आफ्नो गतिमा निरन्तर दौडिरहने समयसँगै सक्रियता बढाइरहेकै छन् रम्यता लिम्बुका सोच र संघर्षका पाइलाहरू। ताप्लेजुङबाट बसाइँसराइ गरेर बुवा लालवीर लिम्बु वर्षौँअघि काठमाडौँ चुनदेवीमा बसोबास गर्न थाले। होस्टेलमा बसेर विद्यालय शिक्षा ग्रहण गरेकी रम्यताका बुवा ब्रिटिस आर्मी थिए। लामो बिदा हुँदा आमाबुवासँग भेट हुने गरेको सम्झिँदै उनी बताउँछिन्, ‘त्योबेलाको जीवन सामान्य थियो। धेरै सोच्नु पर्दैन थियो। आमाबुवाले जे पढ, जे गर भन्यो त्यही गर्नु पर्थ्याे।’
उनले ग्राजुएशन सक्नेताका सुरु भएको थियो कान्तिपुर पब्लिकेशन। एकदिन पत्रिकामा जागिरका लागि विज्ञापन खुलेको देखिन्। जागिर खाने सोचले आवेदन दिएकी उनले छनौट भएपश्चात ‘दि काठमाडौँ पोस्ट’बाट सुरु गरिन् पत्रकारिताको यात्रा। तत्पश्चात तीन/चार वटा पत्रिकामा काम गरिन्। अन्तर्राष्ट्रियस्तरका पत्रिकामा समेत लेख्न थालिन्। पत्रकारिता सँगसँगै रोजिन् डकुमेन्ट्रीको गोरेटो पनि।
खोज पत्रकारिताका साथै डकुमेन्ट्रीमार्फत् महिला, दलित र आवाजविहीनका मुद्दा उठाउँदै आएकी उनी भन्छिन्, ‘नसुनिएका आवाजमा एक किसिमले समाजको रिफ्लेक्सन झल्केको पाइन्छ।’
सन् २००७ मा शेर्पा समुदायका पाँच जना महिलाहरूले सगरमाथा हिमाल चढ्ने तयारी गरे। भिडियोमार्फत् उनीहरूको आँट र साहसको कथा सबैमाझ पस्किने हेतुले रम्यता र उनकी साथीले आरोहीलाई पछ्याउँदै क्यामेरामा उनीहरूका गतिविधि कैद गरिरहे। ती पाँच जनामध्ये १ जना सफल भइन्। उनी थिइन्, लाक्पा शेर्पा। जसले हालसम्म दशाैँपटक सफलताका साथ सगरमाथा आरोहण गरिसकेकी छन्। ती महिलाको कथामा आधारित डकुमेन्ट्री ‘डटर अफ एभरेस्ट’ ले निकै चर्चा कमायो। पुरुष मात्र हैनन्, महिलाहरू पनि हिमाल चढ्न सक्छन् भन्ने सन्देश बोकेको थियो उक्त डकुमेन्ट्री।
द्वन्द्वकालमा एक जना अमेरिकी फिल्म मेकरसँग मिलेर ‘सारी सोल्जर’ नामक डकुमेन्ट्री तयार पारिन्। जुन विभिन्न क्षेत्रका ६ जना महिलाहरूको कथामा आधारित छ। रम्यताका अनुसार जुन एक प्रकारको राजनैतिक डकुमेन्ट्री पनि थियो। त्योबेला डकुमेन्ट्रीमा सेना, पुलिस, राजनीतिकर्मीलगायत दुल्लुका माओवादी प्रतिकार गर्ने समूहसम्मलाई समेट्नु आफैँमा चुनौतीपूर्ण कार्य थियो। त्यसमा पनि उनी सफल भइन्।
