भनिन्छ, नियति मान्छेको बसमा हुँदैन। हरकोहीले नियतिकै बसमा पर्नुपर्ने हुन्छ। समयले फड्काे मारिरहन्छ। बाँचुञ्जेल समयसँगै चलायमान भइरहनुपर्ने हुन्छ। यसैमा चलिरहन्छ आउने र जाने क्रम। जसलाई आत्मसात् नगरी मान्छेलाई सुखै छैन।
त्यसैले जन्मदेखि मृत्युबीचको समयमा पेशागत कामका साथै फुर्सदको समयमा रमाइलो गर्ने हेतुले हाम्रा कैयौँ संस्कृतिका पाटाहरू तय गरिए। तिथिमिति तोकिए कैयौँ चाडपर्वहरूका। क्षणभरको लागि मात्रै भए पनि दुख बिर्संदै वर्तमानमा रमाउन सिकाउने उपायका रुपमा पर्न थाले हाम्रा सांस्कृतिक गतिविधिहरू।
यही क्रममा पर्दछ, मध्य तथा सुदूरपश्चिममा गाइने र खेलिने डेउडा गीत पनि। जो दुख र सुख दुबैको सारथी बनिदिन्छ। मन हल्का पार्ने माध्यम बनिदिन्छ। अनि बनिदिन्छ, विगत र वर्तमानलाई जोड्ने मजबुत कडी। अनि त्यतै जोडिन्छन्, त्यतै देखापर्छन् हाम्रा लोककविहरू पनि।
वर्तमानमा आफ्नो प्रतिभा देखाइरहेका लोककविहरूमध्येकी एक हुन्, मङ्गसैन-१४ अछामकी धनसरा रेग्मी। जसको प्रतिभाका बारेमा जति चर्चा गरे पनि कमै हुन्छ। उनी कुराकानीका क्रममा समेत प्रायजसो डेउडा गीत सुनाउँछिन्। डेउडा गीतकै माध्यमबाट धुरुक्क रुवाइदिन्छिन् भावुक मनलाई।
उनले अछाम छोडेको पनि लामो समय बितिसक्यो। पछिल्लो समय धनगढी कैलालीमा बसोबास गरिरहेकी धनसरा बताउँछिन्, ‘बाल्यकालका दिन, जन्मेको भूमि अनि त्यो संस्कृति बारम्बार छाल हाल्दा छन् सम्झनामी। नमाइ सम्झिन्छु भन्न लै नमिल्ले। एकपल्ट सम्झिँदा मात्रै पन नहुने। नसम्झुँ भन्दा पन नहुने। खै कसो कसो यो सम्झना पन।’
बम्बैका जहरी लालको हातै कलम स्याइ छ
याँ केछ हाडको झिट्टो सुर्ता परान त्याइ छ
थुप्रै लोककविहरूले आफ्नो पहिचान बनाएर गए। तिनले सिर्जना गरेका गीतहरू लिखित रुपमा आउन नसके पनि मन्त्रजस्ता बनेर बसिरहे कतिपयका मनमस्तिष्कमा। त्यही बाटो पहिल्याउँदै आइरहेकी छन्, धनसरा रेग्मी पनि। विद्यालयमा गई शिक्षा हासिल गर्न पाएको भए एउटा कुशल कविको रुपमा चारैतिर चर्चा बटुलिसकेकी हुन्थिन् उनले पनि। तर, त्यो अवसर पाइनन्।
११ वर्षको उमेरमै पराइघरको बाटो देखाइदिए आमाबुवाले। त्यतिबेलाको समयमा अरुको झैँ उनको पनि बालविवाह हुन गयो। उतिबेला बिहेको बारेमा केही थाहा नभएको बताउँदै उनी सम्झिन्छिन्, ‘साथीसंगीले भन्थे, आज तेरो बिहे हुने हो। तेरा बेहुला आउँदैछन्।’ मलाई त्यो भनेको के हो केही थाहा थिएन। अन्माएर पठाउँदा खुब रोएँ। त्यो पनि पराइघर जाँदैछु भन्ने चेतना भएर नभई आमाबुवाबाट छुटाएर किन कहाँ लग्दैछन् भनेर।’
लोग्नेको घर पुगेको भोलिपल्ट उनले गीत गाइन्।
म पोइल कसरी बसुँ झल्का लागन्ना र
वनभरि रमाइलो होला काफल पाकन्ना र
यसरी आफ्नो विवाह हुँदैछ भन्नेसम्म थाहा नभएकी धनसरा अवस्थाअनुसारका गीत भने सिर्जना गरिदिन्थिन्। दिदीलाई अन्माएर पठाउँदा डोली चढेर गएकी दिदीलाई हेर्दाहेर्दै गाउन थालिछन्।
झिमकुइडे बर्सिन लाग्यो काटे बाटो दर्की
मखि सम्राइ लागिजाला चाडो आउनु फर्की
मसिनो पानी परिरहेको रहेछ। डाँडामा कुहिरो दौडिन थालेछ। डोली चढेर गएकी दिदीलाई क्षणभरमै देख्न छोडेपछि फेरि गाइछन्:
