाज्यू त कैरे सुम्पी गई?
हेलुकेलु रानी तेरी कैरे सुम्पी गई?
यसरी आमा-बुबा श्रीमती, राजपाट, श्रीसम्पत्ति सबैलाई यसरी यता सुम्पेर जान थालेँ भनेर गोपीले उत्तर दिन्छ। केही सीप नचल्दा एकोहोरो भएर सन्यासी बन्न तम्तयार गोपीलाई अन्तमा भनिन्छ,
वल्ली नगरी गएइ बाला पल्लि नगरी गएइ
माझकी नगरी बाला कभै जन गएइ
तै नगरी तेरी बैनी हुन्नी
तो धेक्याले तेरी बैना धुरुधुरु रुन्नि
(वरको सहरमा जानु, परको सहरमा जानु तर त्यो बिचको सहरमा कहिल्यै नजानु। त्यो सहरमा तेरी बैनीहरु छन्। तिम्रो जोगी रुप देखेपछि ती बिलौना गर्ने छन्। अधिक रुनेछिन्। जसलाई सम्झाउन सजिलो कर्म अवश्य पनि हुने छैन।)
त्यस्तै काला भुवर(भ्रमर)सँग युवतीले आफ्ना माइतको खबर बुझेर ल्याउन भनेको बडो मार्मिक ढुस्को छ।
काला लेग काला धुरा काला भुमर
मेरा बाका घर घुमी आउनु भुमर
मेरा सिने खाट मथि सियई भुमर
मेरो खाने भात खाएइ काला भुमर
मेरा लाउने लुगा लाएई काला भुमर
मेरी ईजु क्यारी खान्छन् सोधेइ भुमर
ईजुकी सम्रेडी लागी भनेई भुमर
मेरी सम्राई मान्ना छौ कि सोधेई भुमर
गाड रोपाइ होइजाली गायई भुुमर
सङ्गीनीकि सम्राई लागी भनेई भुमर
सङ्गनीकि भाती चाटी आएई भुमर
यस्तै प्रकारले समय हेरी गीत जोड्दै जान्छन्। यस्ता करुण रसमा सिर्जित थुप्रै प्रकारका गीतहरु छन् रोपाइमा गाइने। ती गीतहरु क्षणभरका लागि मात्र भएपनि मन हलुका पार्ने माध्यम बने। मनोरञ्जनका उपाय बने। समूहमा गाउँदै एकताको महत्व सिकाउने सिकाइका कडी बने।
सुदूरपश्चिमतिर आफ्ना प्रेमी, प्रेमीकालाई, साई, वाज, कोइली, न्याउली, काँस्या मिजुरा, डाँडामिका बाज, गंंगाजलजस्ता नामको संज्ञा दिई बोलाउने चलन छ। यसै सिलसिलामा क्याँस्या मिजुरा र वाली विनोदको ढुस्को उस्तै रोचक छ।
हाई हो ! हाम दुयै विहेई लैजा काँसे मिजुरा
हाई हो ! तमी दुयै क्याले लैजाउ वाली विनोदा
हाई हो ! गोठकी गवडी वेच काँसे मिजुरा
हाई हो ! दुध क्याको खाल्ली मूलाई वाली विनोदा
हाई हो ! गाड घट्ट बेची दिय काँसे मिजुरा
हाई हो ! धुलो क्याले पिडि खाल्ली वाली विनोदा
एवम् प्रकारले भएका सबै चिज बेचेर भएपनि हामी दुवैलाई घरमा लैजाउ भनी प्रेमीकाले जिद्दी गरेको गीत दमाईले जोड्दै गाउँदै बजाउँदै रमाइलो हुन्थ्यो। कतै झिमझिम वर्षा भैरहेको हुन्थ्यो भने कतै कुहिरोले छोपेको दृश्य देखिन्थ्यो। ढोलकको आवाजसँगै दमाई, खेताला र रोपाराहरुको आवाजमा गुञ्जिँदै गरेको करुण रसमा आधारित गीतको लय कर्णप्रिय हुन्थ्यो। यतिखेर गुञ्जिरहेको हुन्थ्यो खेतमा।
हिजोआज अधिकांश ठाउँमा खेत बाँझा छन्। कृषिकर्म गर्नुपर्ने जनशक्ति विदेश पलायन भैरहेको छ। रोपाइमा गाइने गीत जान्नेहरु दिनानुदिन कम हुँदै गैरहेका छन्। सिकनुपर्ने युवा-युवतीहरुलाई चासो छैन। विगतमा गाइने गीतहरु हिजाआज लोपोन्मुख प्राय छन्। सरकारका अगुवाहरु हरेक वर्ष कृषकका खेतका गरामा पुगेकै छन्। मासु भात खाएकै छन्। र, हिलोमा खुट्टा राखेझैँ गरी फोटो खिचाइ रहेकै छन्।
जसैगरी पुराना स्थानीय जातका बालीहरू हराउँदै गए उसैगरी पुराना दिनमा गाइने र खेलिने खेल पनि लोप हुँदै गइरहेका छन्। आधुनिकताका नाममा देखापरेका बाह्य संस्कृतिका बाछिटाहरूले बिस्तारै सम्राज्य जमाउन थालेपछि पूर्खाका पालाका संस्कार, सभ्यता र संस्कृतिका पाटाहरू निरीहझैँ देखिन थालेका छन्। यो पीडा न कुनै दिवशमा भेष्ट वितरण गर्नेहरू बुझ्छन्, न त व्यानर तेर्साएर तस्बिर खिच्नेदेखि प्रगति प्रतिवेदन तयार पार्नेहरू नै बुझ्छन्। मात्र रमिता देखाइरहन्छन्। केही वर्ष अघि शिखर नगरपालिका- १० डोटीका शोभान दमाईले रोपाइमा गाएका गीत सम्झिन्छु,
वारिकी कर्णाली गङ्गा पारि किनार
कसेरी बिसूलो भिना तेरी अनार
वारिकी कर्णाली गङ्गा पारि किनार
पछ्यौरीमा लेखिलैजा मेरी अनार
घाङरीमा लेखिलैजा मेरी अनार
हत्केलीमा लेखि लैजा मेरी अनार..........................।
विगत पनि सभ्यता र संस्कृतिको एउटा अनुहार हो। जसलाई सम्झाइरहन्छन् यिनै गीतका पंक्तिले। उता देउसरा पनि त्यही विगतलाई सम्झेर सुनाइरहेकी हुन्छिन् यी पंक्ति।
जून उसीइ सरक उसोइ मनमी पड्डी रात
तमी खोज्दा उइलका जसो ऐले उसो काँ छ।