तराईको प्रचण्ड गर्मी। मध्यान्हको समय। संसद सचिवालय रहेको पुरानो जिल्ला विकासको प्राङ्गणमा बडो चहलपहल देखिन्थ्यो। गमक्क परेका केही थान माननीयहरू, केही विभिन्न पार्टीका कट्टरपन्थी भनिनेहरू, कामको सिलसिलामा पुगेका केही मलिन मुहारहरू सबैले भरिभराउ थियो उक्त प्राङ्गण।
प्राङ्गणमा माननीय गोसाई देख्दा दुई हात जोडेर साठी डिग्रीको कोणमा जिउ झुकाइरहेका थिए एकथरि चाकरीबाजहरू। अर्काथरी वरिपरि झुम्मिएर चाकडीको मार्ग तय गरिरहेका थिए। उक्त दृश्य हेर्दै लज्जित भइरहेजस्ता देखिन्थे, रुखमा चिरबिर चिरबिर गरिरहेका पन्छीहरू।
यसैबीचमा देखापरेकी थिइन्, देउसरा पनि। ‘काँ आया हौ?’, उनलाई देख्नासाथ मैले प्रश्न गरेँ। मुसुक्क मुस्कुराउँदै उनले सुनाइन्, ‘याँ भौत मान्स देखेँ। के रैछ भनिबर हेद्द आएकी। यो त नेताको जमघट हुने ठौर रैछ धेक्या ?’
अरू केही कुरा नगरी एकाएक प्रश्न तेर्स्याइन् उनले, ‘यो लोकवार्ता भन्या के हो ?’ ‘लोकवार्ता भन्या लोकसाहित्य हो’, मैले उत्तर फर्काएँ। उनले बुझ्न सकिनन् र फेरि भनिन्, ‘बुझिन्या अरिबर भन्नान् त्यो भन्याको के हो?’
‘हामले गाउने, खेल्ने डेउडा गीत, फाग, सुगुन, पुराना दिनकी बात, रोपाइगडा गाइने गीत, चैत, धमारी, हुड्केली यी सबैलाई लोकसाहित्य भन्नाछन्। लोकवार्ता भन्नु रे लोकसाहित्य भन्नु एकै हो,’ मैले बुझाउन खोजेँ।
‘भितर बोलेको सुणिन्नाथ्यो। एकजना मैले थपेको हुँ यो लोकवार्ता भन्ने कुरा भन्नाथे। के चल्लाथ्यो भितर। आज त तमी पन बडा जोरले बोल्लाथ्या जाँ गए पन झगडा क्या गद्दा छौ,’ बिस्तारै भनिन् उनले।
‘खै क्या भनुँ जन बोलु भनेलै बोल्लु पड्डो। जहाँ नजाउँ भन्यो वइ जानु पड्ने,’ दिक्क लागेझैँ गरी सुनाएँ।
तराईको गर्मीले निकै प्रभावित भएकी देउसरा कहाँ के भइराछ भन्ने कुरा बुझ्न खोज्छिन्। इमानदारी र स्वाभिमानमा बाँचेकी उनी बरु भोकै बस्छिन्, कसैको चाकडी गर्दिनन्। अन्याय अत्याचार सहँदिनन्। एक निडर नारी हुन् उनी, जो आवाजविहीनको आवाज बोकिरहेकी हुन्छिन् र राजनीतिक विषयका कुराकानीदेखि रेडियोबाट प्रसारित समाचारप्रति निकै चासो राख्छिन्। उनीसँग जिज्ञाशु मन छ।
उनको परिभाषामा नेपालको राजनीतिमा दुई प्रकारका माननीय छन्। एकथरि छानिएर आएका, अर्का तानिएर आएका। उनको बुझाइमा ती दुबैमध्येका अधिकांश पार्टीमा भनसुन गरेर, पैसा खर्च गरेर र चाकडीको वायुमण्डल तयार पारेर देखापरेका हुन्। सदनसम्म पुगिसकेपछि तीमध्ये कसैकसैको फुर्ती सुन्न नसकिने खालको हुन्छ। तिनका कुरा सुन्दा लाग्छ- सारा काम तिनैले गरेका हुन्। फेरि पनि विकासको मुल फुटाउन लागिपरेकै छन्। आत्मश्लाघीको पगडी पहिरेर बडो दम्भका साथ हिँडिरहेका कतिपय गोसाईले लाज सरम भन्ने शब्द नै डिलिट गरिसकेका रहेछन्। मात्र आश्वासन र झुटका बुट्टेदार पछ्यौरा बोकाइरहेका हुन्छन् जनतालाई।
