१.१. विषय प्रवेश
दर्शन भनेको मानिसको भित्री आँखा हो। जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ। मानिसको विश्व दृष्टिकोणलाई दर्शन मानिन्छ। यो प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक नियमहरूको अध्ययन गर्ने शास्त्र र पद्दति पनि हो। दर्शन मानव चेतनाका रूपहरूमध्ये एक हो। दर्शन एक विषय, सिद्धान्त वा सङ्गठनको आत्मा, सिद्धान्त र सामान्य अवधारणा पनि हो। यसले संसार र जीवनलाई बुझ्ने तरिकालाई पनि बुझाउँछ।
दर्शनलाई अङ्ग्रेजीमा ‘Philosophy’ भनिन्छ। ग्रीक भाषाका ‘फिलोस’ र ‘सोफिया’ शब्दको योगबाट ‘फिलोसोफी’ (दर्शन) शब्द बनेको हो। दर्शन शब्द ‘दृश्’ धातुबाट ब्युत्पत्ती भएको पाइन्छ। ‘दृश्’ धातुमा ‘अन’ प्रत्यय लागेर (दृश् अन) ‘दर्शन’ (दृष्टि) शब्दको निर्माण हुन्छ। जसको अर्थ हेर्नु हुन्छ। अर्थात् कुनै वस्तु, घटना, क्रिया, व्यवहार, व्यक्ति, विचार तथा सिद्धान्तलाई हेर्ने दृष्टिकोणलाई नै दर्शन भनिन्छ।
‘दर्शन’ शब्दको अर्थ आत्माको यथार्थ ज्ञान र ज्ञानको साधन भन्ने बुझिन्छ। प्राचीन समयमा कुनै पनि व्यक्ति ज्ञान र समझदारीबाट मात्र बुद्धिमान बन्न सक्छ भन्ने धारणा रहेको थियो। त्यसबेला बुद्धिमानीपूर्वक जीवनयापन गर्नसक्नु नै मानव जीवनको उच्चतम आदर्श मानिन्थ्यो। पूर्वीय दार्शनिक माधवाचार्यले ‘दर्शन त्यस ज्ञानको नाम हो, जसबाट चक्षुगोचर अर्थात् रूपमा प्रकट हुने र आँखाले देखिने विषयहरू तथा स्पर्शसम्बन्धी अर्थात् छोएर, चाखेर र सुँघेर थाहा पाइने विषयहरू, चाहे ती अति नै सूक्ष्म या अन्य कुनै वस्तुभित्र गाभिएर रहेका वा धेरै टाढा रहेका किन नहोऊन्, ती सबको ज्ञान हुन्छ’ भनेका छन्।
ग्रीकका दार्शनिक प्लेटोले जोसँग सबै प्रकारका ज्ञानको जानकारी छ, जो व्यक्ति ज्ञान ग्रहण गरेर कहिल्यै थाक्दैन त्यो दार्शनिक हो भनेका छन्। उनका अनुसार दर्शन एउटा गहन, व्यापक एवम् विस्तृत विषयवस्तु, दृष्टिकोण, कार्य ज्ञान, सत्य, मूल्य एवम् तर्कको एकीकृत स्वरूप हो। यसको क्षेत्र संसार झैं व्यापक छ जो मानव, जगत्, ब्रह्माण्ड, विज्ञान, शिक्षा, समाज, कला, साहित्य, सिद्धान्त, विचार, सिर्जना, भाषा, संस्कृति, ज्ञान एवम् सत्यजस्ता हरेक पक्षसँग सरोकार राख्दछ।
दर्शनलाई विभिन्न वैज्ञानिकहरूले परिभाषित गरेका छन्। सुकरातले ‘सत्यको ज्ञानलाई दर्शन हो’ भनेका छन्। कोम्टेले ‘प्राज्ञहरूको विज्ञानलाई दर्शन हो’ भन्दा अरस्तुले ‘पारलौकिक वस्तुहरूको वास्तविक प्रकृति खोजी गर्ने विज्ञान दर्शन हो’ भनेका छन्। सिसेरोले ‘सम्पूर्ण कलाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो’ भनेका छन्। हेगेलले ‘दर्शन सत्यको वस्तुवादी विज्ञान हो’ भनेका छन्।
त्यस्तै मार्क्सले ‘हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्त्व हो’ भनेका छन्। एङ्गेल्सले ‘दर्शन भनेको चिन्तन र सत्ताको सम्बन्ध हो’ भनेका छन् भने मनुले दर्शनलाई सम्पर्क दर्शन भन्दै ‘जसले ज्ञान दिलाउँछ, ज्ञानले मुक्तिको मार्ग देखाउँछ र यसबिना मानिस आफूलाई संसारिक बन्धनबाट मुक्त गर्न सक्दैन’ भनेका छन्।
उल्लेखित विद्वान्हरूका परिभाषालाई आधार मान्दै दर्शनलाई सान्दर्भिक सत्य तथ्यहरूको व्यवस्थित विचार, शाश्वत सत्यको सिद्धान्त, मानवीय मूल्यहरूको दिग्दर्शन सिद्धान्त, तार्किक चिन्तनको परिणाम, तार्किक ज्ञानहरूको यथार्थता, वैज्ञानिक चिन्तनहरूको यथार्थता, सत्यको विश्लेषणात्मक स्वरूप, मूल्यको व्यवस्थित रूप हो भन्दा फरक पर्दैन। जसले जीवन पद्दतिको पहिचान गराउनुका साथै आफ्नो र जगत् आदिको कारणको खोजी गर्दछ।
१.२. दर्शनशास्त्र
दर्शनशास्त्र भनेको प्रकृति मानव समाज र मानवीय चिन्तन विकासको नियमको विज्ञान हो। दर्शनशास्त्रलाई पूर्वीय र पाश्चात्य विद्वानहरूले व्याख्या एवम् विश्लेषण गरेका छन्। दर्शनशास्त्र ब्रह्माण्डका हरेक वस्तुको तथ्य र रहस्य पत्ता लगाउने विज्ञान हो। ‘दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो। मानव इतिहासमा विभिन्न किसिमका ऐतिहासिक अवस्थाहरूमा र देशहरूमा विभिन्न सामाजिक वर्गहरू र दलहरूका प्रतिनिधिहरूले प्रतिपादन गरेका बहुसङ्ख्यक दार्शनिक प्रणालीहरू देखापरेका छन्’ (मास्के, २०७५ः पृ. ५)।
दर्शनशास्त्रले विश्व र मानव जीवनको उपस्थितिलाई परिभाषित गर्दछ। सत्य, अहिंसा, क्षमा, साहसी, दया, माया, सहयोगजस्ता विषयवस्तुहरू जीवनका अनिवार्य विषय हुन्। दर्शनशास्त्रले जीवनलाई मार्गदर्शन दिन्छ। ‘दर्शनशास्त्रलाई ज्ञानको विशिष्ट रूप पनि भनिन्छ। प्राचीन कालमा दर्शनशास्त्रलाई विज्ञानको पनि विज्ञान भन्ने गरिन्थ्यो’ (जोशी, २०७८ः पृ. ५९–६०)।
