ह्विलचेयरमै दौडिरहेकाे एक कृषिविज्ञकाे जिन्दगी, खेतबारीका कान्लादेखि मदन पुरस्कारसम्म

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

दिनभरि ह्विलचेयरमा बसेर सिरानीमा रहेका पुस्तक पढ्छन्। मुड चल्दा लेखनमा तल्लीन हुन्छन्। अनि राति बिछ्यौनामा पल्टिएर निद्रा नपरुन्जेल मनमा लेखनका विषयवस्तु खेलाइरहन्छन्। यसैगरी चलिरहेछ कृषिविज्ञ नरबहादुर साउँदको दैनिकी।

बैतडीको बण्डा गाउँमा जन्मेका साउँदको सानैदेखिको चाहना थियो डाक्टर बन्ने। २०३६ सालमा पञ्चदेव महानन्द माध्यमिक विद्यालय बैतडीबाट एस.एल.सी दिएका उनको डाक्टर बन्ने चाहनामा त्यतिबेला पूर्णविराम लाग्यो, जतिबेला द्वितीय श्रेणीमा उत्तीर्ण भएको खबर पाए। त्यसै वर्ष घर-परिवारले उनको बिहे पनि गरिदिए। बुबा धनबहादुरले घ्यू, मह, अन्न, खसी-बोका बेचेर जम्मा गरेको पैसा दिई उनलाई उच्च शिक्षा अध्ययनार्थ काठमाडौं पठाए। जहाँ कृषि विषय अध्ययनार्थ सरकारी कोटामा नाम निकाल्न सफल भए। २०३८ सालमा आइ.एस्सी.एजी उत्तीर्ण गरेका उनले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामै हिमाञ्चल प्रदेश भारतबाट २०४४ सालमा बी.एस्सी.एजी. उत्तीर्ण गरे। त्यसै वर्ष नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा च्याउ उत्पादन अधिकृतमा नाम निकाल्न सफल भए। दोस्रो वर्ष प्राविधिक अधिकृतका रुपमा दुग्ध विकास संस्थान बालाजुमा खटिए।

२०४७ सालमा बुटवल सरुवा भई तालिम सञ्चालनार्थ सुर्खेत जाने क्रममा मादकपदार्थ सेवन गरी गाडी गुडाइरहेका चालकले दुर्घटना निम्त्याए। साउँद बाँच्न त सफल भए तर स्पाइनलकर्ड भाँचियो। जति उपचार गर्दा नि केही सीप चलेन। नाइटो मुनिको भाग नचल्ने भएपछि ह्विलचियर जीवनको सहारा बन्न पुग्यो। कर्मक्षेत्रमा इमान्दारीतापूर्वक सक्रिएरहेको स्वभिमानी मनले मानेन काम नै नगरी तलब खान। राजीनामा गरिदिए जागिर पनि।

दुर्घटनामा परेपछि साथ छोडेर माइत गएकी श्रीमती आजका दिनसम्म फर्केकी छैनन्। अपाङ्ग भएपछि आँसु चुहाएरहेको मनलाई शान्त पार्दै उनले निर्णय गरे, ‘यो देशमा किसानलाई टेक्नोलोजी थाहा छैन। उत्पादनमा कमी आइरहेको छ। यससम्बन्धी पुस्तक लेख्नुपर्छ।’ 

भाइ मदनसिंले पुस्तक लेख्नलाई सन्दर्भ सामग्रीहरू जुटाइदिन्थे। उनी पुस्तक लेख्न तल्लीन हुन्थे। २०६४ सालमा एकदिन भाइले पनि धर्ती त्यागे। परिवारमा झन पीडा थुपारियो। तथापि, बा-आमासामु आफूलाई दरिलो बनाउन थाले। चार वर्षसम्म प्यारालाइसिसले थलापरेकी आमाले पनि क्षितिजपारिको यात्रा गरिसकिन्। अचेल घरमा उनीसँग वृद्ध बुबा र बहिनी छन्।