एक निरक्षर महिला भए पनि देउसराको विश्लेषण बडो घतलाग्दो हुन्छ। उनका कुरा सुनिरहुँ लाग्छ। त्यो दिन जन्मिदै कुपोषणका लक्षण देखापरेको एउटा संस्थाको ऐन संसोधनको विषयमा छलफल चलिरहेको थियो। एकजना गोसाईको हैकम यतिसम्मको थियो कि शब्दकोशमा रहेका केही शब्दहरूसमेत तिनकै कारणले अडेका छन्।
तिनको स्वरको आयतन यति शक्तिशाली थियो कि भित्ता फोडेर बाहिरसम्मै पुगिरहेको थियो। जहाँ तिनका सामु पर्दा माइकसमेत निरीह देखिने अवस्था थियो। सात मिनेट बोल्दा झण्डै ३५ पटक लोकवार्ता भन्ने शब्दलाई उच्चारण गर्न पुगेका तिनलाई लोकसाहित्य र लोकवार्ता भन्नु एउटै हो भन्ने थाहा थिएन वा नयाँ शब्द प्रयोग गरेँ भन्ने भ्रममा रमाएका थिए, त्यो उनैले जानुन्।
संस्कृतिका क्षेत्रमा आफूलाई ज्ञाता नै ठान्ने तिनको दम्भ देख्दा तत्काल दिक्क लागे पनि गहिरिएर मनन गर्दा निकै नै टिठलाग्दो परिवेश थियो। राणकालका गोसाईकाझैँ हैकमवादी सोच बोकेर हिँड्ने उनीहरूले बोलिरहेको बेला बुझ्दै नबुझी त्यो हुन्न भनेर थर्काउन खोज्थे। कसैले बेलिरहँदा वक्तालाई बीचमै रोकेर पुरातत्त्व भन्ने शब्द राख्नुपर्ने, जुन आफूले थपिसकेको र पर्यटन शब्द वाङ्मयभित्र नपर्ने हुँदा ऐनमा राख्न नमिल्ने भनी बडो दावाका साथ भन्न थाले। त्यतिबेला लाग्थ्यो उनीभित्र हैकम, दम्भ र आत्मश्लाघा बाहेक केही छैन। नाम सुनेकै भरमा तिनको प्रशंसक बन्दै आएको म बबुरो कार्यक्रम अवधिभर सोचमग्न बनिरहेँ।
कुनैबेला देउसराले भनेका कुरा सम्झनामा आउन थाले, ‘औरकाइ कुरामी विश्वास अरिहाल्लु नै रैछ। कैलकाइ आफूले भित्रैदेखि सम्मान गरेका मान्ससित भिट हुँदा, तिनका कुरा सुन्दा दिकदार बन्नु पड्डे पनि हुनेरैछ। त्यस्तै भएको थियो मलाई त्यो दिन। थुप्रै कुरा बोल्न खोज्दा पनि थोरै मात्र बोलेको पल थियो।’
विश्व सम्पदा सूचीमा परेका सबै पुरातात्विक सम्पदाहरू पर्यटनका हब बन्दछन्। हाम्रा तिनै पर्यटकीय गन्तव्यहरूले नै बोकिरहेका हुन्छन्, हाम्रो सभ्यता, संस्कृति, इतिहास, भाषा, साहित्य आदि। पुरातत्त्व र पर्यटन शब्द एकअर्काका परिपुरक नै बनिरहेका हुन्छन्। तर गोसाईको शब्दकोशमा पुरातत्त्व मात्र पर्दछ। पर्यटन भन्ने शब्द नै हुँदैन। हाम्रा तमाम लेखकहरूले हिमाल लेखे। पहाड लेखे। नदीनाला, देवल, मठमन्दिर, गुम्बा जस्ता