पाश्चात्य मान्यता अनुसार दर्शनशास्त्रको अर्थ ज्ञान प्रेम हो, दार्शनिक भनेको ज्ञानप्रेमी हो र आत्मा, जीवन र जगत्को गहिरो उत्सुकता वा जिज्ञासा नै दर्शनशास्त्र हो। ‘यो पृथ्वी, यसभित्रका मानवलगाायत सम्पूर्ण जीवजन्तु, वनस्पति आदि र समग्र विश्व–ब्रह्माण्डको उत्पत्ति, विकास, रूपान्तरण, अवसान आदिको प्रक्रिया के हो? भनी अध्ययन गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ’ (प्रश्रित, २०७१ः पृ. २८)।
‘दर्शनशास्त्र सिङ्गो जीवन र जगत् अर्थात् प्रकृति, जीवन, समाज र चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने एक निश्चित पद्दति हो’ (भुसाल, २०६८ः पृ. १८)। दर्शनशास्त्रलाई डेकार्डले वृक्षका रूपमा अर्थाएका छन्। ‘दर्शनशास्त्र एउटा वृक्षजस्तै हो। जसमा जरा तङ्खवविज्ञान, फेद भौतिकशास्त्र र हाँगाबिङ्गा अन्य विभिन्न विषयहरू हुन्। युरोपेली समाजमा न्यूटनको गणितशास्त्र, लिनियसको वनस्पतिशास्त्र, ला मार्क्सको जीवशास्त्र र यस्तै अन्य विषयहरू दर्शनशास्त्र गनिएका थिए’ (Spirkin, 1983: P. 1)।
मार्क्सवादले दर्शनशास्त्रलाई सैद्धान्तिक ज्ञानको यस्तो रूप ठान्छ, जसले विश्व–दृष्टिकोणसँग प्रकृति र समाजलाई हेर्ने सवालहरूको विश्लेषण र व्याख्या गर्दछ। एङ्गेल्सले दर्शनशास्त्रको परिचय दिँदै चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक वा आधारभूत प्रश्न हो भनेका छन्। ‘समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न नै दर्शनशास्त्र हो’ (एङ्गेल्स, १९७८ः पृ. २२३)। उपर्युक्त आधारलाई दृष्टिगत गर्दै दर्शनशास्त्रलाई प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक वा आम नियमहरूको विज्ञान तथा पद्दतिका रूपमा अथ्र्याउन सकिन्छ।
१.३. दर्शनको उत्पत्ति र इतिहास
दर्शनलाई र मानव सभ्यताको विकासलाई सँगसँगै जोडेर अध्ययन गर्नु उपयुक्त ठहर्छ। ब्रह्माण्डको उत्पत्तिलाई लिएर फरक–फरक धारणा पाइन्छन्। आध्यात्मवादी र भौतिकवादी दर्शनशास्त्रीहरूले ब्रह्माण्डको उत्पत्तिदेखि लिएर हरेक भौतिक विकासलाई लिएर आफ्नै खालका धारणा र दृष्टिकोण सार्वजनिक गरेका छन्।
आध्यात्मवादी दर्शनशास्त्रीहरूले हरेक वस्तुको उत्पत्तिको कारण ईश्वरलाई ठान्ने गर्दछन्। विश्व–बह्माण्डको उत्पत्ति कसरी भयो? यसको उत्पत्ति र विकासको कारण के हो? यी र यस्ता हरेक प्रश्नको उत्तर एउटै आउने गर्दछ। त्यो हो–‘ईश्वर’। आध्यात्मवादी दर्शनशास्त्रीहरूको मान्यता विश्व–ब्रह्माण्ड (संसार) को अस्तित्व ईश्वरमा निहित छ।
यसको ठिक विपरित भौतिकवादी दर्शनशास्त्रीहरूले विश्व–ब्रह्माण्डको मूल आधार भौतिक तङ्खवलाई मान्ने गर्दछन्। भौतिकवादीहरूले हरेक विकास र परिवर्तननको आधार प्रकृतिलाई मान्ने गर्दछन्। उनीहरूले आध्यात्मवादीहरूका तर्कलाई खण्डन र मण्डन गर्दै यथेष्ट प्रमाण प्रस्तुत गरेका छन्।
दर्शनको उत्पत्ति बुझ्नका लागि विश्व–ब्रह्माण्डको उत्पत्ति बुझ्नु अपरिहार्य ठहर्छ। हरेक वैज्ञानिक अविष्कार र तथ्यहरूले ब्रह्माण्डको उत्पत्तिको कारण अन्य केही नभई स्वनिर्माण रहेको प्रमाणित गरेका छन्। जसलाई बुझ्नका लागि करिव १५ अर्ब वर्षअघि पुग्नु पर्दछ।
प्रारम्भिक चरणमा अत्यधिक तातो डल्लोका रूपमा रहेको ब्रह्माण्ड क्रमशः सेलाउँदै गएर विभिन्न पिण्डका रूपमा विकास भएको र यस्ता पिण्डहरू तारा र ग्रहका रूपमा विकसित भएको वैज्ञानिक तथ्यहरूले प्रमाणित गरेका छन्। वैज्ञानिकहरूले करिव ४ अर्ब ५० करोड वर्ष पहिले सौर्य मण्डल (सूर्य, पृथ्वीसहितका ग्रह सम्मिलित) निर्माण भएको पुष्ट्याएका छन्। जसलाई सबैले बुझ्ने भाषामा ‘संसार’ का रूपमा परिचित गर्न सकिन्छ। यो संसारमा कुनै जीवको अस्तित्व पाइँदैन। सौर्यमण्डल अर्थात् संसारको निर्माणपछि क्रमशः वातावरणको निर्माण हुँदै गएको र ३ अर्ब ७० करोड वर्ष अघिदेखि जीवको अस्तित्व भेटिन थालेको भौतिकवादी दर्शनशास्त्रीहरूको भनाइ छ। जीवको अस्तित्व भेटिएसँगै ब्रह्माण्डमा विभिन्न प्राइमेटहरू भेटिन थाले। समयक्रमसँगै आजभन्दा एक करोड वर्षपहिले चारखुट्टेबाट दुईखुट्टे जनावरको विकास भयो। एकपछि अर्को जीवमा रूपान्तरण हुँदैहुँदै दुईखुट्टेमा रूपान्तरण भएको घटना सभ्यताको विकासमा अत्यन्तै ठूलो ‘टर्निङ पोइन्ट’ मानिन्छ। जसले हालको अवस्थासम्म ल्याइपुर्याउन ठूलै मद्दत पुर्याएको दर्शनशास्त्रीको मान्यता छ। चारखुट्टेबाट दुईखुट्टे जनावरका रूपमा प्राइमेट विकसित भएको ७५ लाख वर्षपछि अर्थात् आजभन्दा २५ लाख वर्ष पहिले ‘होमो हैविलेस’ का रूपमा विकसित हुँदै ३ लाख वर्ष पहिले ‘होमो सेपियन्स’ का रूपमा विकास भयो। जो हालको मान्छेको रूप हो। समयक्रमसँगै ब्रह्माण्डमा रहेका एक लाख करोड जिवास्मामाथि मानिसले कब्जा जमायो। यहीबाट मानव सभ्यताको विकास प्रारम्भ भएको मानिन्छ।