सन् २०१५ मा एकजना अमेरिकनसँग मिलेर ‘ड्रइङ दि टाइगर’ नामक डकुमेन्ट्री तयार पारिन्। जहाँ एक जना दलित परिवारकी छात्राले छात्रवृत्ति पाएर काठमाडौँ पढ्न आएकोदेखि उनको घरपरिवारको कथा समेटिएको छ। जसलाई उनी फिचर डकुमेन्ट्रीका रुपमा लिन्छिन्।
निर्देशक, सह-निर्देशक, निर्माता बनेर थुप्रै डकुमेन्ट्री निर्माण गरिसकेकी लिम्बु माउन्टेन फिल्म फेस्टिभलकी डाइरेक्टर हुन्। यस विषयमा उनी भन्छिन्, ‘सन् २००० मा केही पत्रकार साथीहरू मिलेर फिल्म फेस्टिभल सुरु गरौँ न त भनेर सुरु गरिएको हो। जहाँ विदेशी फिल्म बढी आउन थाले। सन् २००७ मा विशेष गरी युवा पुस्ताका फिल्म निर्मातालाई प्रोत्साहन गर्ने हेतुले नेपालमा प्यानारोमा सेक्सन पनि सुरु गर्यौँ। जहाँ नेपाली फिल्मको उन्नतिका लागि नेपाली मौलिकतालाई प्लेटफम दिइन्छ। फिल्म फेस्टिभलले फोकस गर्ने भनेकै वृत्तचित्रलाई हो। जहाँ फिक्सन र ननफिक्सन दुइटै देखाइन्छ।’
खोज पत्रकारिताका साथै डकुमेन्ट्रीमार्फत् महिला, दलित र आवाजविहीनका मुद्दा उठाउँदै आएकी उनी भन्छिन्, ‘नसुनिएका आवाजमा एक किसिमले समाजको रिफ्लेक्सन झल्केको पाइन्छ।’ यसरी आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले जिन्दगीको लामो समय पत्रकारिता र डकुमेन्ट्री निर्माणमै व्यतित गरिन्। साहसी पत्रकारका रूपमा परिचित उनी पछिल्लो समय फ्रिलेन्सर रिपोर्टरका रुपमा अलजजिरा इङ्लिस टेलिभिजनमा समेत संलग्न छिन्।
उनका श्रीमान ट्रिपल पि गुरुङ पाइलट हुन्। एक दशकभन्दा बढी समय आकाशमा यात्रा गरिसकेका उनी अहिले त्यो पेशा छोडेर पर्यटन क्षेत्रमा काम गरिरहेका छन्। मुस्ताङमा होटेल व्यवसायी बनेका क्याप्टेन ट्रिपल र उनको रुचि मात्रै मिल्दोजुल्दो छैन, दुवैको जिन्दगीको लय पनि राम्ररी मिलिरहेको छ।
एक कुशल सञ्चारकर्मी, अनि सफल फिल्म मेकर लिम्बु विशेष गरी हाइ अल्टिच्युटको रेन्जमा यात्रा गर्न रुचाउँछिन्। यसरी यात्रा गर्ने क्रममा कुनै चेकलिष्ट बोक्दिनन्। आकर्षक गन्तव्यसँगै दूरदराजका गाउँबस्तीहरू आफ्नो रोजाइमा पर्ने बताउने लिम्बुलाई यात्राको मुख्य आकर्षक नै लोकल परिकार, भेषभूषा र संस्कृति लाग्छन्। काम विशेषले विश्वका एक दर्जन देशमा यात्रा गरिसकेकी उनले नेपालमा घुम्न बाँकी रहेको जिल्ला हो संखुवासभा।
दुई सन्तानकी आमा लिम्बु प्राय: राति र छुट्टीको समयमा पढ्न मन पराउँछिन्। विद्यालय जीवनमा अँग्रेजी क्लासिकल पढेको कुरा सम्झिँदै सुनाउँछिन्, ‘सानोमा बुवाले पुस्तकालयमा लगेर छोडिदिने, पुस्तक पसलमा लगेर पुस्तक किनिदिने गर्नुहुन्थ्यो। सायद त्यही भएर पुस्तक पढ्ने लत बसेको हुनुपर्छ।’ समयको दौरानसँगै पत्रकारिता क्षेत्रलाई सघाउपुर्याउने हेतुले उनले ननफिक्सन, डिडेक्टिभ राइटिङ बढी पढ्न रुचाइन्।