थुप्रै विषय लेखे र लेखिरहेका छन्। हाम्रा तिनै पर्यटकीय गन्तव्यहरूले प्रतिनिधित्व पनि त गरिरहेका हुन्छन् जिन्दगीको, अस्तित्वको अनि सभ्यता र इतिहासको। अहंकार छैन तिनमा। हाम्रा केन्द्रदेखि स्थानीय तहसम्मका सरकारजस्ता अहङ्कारी, भ्रष्ट छैनन् तिनीहरू। संवेदनशील, भावुक मनभित्र अनेकौँ अभिव्यक्ति पैदा गराइदिन्छन् ती सबैले।
जुन वाङ्मयभित्र अटाइरहेका छन्। गोसाईले यी याववत कुराहरू देखेनन् वा बुझेनन्। या त जान्न नै चाहेनन्। कार्यक्रम अवधिभर मात्र आफू ठुलो मान्छे भएको र जम्मै कुराको ज्ञाता भएको भ्रम छरिरहे। अरूले बोल्ने बेला हस्तक्षेप नै गरिरहे। बेलाबखत विभिन्न कामको सिलसिलामा तिनको दैलोसम्म पुग्नुपर्ने हुन्छ भन्ने हेतुले होला कतिपय मुहार मौन प्राय बनिरहे।
हाम्रा कयौँ गोसाईहरू भ्रमको खेती गर्नमा सिपालु देखिन्छन्। आत्मश्लाघाको ताज पहिरन अभ्यस्त भइरहन्छन्। बाहिर लोकतन्त्रका कुरा गरेर थाक्दैनन् तर भित्र तानाशाहा प्रवृति र हैकमवादी सोच बोकिरहेकै हुन्छन्। ‘हग्नेलाई नभएर देख्नेलाई लाज’ भनेझैँ भइरहेको छ अचेल।
करोड रकम विनियोजित गरिएको एक कुपोषित संस्था जो जन्मैदेखि रोगी छ। त्यो कुराको हेक्का कसैलाई छैन। ‘दुलहा मरोस्, दुलही मरोस् बाहुनलाई दक्षिणाको काम’ भनेझैँ कतै पद र पैसाको लालचमा संस्थालाई बिरामी बनाउनेहरूका नाम सुनिए। कतै बाजी मार्न तछाडमछाड गरिरहेका गोसाईहरू देखिए।
भण्डारमा एक प्रकारको रजगज चलिरह्यो। भोज भतेर भइरहे। त्यसको कर्मकाण्डीय हिसाबले नामाकरण गरियो अनि बल्ल उपचारको कुरा आयो। रोग पत्ता नलाग्दै, औषधि मुलो नगर्दै कतिपय चर्का आवाजहरू सुनिन थाले, ‘कसैलाई थाहै थिएन, मैले गर्दा रोगी छ भन्ने कुराको जानकारी पाएका हुन् सबैले।’
एकथरी नाम र आशनका भोका छन्। अर्काथरि दुबैतिर ठिक्क परेर गुजारा चलाइरहेका टिठलाग्दा अनुहारहरू छन्। गोसाईहरू हैकम जमाइरहेका छन्। हेरिनसक्नु जात्रा चलिरहेको छ अचेल सुदूरपश्चिममा। केटाकेटीले सानोमा ढुङ्गा-माटो बटुलेर घरकुडी बनाई खेल खेलेझैँ संस्थाको रकमलाई घरकुडीको साम्रग्रीझैँ मनलाग्दी हिसाबले यत्रतत्र छर्ने काम भइरहेकै छ।
अचेल मान्छेले लाज सरम पचाएको देखेर प्रकृति नै लजाइरहेकी छन्। देउसराहरू चिन्तित बनेर गराको डिलमा बसी गीत गुनगुनाइरहेका छन्:
वैशाख लागनु अघि चैत सकिन्या हो
कलीका कुकर्मी चाला के के देखिन्या हो
पञ्चायत ढाली, राजा फाली, गणतन्त्र आयो
यै देस दन्कलो चल्यो जनताले के पायो
स्थानीयका खल्ती छनाइ पर्देशका मुख छनाइ
गुना (लङ्गुर) बानर रुख गए चढ्नाखि रुख छनाई