एकपछि अर्को उपलब्धि हासिल गर्दै अगाडि बढेको मानिसले आजभन्दा करिव ७० हजार वर्ष पहिलेदेखि सबैभन्दा ठूलो उपलब्धि हात पार्यो। त्यो हो–ज्ञानात्मक क्षमता। मानिसले ज्ञानात्मक क्षमता विकास गर्यो। भन्नुको तात्पर्य के हो भने मान्छेले आफूमा ज्ञानको क्षमताको विकास गर्यो। मान्छेमा सोचाइको क्षमता विकास भयो। विभिन्न समस्याबाट मुक्ति पाउन जुक्ति निकाल्न थाल्यो। आफूमा स्मरण शक्ति अर्थात् सम्झिने क्षमताको विकास गर्यो। मान्छे रोकिएन–अगाडि बढिरह्यो। मान्छेले परिवार निर्माण गर्यो। समाज बनायो। राज्य बनायो। राज्य सञ्चालनका लागि नियम–कानुन बनायो। सभ्यताको विकास गर्दै गएको मान्छेले आजभन्दा १० हजार वर्ष पहिले कृषिक्रान्ति गर्यो। खेती प्रणालीको विकास गर्यो। यही विन्दुबाट मान्छेले स्थायी बसाइको सुरूवात गर्यो। आफूलाई ब्रह्माण्डको सर्वश्रेष्ठ प्राणीका रूपमा मानिसले प्रमाणित गर्यो। कार्ल मार्क्सले मानिस र प्राणीको भिन्नता छुट्याउने महङ्खवपूर्ण आधार नै औजार निर्माणको कार्यलाई लिने गरेका छन्। खेती प्रणालीपूर्व नै मान्छेले आवश्यकताका आधारमा विभिन्न औजारहरू निर्माण प्रारम्भ गरिसकेको थियो। खेती प्रणालीको सुरूवातसँगै मान्छेका पेट भरिन थाले, अनि यहीबाट दर्शनको जन्म भएको मानिन्छ। यो विषयमा माओ त्सेतुङको भने फरक मत रहेको छ। उनले दर्शन अघाएकाहरूबाट नभई भोकाएकाहरूबाट जन्मिन्छ भनेका छन्। अघाएकाहरूसँग सङ्घर्षको भोक नजाग्ने हुँदा तृप्तिले ज्ञानको ढोका बन्द गरिदिन्छ र दर्शन विकसित हुन सक्दैन भन्ने माओ त्सेतुङको भनाइ छ। ‘दर्शन दरबार र महलहरूबाट होइन, झुपडीहरूबाट जन्मिन्छ। श्रमिक–किसान नै त्यस्तो वर्ग हो, जसले आधुनिक समाजको सिर्जना गर्दछ, त्यस क्रममा प्राप्त हुने व्यवहारिक ज्ञानको संश्लेषण नै दर्शन हो’ (माओ त्सेतुङ, २०६३ ः पृ. ४६)। मार्क्सले अघाएकाहरूको उत्पीडनका विरूद्ध भोकाहरूको सङ्घर्षलाई द्वन्द्वात्मक भौतिकवादका रूपमा व्याख्या गर्दै यहीबाट सङ्घर्षको दर्शनको जन्म भएको स्विकारेका छन्।
दर्र्शनशास्त्रको इतिहास केलाउँदै जाने हो भने आजभन्दा करिव तीन हजार वर्षअघि युनानबाट यसको प्रारम्भ भएको मानिन्छ। ‘दर्शन’ शब्दको प्रथम प्रयोगकर्ता भने गणितशास्त्री पाइथागोरस नै हुन्। आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन्, भने प्रथम प्रकृतिवादी दार्शनशास्त्री थेल्स हुन्। जो युनानी दार्शनिक हुन्। युनानी दर्शनशास्त्रीअन्तर्गत् हेराक्लिट्स, पाइथागोरस र डेमोक्रेट्सलगायतका दार्शनिकहरू पर्दछन्। यसैगरी हेगेल आध्यात्मवादमा आधारित द्वन्द्ववादी दार्शनिक हुन् भने फायरवाख अधिभूतवादी भौतिकवादी थिए। जर्मन शास्त्रीय दार्शनिक हेगेल र फायरवाखको एकलकाटे द्वन्द्ववाद र भौतिकवादलाई फ्युजन गरेर मार्क्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आविष्कार गरेका हुन्। जसलाई सर्वहारा वर्गीय दर्शन मानिन्छ ।
मानव सभ्यताको विकाससँगै उत्पादन प्रणालीले एउटा आकार ग्रहण गर्दै जाँदा मानिसमा विभिन्न जिज्ञासा पैदा हुन थालेसँगै दर्शनको जन्म भएको हो। कृषि क्रान्तिपूर्व मानिसमा भोक अत्यन्तै ठूलो समस्याका रूपमा रहेको थियो। मान्छे भोकका विरूद्ध प्रयत्न गर्दैमा समय बेतित गर्दथ्यो, यस्तो अवस्थामा उसमा संसार के हो? यो कसरी सञ्चालन हुन्छ? आकाश–धर्ती बीचको सामञ्जस्यता–भिन्नताका साथै ब्रह्माण्डका विविध खाले रहस्यबारे घोत्लिने रत्तिभर फुर्सद मानिसलाई थिएन। जब पेट भरिन थाले अनि मानिसले विभिन्न रहस्यका बारेमा चिन्तन, मनन् र विश्लेषण गर्न थाल्यो। यहीबाट दर्शनको उत्पत्ति भएको हो। ‘विश्व के हो? र यो कसरी चल्दछ? भन्ने बारेमा अध्ययन गर्ने भएकाले दर्शन भनेको मानिसको विश्व दृष्टिकोेणका साथै प्रकृति, जीवन, समाज र चिन्तनका चालक नियमहरूको विज्ञान हो। त्यसकारण मानिसले जबदेखि संसारको सृष्टि कसरी भयो? संसार कसरी चल्दछ? जीवनको सिर्जना र सञ्चालन कसरी हुन्छ? चेतना के हो? यसको निर्माण कसरी हुन्छ? भन्नेजस्ता सवालहरूमा सोच्न र तर्क गर्न थाल्यो, तबदेखि नै दर्शनको उदय भयो’ (भुसाल, २०६८ ः पृ. २१)। दर्शन स्थिर हुँदैन। जो समयको परिवर्तनसँगै बदलिरहन्छ। यो गतिशील हुन्छ। ज्ञानको दायरा बढ्दा हरेक वस्तुलाई मानिसले नयाँ तरिकाले हर्न थाल्छ, जसबाट नयाँ तथ्य प्रस्तुत हुन्छ। जो दर्शनको रूप हो।