पछिल्लो समय पढाइमा थोरै मात्रामा सोसल मिडिया बाधक बनेको बताउने लिम्बु कला-संस्कृति क्षेत्रकी अध्येयता पनि हुन्। कुशल प्रशिक्षक, फिल्म निर्देशक, क्षमता अभिवृद्धिसमबन्धी तालिम दिनुका साथै पत्रकारलाई फेलोसिप दिने काम पनि गरिरहेकी छन्। नेपाली र अँग्रेजी भाषामा लेखिएका सयौँ पुस्तक पढिसकेकी लिम्बुको जीवनमा प्रभाव पारेका प्रिय पाँच पुस्तक उनकै शब्दमा :
१. Maxmum City : Bombay lost and found (म्याक्सिमम सिटी बम्बे लस्ट एण्ड फाउन्ड): सुकेटु मेहेता (suketu Mehta) द्वारा लिखित यो पुस्तक धेरै अघि पढेको हुँ। धेरै ग्याप नराखी एकदुई दिनमै पढेर सकेको हुँ। ननफिक्सन भएर पनि पढ्दा फिक्सन जस्तै लाग्ने। लेखनका क्रममा न्यारेटिभ स्टाइल जसरी पेश गरिएको छ, त्यो भिजुअलाइजेसन गज्जबको छ।
मैले पढेका पुस्तकमध्येमा ननफिक्सन राइटिङको एउटा सुन्दर उदाहरण जस्तो लाग्छ यो पुस्तक। पुस्तकभित्र बम्बैको अण्डरवल्डलगायत धेरै कुराहरू छन्। हिन्दी फिल्ममा देखिने पात्रहरूजस्ता लाग्ने ती पात्रहरूलाई यसले क्यारेक्टराइजेसन र ह्युमनाइज गरिदिएको छ।
२. Tiger For Breakfast (टाइगर फर ब्रेकफास्ट): यो पुस्तक फ्रेन्च लेखक माइकल पेसल (Michel Peissel) ले लेखेका हुन्। मैले यसलाई करिब एक दशक अगाडि नै पढेको हुँ। यसको नेपाली अनुवाद पनि छ जस्तो लाग्छ। पेसलले नेपालका बारेमा दुई तीन वटा पुस्तक लेखेका छन्।
रुसमा रेभुलोसन हुँदा रुसी नागरिक वरिश लिसानो त्यहाँबाट भागेर विभिन्न ठाउँ हुँदै नेपाल आइपुगेर नेपालमा पहिलो रोयल होटेल खोल्न पुगे। यस अर्थमा यो पुस्तक नेपालमा पहिलो रोयल होटेल खोल्ने रसियनको व्यक्तिगत कथा हो। तर, त्यति मात्र नभएर पुस्तकमा नेपालको पर्यटन पनि झल्किन्छ।
पर्यटनका हिसाबले त्यो बेला नेपालमा कसरी होटेल खुल्यो। त्यो समयमा यहाँको जनजीवन कस्तो खालको थियो भन्ने कुराको विस्तृत वर्णन गरिएको छ। त्यो बेलाको टुरिजम ट्रेक कसरी सुरु भयो। कस्तो थियो। कसले सुरु गर्याे जस्ता कुराहरू समावेश गरिएका छन्। सरल र लालित्यपूर्ण भाषाशैलीका कारण पनि लेखक पाठकको मन छुन सफल भएका देखिन्छन्। पर्यटन क्षेत्रमा काम गर्ने अथवा त्यो क्षेत्रमा रुचि भएकाहरूले यो पुस्तक पढ्न जरुरी छ।