राडी काम्लो ओढी लैगै पितले सुइरोले
मेरी दिदी छोपी दियो लोटने कुहिरोले
सानैदेखि गीतसिर्जना गर्न सिपालु उनको मन निकै कोमल अनि भावुक छ। दु:ख र पीडा बोकेका गीतका पंक्ति भन्दाभन्दै आँखाबाट आँसुका थोपा झारिसक्छिन्।
बाल्यकालमै गीत सिर्जना गर्नेदेखि आमा, दिदीहरूसँग खेलमा जोडिन पुग्ने धनसराको रहर देखेर उनका बुवा चिन्तित बन्थे रे। विगत सम्झिँदै सुनाउँछिन् उनी, ‘हजुरआमा पुतला खेल खेलाउनमा नाम चलेकी थिइन रे, मेरी जेठी आमा पनि रहडी थिइन रे। हजुरआमाले पनि पूरा उमेर खान पाउनुभएन। आमा पनि बैँसमै भीरबाट खसेर गइन्। अनि बुवाले दोस्राे बिहे गरेपछि हामी भाइबैनी जन्मियौँ। जो रहडी हुन्छन् उनी या त दुखी हुन्छन् या त उमेरमै धर्ती छोडिदिन्छन् भन्ने मान्यता थियो बुवाको। त्यसैले यो छोरीले रहर नगरी दिए हुन्थ्यो। कतै यो पनि हामीलाई छोडी धर्तीबाटै बिदा भैदिन्छेकी भन्ने एक प्रकारको डर थियो।’
एकदिन धनसराले घाँस काट्दै गरेकी फुपूले गीत गाएको सुनिन्। ती फुपू र त्यो गीत नै उनको प्रेरणा बन्न पुगे। उक्त गीत थियो:
पुस माघ आगो हुनु वैसाख सेल हुनु
जान्नतिक बयालो हुनु फर्किदा रेल हुनु
हिजोआज सवाल जवाफका क्रममा गीत सिर्जना गर्दा यसै गीतको मर्मलाई उदाहरणका रुपमा मनन गर्छिन्। विगतमा बाहुनकी छोरीलाई पुरुषसँग खेल्न अनुमति थिएन। त्यतिबेला महिलाहरूकै दुई समूह बन्थे। अगाडि लागेको पंक्ति केटी समूह बन्थे भने पछाडि लागेको पंक्तिका केटा समूह बन्थे। अनि केटाकेटी बनेर सवाल जवाफ सुरु हुन्थे।
छोरीबेटीको बिहेमा भने आमाछोरी वा दिदीबहिनी बनेर सवाल जवाफ हुन्थे। त्यो परिवेश निकै कठिन हुन्थ्यो, गीत सिर्जनादेखि गायन र श्रवणका हिसाबले पनि। उता श्रोता, दर्शकदीर्घामा बसेकाहरूका पनि आँखा ओभाना हुँदैन थिए। यसै प्रसंगमा उनी सुनाउँछिन्, ‘मेरो बिहेको दिन दिदीबहिनी बनेर सवाल जवाफ सुनिरहेका बुवाले आँसु थाम्न नसकी उठेर त्यहाँबाट हिँड्न खोज्दा छेउमै ढलेका हजुरबुवालाई देखेछन्। अनि हजुरबुवाको मुखमा पानी हालेर होस आयो।’
धेरै दिनसम्म खेलिने खेललाई भारी खेल भनिन्छ। विवाहको बेला पनि भारी खेल हुन्थे। पिठो कुटेको दिनदेखि चौथी कर्मको दिनसम्म लगातार डेउडा खेल चल्थ्यो। विगतमा भारी खेलमा सवाल जवाफ गर्ने गितेरु निकै नाम चलेका हुन्थे। कैयौँ गितेरुलाई परास्त गर्नुपर्ने हुन्थ्यो। अचेल विवाह नै एकदिने हुन्छ। भारी खेल कहाँबाट हुनु। यसरी पुराना चालचलन र संस्कारहरू दिनप्रतिदिन शाराशंका रुपमा देखा पर्न थालेकोमा चिन्तित छिन् उनी। उनी भन्छिन्, ‘हाम्रा कैयौँ मूल्य मान्यता र संस्कारहरूलाई जोगाउनु आवश्यक छ। संस्कृतिभित्रै छ हाम्रो जीवनको सार पनि।’
सुख-दुख भन्नु नै जीवनको सार हो। तथापि मन कहाँ मान्छ र। गीतका माध्यमबाट अरुलाई सम्झाउने उनी लामो समयसम्म निकै दुखी बनिन्। दिनहुँ आँसु झारिरहिन्। यसरी आँसु झार्नुको कारण थियो, २७ वर्षका भाइको मृत्यु।