ईसापूर्व करिव ७ सय वर्षपहिले युनानी चिन्तन पद्दतिबाट सुरू भएको दर्शन पूर्व र पश्चिममा विकसित हुँदै आएको पाइन्छ। पूर्वमा उपनिषद् कालमा दर्शनको जग बसेको पाइन्छ। ईसापूर्व सात सयदेखि ईसापूर्व एक सयको अन्तिमसम्ममा विभिन्न कवि तथा ऋषिहरूले जगत्, ब्रह्मा, आत्मा वा जीव पुनर्जन्म र मुक्तिजस्ता विषयमा सार्वजनिक गरेका चिन्तनहरू नै दर्शनका रूपमा स्थापित भएका छन्। पश्चिममा ईसापूर्व छ सय वर्षदेखि दर्शन अस्तित्वमा आएको भेटिन्छ। दर्शनको इतिहास केलाउँदै जाने हो भने करिव ३ हजार वर्षपहिले पुग्नुपर्छ। ‘इजिप्ट, दक्षिण एसिया, चीन र युनानमा विभिन्न प्रकारका दार्शनिक चिन्तनहरू देखापरेका थिए। ईसापूर्व प्रथम सहस्राब्दीमा दक्षिण एशियामा उपनिषद्दिक चिन्तन तथा साङ्ख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखापरे। चीनमा कन्फ्युसियसवाद र ताओवादी दर्शन देखापरे, भने प्राचीण युनानको उपनिषद्का रूपमा रहेका आयोनिया द्वीपमा थेल्स, अनेक्सिमेन्डर र अनेक्सिमेन्सका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखापरे’ (भुसाल, २०६८ ः पृ. २२)। दर्शन समाजका हरेक क्षेत्रमा रहने गर्दछ। यसले समाजलाई गति प्रदान गर्दछ। विभिन्न रहस्यप्रति निचोड निकाल्दछ। वर्तमान, भूत र भविष्यका विभिन्न समस्या समाधानको खोजी दर्शनले गर्दछ।
१.४. दर्शनशास्त्रको क्षेत्र र महङ्खव
मानव सभ्यताको विकासक्रमसँगै दर्शनको विकास हुँदै आएको हो। दर्शनमा दार्शनशास्त्रीहरूले आफ्नो समय र सामाजिक अवस्थाको चित्रण गर्ने गर्दछन्। मार्क्सले दर्शनमा दार्शनशास्त्रीको समयकालिक सन्दर्भ झल्किने बताएका छन्। ‘दर्शन आफ्नो समयको आत्मिक सारतङ्खव हो र त्यो संस्कृतिको सजिव आत्मा हो’ (मार्क्स र एङ्गेल्सः पृ. ३०–३१)।
दर्शनशास्त्रको क्षेत्र अत्यन्तै फराकिलो रहेको भन्दै मार्क्स र एङ्गेल्सले हरेक दर्शनमा दार्शनिकको विचार र समाजका बीचमा अन्तर्सम्बन्ध झल्किने बताएका छन्। ‘दार्शनिकहरू माटोबाट च्याउ उम्रेझैं उम्रिदैनन्, उनी आफ्नो समय र आफ्नो जनताका उपज रहन्छन्, किनभने सो समय र जनताको अत्यधिक सूक्ष्म, अमूल्य तथा अदृश्य शक्ति दार्शनिक विचारहरूमा परिचालित हुन्छ। जुन शक्तिले कामदारहरूको हातबाट रेलमार्गको निर्माण गर्छ, त्यही शक्तिले दार्शनिकहरूको दिमागमा दार्शनिक प्रणालीको निर्माण गर्दछ। दर्शन त्यसरी नै संसारबाट बाहिर रहेको हुँदैन, जसरी मानिसको मस्तिष्क उसको पेटमा नहुँदैमा ऊभन्दा बाहिर रहँदैन’ (मार्क्स र एङ्गेल्सः पृ. ३०–३१)।
मार्क्स र एङ्गेल्सको विचारमा हेगेल पनि सहमत छन्। उनले दार्शनशास्त्रीले आफ्नो युगको विचारकोे प्रतिनिधित्व गर्ने र सोहीअनुरूपको दर्शन प्रवाहित गर्ने स्विकारेका छन्। ‘जसरी प्रत्येक व्यक्तित्व आफ्नो समयको उपज रहन्छ, त्यसैगरी दर्शन पनि विचारमा मनन् गरिएको त्यसको आफ्नै युग हो। कुनै दर्शनले आफ्नो समकालीन संसारलाई नाघेर जान सक्छ भन्ठान्नु मूर्खता हुन्छ’ (इन्साइक्लोपेडियाः पृ. ६)।
दर्शनशास्त्रको कालक्रमिकतासम्बन्धि चर्चापछि यसको क्षेत्रको बारेमा जान्नु उपयुक्त हुन्छ। दर्शनको क्षेत्र फराकिलो छ। यो विश्व–दृष्टिकोण हो। विज्ञानको शाखा हुनाले दर्शनशास्त्रले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका रहस्य र नियमहरूलाई अध्ययनको विषय बनाउँछ।
प्रकृति र समाजको उपज हुनाले दर्शनशास्त्रको क्षेत्र प्रकृति र मानव समाज र यसभित्रका सबै चिन्तन र नियम नै हुन्। समाजका हरेक घटना परिघटना र सामाजिक सम्बन्ध दार्शनिक आधार हुन्। ‘दर्शन सम्पूर्ण विषयको आधारशीला हो। जहाँसम्म दर्शन र रजनीतिक सवाल छ, यी दुई विषय एकापसमा अन्तर्सम्बन्धित र अन्तरनिर्भर छन्। दर्शनले राजनीतिलाई मार्गनिर्देशन गर्दछ, भने राजनीतिले दर्शनलाई सहयोग र संरक्षण गर्दछ’ (रेग्मी, २०७८ः पृ. ५)।
जीवन र जगत्को अन्तर्सम्बन्ध, पदार्थ र चेतनाको अन्तर्सम्बन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरूको अध्ययन नै दर्शनशास्त्रको क्षेत्र हो। प्रकृति र मानव समाज एवम् चिन्तनका अभिनियमहरू, पदार्थ र चेतना बिचको अन्तर्सम्बन्धका क्षेत्रहरू र सत्य वास्तविकताको ज्ञान एवम् जीवन र जगत्को विकास वा परिवर्तनका नियमहरूको समग्र पक्ष नै दर्शनशास्त्रको क्षेत्रभित्र पर्दछन्।