उनले ६ वर्ष लगाएर तयार पारे ९४० पृष्ठको पुस्तक। साझा प्रकाशनबाट प्रकाशित ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक उक्त पुस्तकभित्र अन्नबाली, दालबाली, तेलबाली, कपास बाली, रेसादार बाली र प्राङ्गारिक खेतीका बारेमा उल्लेख गरिएको छ। जहाँ माटो कसरी मलिलो बनाउने उपायदेखि वातावरण स्वच्छ राख्ने र कसरी बढी उत्पादन गरी लाभ लिन सकिन्छ भन्ने कुरासमेत उल्लेख गरिएको छ। जुन पुस्तक २०६६ सालको मदन पुरस्कार पाउन सफल भयो। कृषिसम्बन्धी लेखिएका पुस्तकहरूमध्ये आजका दिनसम्म मदन पुरस्कार प्राप्त गर्ने सूचीमा मात्र उनको पुस्तकको नाम देखिन्छ। जुन सात खण्डमा बाँडिएको छ।

पुरस्कार पाएपछि साउँदको चारैतिर चर्चा हुन थाल्यो। अपाङ्गलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन आउन थाल्यो। सबैले सम्मानको दृष्टिले हेर्न थाले। कृषिविज्ञका रुपमा चिनिएका साउँद हिजो-आज अध्ययन र लेखन कार्यमा सक्रिय छन्। कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लेखिएको संगम पब्लिकेशनबाट प्रकाशित ‘खेतीपाती’ नामक पुस्तक कतिपय विद्यालयमा पठनपाठन भइरहेको छ। प

छिल्लोपल्ट जङ्गली, विषालु र खेती गर्न मिल्ने च्याउबारे लेखिएको ७२५ पेजको ‘च्याउ खेती’ नामक पुस्तक पनि प्रकाशित भयो। फुर्सदको बेला गीता उपनिषदजस्ता पौराणिक ग्रन्थको अध्ययन गर्न रुचाउने उनी हिजो-आज साहित्य लेखनमा समेत सक्रिय छन्। संस्कृत भाषाप्रति छुट्टै लगाव भएका उनले शारदा विद्यापिठ कञ्चनपुरबाट एक वर्षको प्राग्शास्त्री कोर्ष पूरा गरे। साउँद बताउँछन्, ‘भेटिएका पुस्तक पढ्न छोड्दिनँ। उपनिषद् सबै पढिसकेपछि संस्कृत पढ्ने चाहना झनै बढ्न थाल्यो। अनि हालसालै तीनवर्षे शास्त्री कोर्ष पनि पूरा गरेँ। प्राविधिक शब्द निर्माण गर्नका लागि संस्कृत भाषा निकै नै सहयोगी बनेको छ।’

पछिल्लो समय साहित्यिक, आध्यात्मिक र दर्शनका पुस्तकको अध्ययन गरिरहेका साउँदले जीवनमा थुप्रै पुस्तक पढे। तीमध्ये उनको जीवनमा प्रभाव पारेका केही प्रिय पुस्तकहरु उनकै शब्दमा:

श्रीमद्भगवत् गीता

२०५८ सालमा पहिलो चोटी पढेको हुँ। धेरैपल्ट पढेपछि मात्र बुझेँ। ६ वर्षअघि पुन: पढेँ। गीतालाई उपनिषद्को सार मानिन्छ। युद्धारम्भ हुँदा पार्थको संशय हटाउन कृष्ण भगवानले गीतोपदेश गरेका थिए। एकजना अमेरिकनले गीता अध्ययन पश्चात भनेका थिए रे, ‘कृष्ण गोठालो भएर पनि यस्तो दर्शन दिँदोरहेछ। त्यहाँका अरु मान्छे कस्ता होलान्।’ पूर्वीय दर्शन र साहित्यका पुस्तकहरूले जीवन र जगतलाई समेटेको पाइन्छ। भक्तियोग, कर्मयोग, आहारविहारलगायतका कुराहरू छन्।