३. The Vegetarian (दि भेजिटेरियन): हान काङ ( Han Kang)द्वारा लिखित यो पुस्तक कोरियन भाषामा लेखिएको छ। मैले हालसालै यसको अँग्रेजी अनुवाद पढेको हुँ। जहाँ मानसिक मनोविज्ञानलाई सुन्दर ढंगले दर्शाइएको छ। लेखकले सामान्य दम्पतीको दैनिकिका बारेमा कथानक बुनेका छन्। जुन पब्लिकले देख्ने भन्दा फरक छ। यो पुस्तकले सन् २०१६ मा म्यान विकर अवार्ड पाएको थियो।
श्रीमतीले शाकाहारी हुने निर्णय लिएपछि उक्त दम्पतीबीच र उनीहरू थ्रोबाट एक्सटेन्डेट परिवारमा हुने अनौठो र डरलाग्दो मनोवैज्ञानिक कथा छ। जसभित्र अहिलेको के पप कल्चरभन्दा एक किसिमले निकै नै भिन्न तस्बिर पाइन्छ।
४. Difficult Conversations (डिफिकल्ट कन्भरसेसन): डगलस स्टोन (Douglas Stone) ब्रुस प्याटन (Bruce Patton) र सेइला हिन (Sheila Heen)द्वारा लेखिएको यो पुस्तक एक दशकअघि नै पढेको हुँ। यसमा कसरी छलफल गर्ने र कुन विषयवस्तु महत्वपूर्ण छ भन्ने कुरा दर्शाइएको छ। बेलाबखत अहिले पनि हेरिराखेको हुन्छु। जुन पेशागत हिसाबले मैले निकै उपयोगी पाएँ। यसले थुप्रै गाइडलाइन दिएको छ।
सूचना आदानप्रदान धेरै नै महत्वपूर्ण कुरा हो। कतै कुनै प्रकारको द्वन्द्व हुन गयो (जस्तै: आमा-छोराबीच, बूढाबूढीबीच, कार्यस्थलमा मालिक र कामदारबीच आदि) भने दैनिक कम्युनिकेशनलाई कसरी सहज बनाउने, कसरी सुधार गर्ने भन्ने कुरा उल्लेख गरिएको छ। यसले हामीले आफ्नो सम्बन्धलाई कसरी सहज बनाउन सक्छौँ, आफ्नो पेशामा कसरी सफल हुन सक्छौँ भन्ने कुरा सिकाउँछ।
५. Range (रेन्ज): यो पुस्तक हालसालै पढेको हुँ। जुन पत्रकार David Epstain (डेभिड एप्स्टाइन)द्वारा लेखिएको हो। यो पनि पेशाको हिसाबले मेरा लागि उपयोगी पुस्तक हो। हामी हाम्रो पेशागत हिसाबले पनि कुनै विषयमा स्पेसलाइज गर्नु जरुरी छ भन्छौँ। तर, यहाँ लेखकले मूलतः आफ्नो फिल्डमा राम्रो गर्न स्पेसलाइज नभएर जेनरलाइज गर्नुपर्छ जेनरलिस्ट भएर काम गर्नु पर्छ भन्ने तर्क अघि सारेका छन्।
यहाँ टप लेवलका खेलाडी र कलाकारहरूले कसरी आफ्नो करियर बनाए भन्ने कुरा तथ्यपरक रुपमा हेरिएको छ। र, सबै कुराको अनुभव र बुझाइ लिनुपर्छ भनिएको छ। जसले गर्दा नै पेशागत रुपमा सघाउ पुर्याउँछ भन्ने तर्क गरिएको छ। जहाँ उनले सही र गलत भन्दा पनि हामीलाई पेशागत र अभिभावकीय हिसाबले पनि सोच्नुपर्ने ठाउँ देखाइ दिएका छन्।