दर्शनशास्त्रको अध्ययनका क्रममा किन दर्शन चाहिन्छ? यसको के महङ्खव छ? दर्शन हुँदा या नहुँदा मानव जीवनमा यसको कस्तो असर पर्छ? दर्शन विना मानिस बाँच्छ कि बाँच्दैन? यी र यस्ता सवाल आउनु स्वाभाविकै हो। यी हरेक सवालमा दर्शनशास्त्रीहरूको एउटै जवाफ छ–दर्शन विना मानिसको अस्तित्व रहँदैन। दर्शनशास्त्रीहरूका अनुसार दर्शनले मान्छेको दृष्टिकोण निर्माण गरिदिन्छ। ‘दर्शनको अध्ययनले हामीलाई के फाइदा गर्छ भन्ने विषयमा मार्क्सवादीहरू सामान्यतः दर्शनको अध्ययनमा बल दिन्छन्। त्यसो गर्नमा एउटा मुख्य कारण के भने दर्शन यस्तो चीज हो, जसले हामीलाई सैद्धान्तिक ढङ्गले कसरी सोच्ने? सैद्धान्तिक धरातलमा उभिएर परिघटनाहरूलाई कसरी हेर्ने? भन्ने कुरा सिकाउँछ। कलाले हामीलाई नयाँ–नयाँ कुराहरूको सिर्जना गर्ने क्षमता अर्थात् सिर्जन–शक्ति प्रदान गर्दछ र विचारमा खिया लाग्नबाट जोगाउँछ भने दर्शनले हामीलाई चीजहरूबारे बोध गर्ने शक्ति र युक्तिसङ्गत ढङ्गले सोच्ने सामथ्र्य प्रदान गर्छ’ (श्रेष्ठ, २०५८ः पृ. ५)।
‘दर्शनले विज्ञानका हरेक क्षेत्रमा लागू हुने प्रकृति र मानव समाज एवम् चिन्तनका आम नियमहरू तथा पदार्थ र चेतनाको अन्तर्सम्बन्धको अध्ययन गर्नुका साथै वस्तुगत जगत्को वा वास्तविकता बोध एवम् परिवर्तन गर्ने पद्दति तथा विश्व–दृष्टिकोणको निर्माण गर्ने काम गर्दछ’ (भुसाल, २०६८ः पृ. २३)।
दर्शनशाास्त्रको क्षेत्र वा विषयवस्तु सम्बन्धि दृष्टिकोण विना मानिस रहँदैन। दृष्टिकोणकै बलमा मानिसले समस्या समाधानको उपायको खोजी गर्छ। भविष्यका लागि दिशाबोध गराउँछ। प्रकृति, वातावरण, आफूसहित सिंगो जीवको अस्तित्व रक्षार्थ दृष्टिकोण निर्माण गर्दछ। विश्व–ब्रम्हाण्डको बारेमा धारणा निर्माण गर्ने मात्र नभई दर्शनशास्त्रले वर्तमान र भविष्यमा आउने समस्या र समाधानको उपाय बताउँछ। यसर्थ दर्शन चाहिदैन भन्ने कुरालाई सत्य मान्न सकिदैन। संसारलाई बुझ्ने सशक्त माध्यम भनेकै दर्शन हो। मानिसको दृष्टिकोण निर्माणका लागि दर्शनको आवश्यकता पर्दछ।
१.५. दर्शनशात्रको वर्गीकरण
बुद्धिद्वारा तङ्खव यथार्थ दर्शन गर्नु नै दर्शन हो। दार्शनिकको अर्थ ज्ञानी हो। ज्ञान व्यक्तिमा जीवन जगत्का बारेमा अत्यन्त प्रष्ट र सम्पर्क ज्ञान रहेको दर्शनशास्त्रमा ईश्वर, जीवन–जगत्, अहमता, तङ्खव, मनिस, आकाश, समुन्द्रजस्ता विषयवस्तुबारे चर्चा गरिन्छ। जसलाई तङ्खवशास्त्र भनिन्छ। बौद्धिक समस्याबारे चर्चा गर्ने शास्त्रलाई ज्ञानशास्त्र भनिन्छ। जब दर्शनशास्त्रमा जीवन र जगत्का उद्देश्य, कर्तव्य र अकर्तव्यको परिचर्चा गरिन्छ। त्यसलाई नीतिशास्त्र भनिन्छ।
१.५.१. दर्शनशास्त्रः आध्यात्मवादी र भौतिकवादी
दर्शनशास्त्रका बारेमा पूर्व र पश्चिममा विभिन्न विद्वानहरूले आफ्ना मत अगाडि सारेका छन्। यसका प्रकारका बारेमा पनि दर्शनशास्त्रीहरूका आफ्नै खालका मत रहेका छन्। भौतिकवादी दर्शनले पदार्थ एवम् अस्तित्वलाई प्राथमिक तङ्खव मान्दछ, भने आध्यात्मवादी दर्शनले चेतना एवम् चिन्तनलाई प्राथमिक तङ्खव मान्दछ। भौतिकवादी दर्शनले संसार बोधगम्य छ भन्ने ठान्दा आध्यात्मवादी दर्शनले संसार अबोधगम्य छ भन्ने ठान्दछ। भौतिकवाद मानवकेन्द्रीत दर्शन हो। यसको ठिक विपरित अध्यात्मवाद ईश्वरकेन्द्रीत दर्शन हो। दर्शनको विभाजन पूर्वीय र पाश्चात्य भनेर पनि गरिन्छ। तर, यो विभाजन दर्शनको चरित्र या अन्तर्वस्तुको विभाजन नभएर दर्शनको रचना क्षेत्र अर्थात् भूगोलको विभाजन मात्र हो। दर्शनको विभाजनको सन्दर्भमा ‘नेपालमा प्रचलित दार्शनिक चिन्तनहरू’ शीर्षकको पुस्तकमा बेदुराम भुसालले दर्शनका मूलभूत सवालहरूको प्रस्तुतिका आधारमा दर्शनशास्त्रलाई भाववादी वा प्रत्ययवादी र भौतिकवादी गरी दुई भागमा वर्गीकरण गर्न सकिने बताएका छन्।
‘मार्क्सवादी दर्शन’ शीर्षकको पुस्तकमा रामराज रेग्मीले दर्शनशास्त्रलाई प्रत्ययवाद र भौतिकवाद गरी दुई भागमा वर्गीकरण गरेर अध्ययन गर्न सकिने बताएका छन्। त्यस्तै ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ शीर्षकको पुस्तकमा दर्शनशास्त्रलाई भौतिकवाद र आध्यात्मवाद गरी दुई भागमा वर्गीकरण गरिएको छ।
त्यस्तै ‘दर्शन र दृष्टिकोण’ शीर्षकको पुस्तकमा मोदनाथ प्रश्रितले आध्यात्मवाद र भौतिकवाद दर्शन गरी दुई भागमा वर्गीकरण गरेका छन्। त्यस्तै अशोकविक्रम जिसी ‘समीर सिंह’ ले ‘साङ्ख्य दर्शन र मार्क्सवाद’ शीर्षकको पुस्तकमा दर्शनशास्त्रलाई भाववादी र भौतिकवादी भनेर दुई भागमा वर्गीकरण गरेका छन्।
यस सन्दर्भमा एङ्गेल्सले दर्शनको आधारभूत प्रश्न चिन्तन र अस्तित्वको सम्बन्ध के हो? भन्नेमा ध्यान दिनुपर्ने विचार अगाडि सारेका छन्। ‘दार्शनिकहरूले यस प्रश्नको जुन उत्तर दिए ती उत्तरहरूले उनीहरूलाई दुई शिविरमा बाँडिए। जसले प्रकृतिभन्दा चेतनालाई प्राथमिकता दिए, तिनीहरूको एउटा अलग्गै भाववादी शिविर बन्यो। जसले प्रकृतिको प्राथमिकतालाई स्वीकार गरे तिनीहरू भौतिकवादका विभिन्न पन्थहरूमा सामेल भए।