आजभन्दा १६ वर्षअघि डेउडा गीत रेकर्डिङको फाँटमा देखापरेको एउटा नाम थियो, टेकराज खनाल। जो धनसराका भाइ थिए। ती भाइले नै उनको माइतीघर धानेका थिए। दुईचार पैसा कमाइरहेका थिए, बुढा आमाबुवाका सहारा बनेका थिए। कर्णालीमा नुहाने क्रममा डुबे भन्ने एकाएक खबर आएपछि पुलिस प्रशासनले ७ दिनसम्म खोजी गर्यो, शवसम्म पाउन सकेन।
ती दिन सम्झिँदै उनी भन्छिन्, ‘साना दुइटा भदा टुहुरा भए। बुहारी विधवा बनिन्। आमा बुवा शोकमा डुबे। छोराको शोकमा डुबेका बुवाले पनि केही वर्षपछि धर्ती छोडिदिए। त्यसपछिका दिन धनसराका लागि पहाड खसेझैँ हुन गए। एकोहोरो आँसु बर्सिरहे। सकिनन् मनलाई शान्त पार्न।
त्यतिबेला गौरी बोहराले दिएको साथ, सहयोग अविस्मरणीय रहेको सम्झिँदै उनी बताउँछिन्, ‘गौरीले सानोतिनो काम दिइन्। दुई/चार पैसा कमाइ पनि भयो। भगवानजस्तो श्रीमान पाएकी हुँदा श्रीमानले पनि साथ र सहयोग पाइ नै रहे। गीती क्षेत्रमा आउन पनि श्रीमानकै सपोर्ट हो। २०६७ पछि एकोहोरो खेलमा लागेँ। कतिसँग सवाल जवाफ गरेँ पत्तो छैन।’
२०७७ सालदेखि पुरुष खेलाडीसँग भिड्न थालेकी धनसरा एक शालिन, सभ्य, अनुशासित र स्वाभिमानी सर्जकका रुपमा चिनिन्छन्। विष्णु कुँवर, पार्वती भाट, जानकी कुँवर, गीता साउँद, लम्की कुँव, निर्मला विष्ट, बसुन्धरा साउँद, कौसी थापा, झपटी साउँद गरी दश जनाको टिम छ। खेल्न जहाँ जान्छिन्, टिमसँगै जान्छिन्।
पुरस्कार पाउँदा होस् वा पारिश्रमिक समूहमा बाँड्छिन्। उनलाई पुरस्कार र सम्मानको पनि लोभ लालच छैन। पछिल्लो समय उनीजस्ता डेउडियाहरूले पारिश्रमिक तोक्ने गरेका छन्। उनले परिश्रमिक तोक्ने गरेकी छैनन्। प्रेमपूर्वक बोलाएको ठाउँमा टिमसहित पुग्छिन्। आफ्नो प्रतिभा देखाउँछिन् र फर्किन्छिन्। दिएको लिन्छिन्, केही नदिँदा पनि गुनासो गर्दिनन्।
सवाल जवाफका बारेमा कुरा गर्दा उनी सहज ढंगले बताउँछिन्, ‘गहिरो सवाल जवाफ गर्ने खेलाडी पाएकै छैन। तथापि डेउडा हाम्रो संस्कृति हो। यसलाई माया गरी यसको जगेर्ना गर्दै संरक्षणमा लाग्नुपर्छ। आउँदो पीडिलाई पनि सिकाउनुपर्छ।’
विद्यालय जान नपाएकी उनले पछिल्लो समय छोरासँगै अक्षर चिनिन् र अहिले पुस्तक पढ्न सक्ने बनेकी छन्। गीतसंगीत भनेपछि हुरुक्क हुने धनसराको दुई वर्षअघि सवाल जवाफ हुन गयो, बाजुराका शंकर मल्ल्सँग। त्यतिबेला उनी पराजित बनिन्। जसको राज छुट्टै थियो।
उनी बताउँछिन्, ‘शंकरको अनुहार र जीउडाल देख्नेबित्तिकै दिमागले काम गर्न छोडिसकेको थियो। उसको अनुहारमा म मेरो भाइ देखिरहेकी थिएँ। सवाल जवाफका क्रममा पनि मनमा हलचल भइरह्यो, आज म भाइलाई जिताउँछु। अनि दिनुपर्ने जवाफ नदिएर अर्कैतिर मोडिदिए प्रसंग। आउँदा दिनमा पनि शंकरसँग खेल्ने मौका मिलेमा म उसैलाई जिताउने छु। ऊजस्तै देखिन्थ्यो मेरो भाइ। मैले उसलाई देख्दा मेरो बितेको भाइ फर्केर आएको आभाष हुन्छ।’
कुराकानीकै क्रममा निकै भावुक बनेर सुनाएकी थिइन् उनले:
तेरा भाडी फूल फुल्याको को टिपी लाउँदो छ
कि दुःखी राम हेर्न जाँदो कि दुःखी गाउँदो छ
(दुखी मान्छे या त वह पोख्ने हेतुले गाउन थाल्छ या मजस्ता अरु पनि कोही भेटिन्छन् कि भनेर मेला पर्वतिर वा खेलमाल चलिरहेको ठाउँमा रमिता हेर्न जान्छ)