काम, क्रोध, लोभ, मोहजस्ता आसक्ति हटाएर वायुझैँ चञ्चल भइरहने मनलाई नियन्त्रणमा राख्नुपर्ने कुरा व्यक्त गरिएको गीतामा सबै कुराको जवाफ पाइन्छ। कर्म गर्न र फलको आश नगर्नजस्ता कयौं घतलाग्दा र जीवनोपयोगी कुरा बताइएको गीतामा चिन्तामुक्त गरिदिने दर्शन छ। सदाचारको मार्ग पहिल्याउन सिकाउने यो पुस्तक मान्छेलाई उचित मार्गदर्शन गराउने महत्वपूर्ण र उपयोगी कृति हो।

योगीको आत्मकथा:

बीसौं सताब्दीका आध्यात्मिक गुरू, सन्त परंहश योगानन्द (१८९३–१९५२)को आध्यात्मिक साधना यात्राका बारेमा लेखिएको पुस्तक हो। जुन २०६० सालतिर पढेको हुँ। जहाँ लोभलालच नगर्न सन्देश दिनुका साथै बाल्यकाल, पश्चिमी मुलुकको भ्रमण र विभिन्न योगीहरूसँगको सानिध्यताका बारेमा उल्लेख गरिएको छ।

उनमा बाल्यकालमा पूर्वजन्मको स्मृति भएको कुरा उल्लेख गरिएको छ। ११ वर्षको छँदा आमा गुमाएका उनी सिकिस्त बिरामी हुँदा लाहडी बाबाले बचाएको साथै उनका मातापिता योगी लाहडीका भक्त भएको कुरा उल्लेख गरिएको छ। अंग्रेजी भाषामा दख्खल भएका, स्नातक उत्तीर्ण उनले विवेकानन्दले जस्तै पश्चिमी देशमा क्रियायोगबारे प्रचारप्रसार गरे। क्रियायोग नै ईश्वरसँग साक्षात्कार गर्ने प्रभाकारी विधि ठाने। पुस्तकमा महावतार बाबा, गन्धबाबा, दुई शरीर धारण गर्न सक्ने प्रणवानन्दलगायत थुप्रै अध्यात्मिक हस्तीहरूका बारेमा पनि लेखिएको छ। उनी क्राइष्ट आदिमा पनि कृष्ण देख्थे। उनले योगसाधनालाई विचारको जुधाइबाट उत्पन्न हुने हलचल शान्त गर्ने तरिका मानेका छन्।

कादम्बरी

सातौँ शताब्दीमा वाणभट्टद्वारा रचित कादम्बरी कल्पित तर कथा भएको गद्यकाव्य हो। जुन संसारकै पहिलो उपन्यास मानिन्छ। यसका कथामुखम्, कादम्बरी पूर्वार्द्ध र कादम्बरी उत्तरार्द्ध गरी तीन भाग छन्। उनले आफ्नो जीवनकालमा यसलाई पूर्णता दिन नसकेपछि उनको मृत्युपश्चात यसको उत्तरार्द्ध उनका पुत्र भूषण भट्टले पूरा गरेका थिए। मैले यसको कथामुखमात्र पढेको छु। कथामुखमा शूद्रक राजा र उसको सभा, मातङ्ग (चाण्डाल) कन्याको रूप, वैशाम्पायननामक शूक, विन्ध्याटवी वन, अगस्त्य आश्रम, पम्पासरोवर, शबरसैन्य, शाल्मलीवृक्ष, हारीत, जाबालि ऋषि र उनको आश्रमको वर्णन छ। मान्छेजस्तै बोल्ने सुगालाई पूर्वजन्मको स्मृति हुन्छ। यसमा प्रयुक्त अनुप्रास, उपमा, श्लेष, उत्प्रेक्षा, परिसंख्य, विरोधाभास आदि अलङ्कारको प्रयोगले कवि जाँच्ने कसौटी पद्यभन्दा गद्य हो भन्ने प्रमाणित गर्छ। यो चन्द्रापीड (शूद्रक), कादम्बरी, वैशम्पायन (शूक) र महाश्वेताको तीन जन्मको कथा हो।