चिन्तन र अस्तित्व सम्बन्धि प्रश्नको अर्को पक्ष पनि छः त्यो हो परिवेशीय जगत्को विषय सम्बन्धि पक्ष। हाम्रा विचारहरूको त्यस जगत्सँग के सम्बन्ध छ? के हाम्रो चिन्तनमा वास्तविक जगत्को बोध गर्ने क्षमता छ? के हामी वास्तविक जगत्को विषयमा आफ्ना विचार र भावहरूद्वारा वास्तविकताको सही प्रतिबिम्व उतार्न समर्थ छौं? दार्शनिकहरूको भाषामा यस प्रश्नको चिन्तन र अस्तित्वको तादात्म्यताको प्रश्न भनिन्छ र दार्शनिकहरूको प्रबल बहुसङ्ख्यक हिस्साले यस प्रश्नको स्वीकारात्मक उत्तर दिन्छ। दार्शनिकहरूको अर्को जमात पनि छ, जसले जगत्को कुनै पनि ज्ञानको या कमसेकम साङ्गोपाङ्गो ज्ञानको सम्भावनालाई मान्दैन’ (एङ्गेल्स, १९७८ः पृ. १४५–१४६)।
दर्शनशास्त्रलाई भूगोलका आधारमा पूर्वीय र पाश्चात्य दर्शन भनेर पनि वर्गीकरण गरिएको पाइन्छ। यसरी गरिने वर्गीकरण अनुसार पूर्वमा अवस्थित भूगोलमा स्थापित दर्शनलाई पूर्वीय दर्शन भनेर नामाकारण गर्ने गरिएको छ। पूूर्वमा अवस्थित दक्षिण एसिया, जापान, चीनलगायतका क्षेत्रका दर्शनलाई एकमुष्टरूपमा पूर्वीय दर्शन र पश्चिम क्षेत्र खासगरी युरोप र प्राचीण युनानमा स्थापित दर्शनलाई पाश्चात्य दर्शन भनेर चिनाउने प्रयास गरिएको छ। उपर्युक्त आधारलाई प्रमाण मान्दै दर्शनशास्त्रका विभिन्न शाखा प्रशाखाहरू रहेको स्वीकार्न सकिन्छ। अतः दर्शनशास्त्रलाई मुख्यरूपमा आध्यात्मवादी र भौतिकवादी गरी दुई भागमा वर्गीकरण गरेर अध्ययन गरिन्छ।
१.५.१.१. आध्यात्मवाद
ईश्वरलाई सम्पूर्ण विषयको मूल तङ्खव स्वीकार्ने दर्शन आध्यात्मवादी दर्शन हो। यसले भौतिक पक्षलाई भन्दा आत्मिक पक्षलाई बढी महङ्खव दिन्छ। आध्यात्मवादले चेतनालाई प्राथमिक तङ्खव ठान्छ। वेदलाई ज्ञानको मुख्य आधार मान्ने यस दर्शनले आत्मा केन्द्रमा रहेर संसार सञ्चालित हुने तर्क राख्दछ। पदार्थ अथवा वस्तुलाई विचारको उपज ठान्ने आध्यात्मवादी दर्शनले सामाजिक परिवर्तनलाई मानिसको दिमागको क्षमताको खेल ठान्दै बुद्धि विवेकलाई जन्मजात क्षमताका रूपमा व्याख्या गर्दछ। संसारलाई अबोधगम्य वा अज्ञेय अर्थात् बुझ्न नसकिने मान्दै आध्यात्मवादी दर्शनले ईश्वर नामको एउटा सर्वशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापी शक्ति छ भनेर मान्दछ। यस दर्शनले मानव मात्र नभई हरेक वस्तु ईश्वरद्वारा सिर्जित रचना मान्दै आत्मा अमर रहेको र जीवको पूनर्जन्म भइरहने ठान्दछ। आध्यात्मवादी दर्शनको सन्दर्भमा मोहन वैद्य किरणले ‘आदर्शवाद (आध्यात्मवाद) एक यस्तो दार्शनिक सिद्धान्त हो, जसले चेतना, आत्मा, सङ्कल्प, विचार वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको कुरा स्वीकार गर्छ’ (किरण, २०७८ः पृ. ६) भनेका छन्। यस सन्दर्भमा मोदनाथ प्रश्रितले ‘आध्यात्मवादले ईश्वरको इच्छा विना संसारमा केही पनि हुँदैन भन्दछ’ (प्रश्रित, २०७१ः पृ. २८) भनेका छन्।
त्यस्तै समीर सिंहले ‘चेतनालाई प्राथमिकता ठान्ने दर्शन नै आध्यात्मवादी दर्शन हो’ (सिंह, २०७८ः पृ. २०) भनेका छन्। आध्यात्मवादको सन्दर्भमा बेदुराम भुसालले ‘जुन दर्शनले चेतनालाई पहिलो र सृष्टिको आधार तथा चेतनाको पहिलो र सृष्टिको आधार तथा पदार्थको अस्तित्व निर्धारक मान्छ र संसारलाई बुझ्न सकिदैन भन्छ, त्यस दर्शनलाई भाववादी (आध्यात्मवादी) दर्शन भनिन्छ’ (भुसाल, २०६८ः पृ. २८) भनेका छन्। रामराज शर्माले आध्यात्मवादलाई मनोगत र वस्तुगत गरी दुई भागमा वर्गीकरण गरेका छन्। उनले ‘वस्तुगत प्रत्ययवाद (आध्यात्मवाद) ले बाहिरी वस्तुको अस्तित्वलाई स्वीकार त गर्दछ, तर त्यसलाई ईश्वरको अभिव्यक्ति ठान्दछ। मनोगत प्रत्ययवाद (आध्यात्मवाद) ले भौतिक वस्तुमा विश्वास गर्दैन। यसले मानिसले बाहिरका वस्तु देख्ने कारण त्यस वस्तुको अस्तित्व मनमा भएर मात्रै हो भन्दछ’ (रेग्मी, २०७८ः पृ. २०) भनेका छन्। अतः संसारमा भौतिक पदार्थ र आत्मा कुन पहिलो हो? भन्ने सवालमा आध्यात्मवादले आत्मा पहिलो हो भन्ने बिचारको वकालत गर्दछ। त्यस बिचारले आत्मालाई भौतिक पदार्थबाट स्वतन्त्र राख्दछ। समग्रमा आध्यात्मवाद सत्यको वास्तविक ज्ञानको अभावमा सिर्जना भएको विश्वलाई हेर्ने दृष्टिकोण वा दर्शन हो।
१.५.१.२. भौतिकवाद
दार्शनिक ज्ञानको एउटा महङ्खवपूर्ण शाखा हो–भौतिकवाद। जसले वास्तविकता अन्वेषण गर्ने दावी गर्दछ। भौतिकवादी दर्शनलाई तङ्खवशास्त्रीय सिद्धान्तका रूपमा लिन सकिन्छ। जड्तङ्खव वा पदार्थलाई नै विश्व जगतको मूल आधार मान्ने दर्शनलाई भौतिकवादी भनिन्छ। यो भौतिकरूपमा देखिने, हेरिने र बुझिने जुन जगत् छ, त्यो नै वास्तविक विश्व दुनियाँ हो भन्ने विचारलाई भौतिकवाद भनिन्छ। ‘पदार्थ वा प्रकृति नै पहिलो हो, ईश्वर छैन, विचार वा परमात्माबाट जगत् बनेको होइन। यी कुराहरू बताउने सिद्धान्तलाई भौतिकवादी दर्शन भनिन्छ’ (किरण, २०६३ः १)।
पदार्थलाई पहिलो र चेतनाको समेत निर्धारक मान्दै भौतिकवादी दर्शनले संसारलाई बोधगम्य वा ज्ञेय अर्थात् बुझ्न सकिने ठान्दछ। ज्ञान व्यवहारबाट प्राप्त हुने वस्तु रहेको भन्दै भौतिकवादी दर्शनले ईश्वर काल्पनिक शक्ति भएकाले यस्तो कुनै शक्ति नरहेको प्रष्ट्याउँछ। विज्ञानमा विश्वास गर्दै भौतिकवादले आत्माको अमरता र पुनर्जन्मजस्ता विषय पूर्णरूपमा भ्रम हुन् भनेको छ। भौतिकवादीले पदार्थ अनन्त रहेको बताउँदै त्यसको सृष्टिमा कसैको हात नरहेको स्वीकारेको छ। ‘भौतिकवादी दर्शनका अनुसार मानिसको बुद्धि र विवेकले जगत्लाई बुझ्न सक्छ र भौतिक वस्तुहरूको प्रकृति तथा सारतङ्खवलाई पनि केलाउन सक्छ’ (रेग्मी, २०७८ः पृ. २४)।
भौतिकवादले चेतनालाई बाहिरी वस्तुहरूको मस्तिष्कमा हुने परावर्तन मान्दछ। चेतना र विचार जतिसुकै उच्च कोटीको भए पनि भौतिक जगत्कै उपज रहेको एङ्गेल्सको भनाइ छ। भौतिकवादकै विषयमा स्टालिनले पदार्थ विचारको उपज नभई विचार नै पदार्थको उपज रहेको जनाएका छन्। भौतिकवादी दर्शन भनेको भौतिक तङ्खवलाई सम्पूर्ण विश्व–ब्रह्माण्ड र जीव–जगत्को मूल आधार मान्ने दर्शन रहेको मोदनाथ प्रश्रितको भनाइ छ। ‘भौतिकवादी दर्शनले प्रकृति र भौैतिक तङ्खवलाई अनादि, अनन्त, अविनासी र परिवर्तनशील मान्दछ। मानिसले भौतिक प्रकृतिका रूप र नियमहरूलाई चिन्न सक्दछ र आफ्नो आवश्यकताअनुसार तिनलाई सञ्चालन गर्न सक्दछ’ (प्रश्रित, २०७१ः पृ. २८)।
भौतिकवादी दर्शन भनेको एउटै मात्र भौतिक जगत देख्ने दृष्टिकोण हो। यसले स्वर्ग वा नर्कको अस्तित्व स्वीकार्दैन। विश्व वा ब्रह्माण्डका हरेक वस्तुहरूको परिवर्तन निरन्तर भइरहेको तथ्य यसले जनाउँछ। लगभग ३ अर्ब ६० करोड वर्ष पहिले जीवनशून्य पृथ्वीमा जीवनको तल्लो वा आधारभूतरूपमा उत्पत्ति भएको जीव नै आजको मानिस हो र मानिस प्रकृतिकै भाग हो भन्ने नै भौतिकवादी दर्शनले मान्यता राख्दछ। भौतिकवादी दर्शनका बारेमा बेदुराम भुसाल भन्छन्– ‘पदार्थलाई पहिलो र सृष्टिको आधार तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने र संसारलाई बुझ्न सकिन्छ भन्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ’ (भुसाल, २०६८ः पृ. २८)।
मोहन वैद्य किरणले संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तनको जन्म हुन्छ भन्ने कुरा स्वीकार गर्ने दर्शनलाई भौतिकवादी दर्शन भनेका छन्। ‘पदार्थलाई प्राथमिक दर्जामा राखेकाले यसको नाम भौतिकवाद रहन गएको हो’ (किरण, २०७८ः पृ. ७)।
ईश्वरको अस्तित्वलाई निषेध गरी विश्व, प्रकृति, पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्दै त्यसैबाट चिन्तनको जन्म हुन्छ भन्ने तथ्य स्वीकार गर्ने दर्शनलााई भौतिकवादी दर्शन मानिन्छ। यो दर्शनले प्रकृति, वस्तु, सत्ता, विश्व–ब्रह्माण्डलाई प्रधान ठान्दछ। चार्वाक, साङ्ख्य दर्शन, हेरेक्लाइटस, डेमोक्राइटस, लाओत्से, बेकन, फायरवाख, कार्ल मार्क्स भौतिकवादी दार्शनशास्त्री हुन्।
१.६. दर्शनको वर्गीय चरित्र
दर्शन विश्व–दृष्टिकोण हो। यो जीवन र जगत्को तथा प्रकृति र मानव समाजको एवं चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने पद्दति पनि हो। जीवन र जगत्लाई बुझ्ने, दृष्टिकोण निर्माण गर्ने काम दर्शनले गर्दछ। समाज वर्गीय छ। वर्गीय समाजमा दर्शन पनि वर्गीय हुनु स्वाभाविकै हो। मानव सभ्यताको विकासका क्रममा आदिम साम्यवादको अन्त्य र दास युगको उदयसँगै समाजमा वर्गहरूको उत्पत्ति भयो। वर्गको उत्पत्ति नहुँदासम्मको अवस्थामा दर्शनमा पक्षधरता देखा परेको थिएन। पक्षधरता नहुँदा हरेक वस्तुलाई मानिसहरूको हेराइ र बुझाइ एउटै थियो। कृषि क्रान्तिपछि जब उत्पादन प्रणालीको विकास भयो, तब समाजमा वर्गका बीचमा विभेद सुरू भएको पाइन्छ। समाजमा मजदूर र मालिकहरूले आफ्नो वर्गलाई पक्षपोषण गर्नका लागि दर्शनलाई आत्मसात गर्न थालेसँगै सुरू भएको वर्गीय पक्षधरताले कालान्तरमा विश्वव्यापि मान्यता स्थापित गराएरै छाडे। समाज विकासका चरण बारेको व्याख्याका क्रममा मार्क्सले वैज्ञानिक साम्यवादी समाजमा वर्गहरूको उन्मूलन हुने बताएका छन्। उनले वर्गविहीन समाजलाई वर्गको विलोपीकरणका रूपमा अथ्र्याएका छन्। मार्क्सका अनुसार जुन समाजमा वर्गको अस्तित्व रहन्छ, त्यो समाजको दर्शनमा पक्षधरता देखिन्छ। मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा जारी गरेसँगै सर्वहारा वर्गले आफ्नो पक्षधर दर्शन प्राप्त गर्यो। मार्क्सवादी दर्शनलाई आफ्नो मुक्तिको दर्शनका रूपमा ग्रहण गरेको सर्वहारा वर्गले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यतालाई आफ्नो मुक्तिको दर्शनका रूपमा विश्व–दृष्टिकोण बनाउने काम गरे।