शिरिसको फूल

संवत् २०२२ मा पारिजातद्वारा लिखित बौद्धिक उपन्यास हो, शिरिसको फूल। उपन्यासको सुयोगवीर ४५ वर्षीय अविवाहित भूतपूर्व दोस्रो विश्वयुद्धको सैनिक हो। उसले युद्धमा शत्रुलाई मारेको छैन तर बर्मा र मलेसियामा छँदा आदिवासी महिलाको सामूहिक बलात्कार गर्ने, झुटा प्रेम गरेर यौनतृष्णा मेट्ने, एकान्तमा भेटिएका महिलालाई बलात्कार गरी मार्नेजस्ता कुकृत्य गरेको छ। शकम्बरीको परिवारमा दाइ शिवराज, दिदी मुजुरा र बहिनी सानू छिन्। रक्सी खाने क्रममा मित्रता भएपछि सुयोगवीर शिवराजको घरमा जान थाल्छन्। सकम्बरी चुरोट तान्ने, मनमा लागेको कुरा भनिहाल्ने स्वभावकी छिन्। उनी कीरा खाने पिचर प्लान्टले झैँ केटीले केटा चपाउन सक्नुपर्छ भन्छिन् तर अन्त्यमा सुयोगवीरको एक चुम्बनले बिरामी भई शिरिसको फूलझैँ झर्छिन्। शिवराज सरल स्वभाव भएकी मुजुरासँग घरबार गर्न चाहन्छ तर बरीको मृत्युपछि ऊ एक्लो अनुभव गर्छ। काव्यात्मक शैलीमा लेखिएको उपन्यासमा जीवनमा गरिएका दुष्कर्मबाट शान्ति प्राप्त हुँदैन, महिलाहरू पीडा पोख्न नसकी बाँचिरहेका हुन्छन् र दुर्व्ययसन राम्रो होइन भन्ने सन्देश दिइएको छ।

सुलोचना

लक्ष्मीप्रसाद देवकोटाको दश दिनमै लेखिएको सुलोचना महाकाव्य हालसालै पढेको हुँ। जहाँ प्रेममा दृढ सुलोचना प्रमुख नायिका छिन्। नायक अनङ्ग प्रेममा निष्ठ भएपनि धीरोदात्त जोखिम उठाउने देखिँदैन। यसमा प्रेमको कदर गर्नुपर्छ, खोक्रो खानदान र धनको घमण्ड गर्नु हुँदैन भन्ने सन्देश छ। च्युता बिजुलीलाई पनि तिमिरमर्दनले अपनाएर उदारचरित्र देखाएका छन्। सुलोचनाको जीवन भोगाइका दुःखद् घटना र त्यसबाट उत्पन्न कथा-व्यथाको मार्मिक चित्रण सुलोचनामा देखिन्छ। पञ्चदश सर्ग रहेको पुस्तकभित्र प्रायः अनुष्टुप् र बीचमा शार्दूलविक्रीडित, स्वागता, दुर्तविलम्बित, सुन्दरी, उपेन्द्रवज्रा, वंशस्थ आदि छन्द प्रयोग गरिएको छ। देवकोटा शब्दनिर्माणमा पोख्त भएकाले शब्दकोशमा नपाइने शब्दहरू पनि प्रयोग गरेका छन्। उनमा जनसामान्यलाई नायक बनाउने, विद्रोही र सुधारवादी प्रवृत्ति देखिन्छ।

प्रकाशित मिति: : 2023-11-26 09:22:00

प्रतिकृया दिनुहोस्