दर्शनशास्त्रको पक्षधरताको विषयमा माओ त्सेतुङले वर्गसङ्घर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसङ्घर्ष हुने बताएका छन्। ‘दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसङ्घर्ष चल्छ। पक्षधरताको जग वर्गसङ्घर्ष नै हो। त्यसपछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ–कसको दर्शन? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको?’ (माओ त्सेतुङ, २०६४ः पृ. ९१)।
माओ त्सेतुङको उपर्युक्त भनाइलाई आधार मान्दै स्पष्टरूपमा भन्न सकिन्छ–वर्गीय समाजमा दर्शनको चरित्र पनि वर्गीय नै हुन्छ। दर्शनको पक्षधरताको विषयमा लेनिनको धारणा फरक छ। उनी भन्छन्–‘मार्क्सको आफ्नै मार्क्सवादी दर्शन छ। मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो। मार्क्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो। मार्क्सवादी दर्शनले सर्वहारा, श्रमजीवी वर्गको पक्षधरता लिन्छ।’ लेनिन भन्नुभएको छ– ‘इन्द्रिय अनुभविक आलोचनावादको ज्ञान मीमांसिय पाण्डित्यवादका पछाडि दर्शनमा पक्षधरताको सङ्घर्षलाई, अन्तिम विश्लेषणमा आधुनिक समाजका शत्रुतापूर्ण वर्गीय अन्तर्विरोधका प्रवृत्तिहरू र विचारधाराको प्रतिबिम्वनको सङ्घर्षलाई देख्ने कुरामा विफल हुनुहुन्न। आजभोलिको दर्शन त्यत्तिकै पक्षधर छ जति दुई हजार वर्ष अगाडिको थियो’ (चट्टोपाध्याय, २००७ः पृ. ४७७)।
दर्शनको पक्षधरताको विषयमा भिक्टरले आफ्नो धारणा सार्वजनिक गरेका छन्–‘मार्क्सवादी दर्शनका प्रणेताहरूले दर्शन निष्पक्ष र वर्गोपरि हुन्छ भन्ने अवधारणाको खण्डन गर्दै वर्गीय समाजमा दर्शन पनि वर्गपक्षधर हुन्छ भन्ने स्पष्ट धारणा राखे र आफूलाई श्रमजीवी वर्गको पक्षमा उभ्याए’ (भिक्टर, १९८५ः पृ. ३२)।
दर्शनको पक्षधरताको विषयमा दर्शनशास्त्री मोरिस कर्नफोर्थले आफ्नो धारणा सार्वजनिक गरेका छन्–‘वर्गीयतालाई नअङ्गाल्ने वा वर्ग सङ्घर्षको सम्बन्धमा पक्षधर नभई निष्पक्ष रहने कुनै पनि दर्शन हुँदैन। हामीले जतिसुकै खोजे पनि निष्पक्ष, गैरवर्गीय दर्शन पाउन सक्दैनौं’ (कर्नफोर्थ, २०००ः पृ. ३)।
उपर्युक्त दार्शनशास्त्रीका भनाइलाई आधार मानेर वर्गीय समाजमा दर्शन वर्ग–दर्शन मात्रै रहन्छ भन्न सकिन्छ। दर्शन निष्पक्ष हुन्छ भन्नु निरर्थक हुन्छ। वर्गीय समाजमा अवस्थित विभिन्न दार्शनिक सिद्धान्तहरूले वर्गीय हीत र दृष्टिकोणहरूलाई स्थापित बनाउने प्रयत्न गरिरहेका हुन्छन्। कुनै खास वर्गको विश्व–दृष्टिकोणको रूपमा दर्शनले सो वर्गको आधारभूत हीतलाई सैद्धान्तिक न्यायोचितता प्रदान गर्दछ।
१.७. निष्कर्ष
यस प्रारम्भिक अध्यायमा दर्शनशास्त्रको आधारभूत जानकारी प्रदान गर्ने जमर्को गरियो र के पाइयो भने दर्शन भनेको विश्व–ब्रह्माण्डलाई हेर्ने, बुझ्ने, विश्लेषण र व्याख्या गर्ने दृष्टिकोण हो। सिङ्गो संसार र चिन्तनको विकासका चालक तथा सबै नियमहरूको विज्ञान तथा अध्ययन पद्दति हो भने, दर्शनशास्त्र भनेको मानव चेतनाका रूपहरूमध्ये एक हो। दर्शन सर्वव्यापि, सर्वत्र र सर्वोपरि छ। दर्शनशास्त्रले संसारमा आइपर्ने समस्याहरूको समाधानको मार्ग खोज्ने मात्र नभई त्यससम्बन्धि आफ्नो धारणा निर्माण गर्ने काम गर्दछ। ब्रह्माण्डको सृष्टि कसरी भयो? संसार कसरी चलिरहेको छ? पानी कसरी पर्दछ? आकाश किन निलो हुन्छ? रात र दिन किन हुन्छ? दिनमा अस्तित्वमा आउने सूर्य रातमा किन हराएर जान्छ? मान्छे किन जन्मन्छ किन मर्छ? यस्ता तमामखाले जिज्ञासमा मेटाउने काम दर्शनले गर्दछ। निष्कर्षतः आजभन्दा १० हजार वर्ष पहिले कृषिक्रान्ति भएसँगै दर्शनको जन्म भएको हो। दासयुगको प्रारम्भ भएयता समाजमा वर्गको स्थापना भएको र योसँगै दर्शनमा पक्षधरता उत्पन्न भएको हो।
दर्शनलाई आध्यात्मवादी र भौतिकवादी गरी दुई किसिममा वर्गीकरण गर्न सकिन्छ। आध्यात्मवादी दर्शनले परिवर्तनलाई नस्वीकार्दा भौतिकवादी दर्शनले अचल सत्ता र सङ्खवको सिद्धान्तलाई स्वीकार्दैन। दर्शनको अध्ययन विना वस्तु र सत्यसम्बन्धि आफ्नो दृष्टिकोण निर्माण गर्न सकिदैन। खासगरी कम्युनिष्ट कार्यकर्ताहरूका लागि दर्शनको अध्ययन अपरिहार्य छ। दर्शनको अध्ययन विना आफ्नो दृष्टिकोण निर्माण हुँदैन जसकारण प्रस्तुति फितलो हुन्छ। विश्व–ब्रह्माण्डका साथै वस्तु र सङ्खवलाई सही ढङ्गले विश्लेषण गर्ने एकमात्र वैज्ञानिक दर्शन भनेको मार्क्सवाद नै हो। यो समाजको वैज्ञानिक नेतृत्व र समाजिक प्रक्रियाको व्यवस्थापना नीति, कार्यनीति र कौशलहरूको सैद्धान्तिक र विधि विज्ञानसम्बन्धि आधार हो।