विभाजनको भुङ्ग्रोमा ‘एकता’ खोजिरहेका उपेन्द्र यादव

Break n Links
Break n Links

ताता हावाको लहरले लखेटिइरहेको मधेस। अनि ४३ डिग्री सेल्लियसमा तातिइरहेको यसको राजधानी सहर जनकपुर। यो त्यही सहर हो, जहाँ उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालको ‘एकता महाधिवेशन’ चलिरहेको छ।

‘एकता’को महाधिवेशन सुरु हुनुभन्दा करिब एक महिनाअघि विभाजनको प्रारब्ध भोगिरहेको जसपामा अहिले भने उपेन्द्रमात्रै एक्लै छन्।

जसपा नेपालले यो महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’ भनेको छ। एकताको राष्ट्रिय महाधिवेशन भनिए पनि उपेन्द्रसँग एकता गरेकाहरू अशोक राई, बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठहरू कोही पनि छैनन् यो महाधिवेशनमा।

छन् त केवल उपेन्द्र र उनले स्थापना गरेको तत्कालीन मधेसी जनअधिकार फोरमका नेता-कार्यकर्ताहरू।

अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्यिताक राईहरू सहभागी नहुँदा यो महाधिवेशन उपेन्द्रका लागि धेरै सहज भएको छ। खासगरेर फेरि पार्टीको नेतृत्व सम्हाल्ने दृष्टिकोणले।

उनीहरू भइदिएको भए नेतृत्वका लागि केही हदसम्म घम्साघम्सी हुन्थ्यो होला। पार्टीभित्र ‘पावर सेयरिङ’ का लागि बहस चल्थ्यो होला। उपेन्द्रले अब यो तनाव झेल्नु पर्नेछैन, पक्का प्रायः छ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय समिति चयन हुनेछ। मंगलबारदेखि सुरू भएको बन्दसत्रमा प्रतिवेदन, पार्टी विधानमाथि छलफल भइरहेकाे छ।

तर, अन्ततः पार्टी नेतृत्वको ‘कमान’ उपेन्द्र आफैँले सम्हाल्ने निश्चित छ। किनभने उनलाई चुनौती दिनसक्ने नेता जसपा नेपालमा यतिबेला कोही देखिएका छैनन्।

कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले बेलाबेला नेतृत्व परिवर्तनको कुरा उठाउँदै आएका छन्। केही सञ्चारमाध्यममा आएका उनको प्रतिक्रियालाई हेर्ने हो भने राजकिशोर आफूलाई नयाँ नेतृत्वकर्ताको रूपमा प्रस्तुत गरेका छन्।

तर, जसपा नेपालकै अरू नेता कार्यकर्ताहरू यो तत्काल सम्भव नभएको बताउँछन्।

जसपा नेपालका एक जना पदाधिकारी ‘अहिलेको अवस्थामा पार्टी नेतृत्वका लागि उपेन्द्रजीको विकल्प नभएको’ बताउँछन्। राजकिशोरले गरिरहेको नेतृत्वको दाबीलाई उनीहरूले सहअध्यक्षका लागि ‘बार्गेनिङ’ ठानेका छन्।

जसपा नेपालको विधानमा अध्यक्षपछि पार्टीको दोस्रो वरियतामा सहअध्यक्ष रहने व्यवस्था छ।

०००

महाविधेशनस्थल जनकपुरधामको तिरहुतियागाछी जसपा नेपालको झन्डा, ब्यानर र पोस्टरहरूले सजिएका छन्। उद्घाटनसत्रका लागि लाखौँ रूपैयाँ खर्च गरेर ठूलो पन्डाल बनाइएको छ।

बन्दसत्र तिरहुतियागाछी परिसरमै रहेको महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा भइरहेको छ।

पार्टी विभाजन भएको एक महिनापछि भइरहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा उपेन्द्रको अनुहार थोरै पनि मलिन थिएन। उनको हाउभाउ बुलन्द र हौसिएको थियो।

उपेन्द्रलाई हौसाइरहेका थिए, ठूलो पन्डालभित्र र बाहिर जनकपुरधामका सडकहरूमा उपस्थित हजारौँको संख्यामा पुगेका कार्यकर्ताहरूले।

४३ डिग्री सेल्सियसको प्रचण्ड गर्मीमा पसिनाले लथपथ हजारौँ कार्यकर्ताले एकसाथ लगाइरहेको ‘जसपा नेपाल जिन्दावाद’ को नाराले उपेन्द्रमा पार्टी विभाजनको निराशाभन्दा उत्साह बढी देखिन्थ्यो।

दुई दिनअघि महाधिवेशनकै जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले जसपा नेपाल विभाजन भएको अस्वीकार गरे।

उनले भनेका थिए– हाम्रो पार्टी टुक्रिएको होइन। केही व्यक्ति धनबहादुर र मन्त्रीबहादुर बन्न चोइटिएर गएकामात्र हुन्।

अशोक राईहरू अलग भएर नयाँ दल खोलिसकेपछि उपेन्द्रको शक्ति क्षीण हुनसक्ने धेरै आँकलन र दाबी गरेका थिए। उपेन्द्रसामु यी र यस्ता दाबीहरू गलत सावित गर्न ठूलै चुनौती थियो।

र, महाधिवेशनमा देशभरबाट हजारौँको संख्यामा कार्यकर्ता समर्थक तथा भारतलगायतका विदेशी पाहुना जनकपुरधाममा उतारेर आफ्नो शक्ति कमजोर नभएको देखाउन उपेन्द्र लगभग सफल भएका छन्।

उद्घाटनसत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका राजनीतिक दलका नेताहरू उपस्थित थिए नै, छिमेकी भारतको कंग्रेस, समाजवादी पार्टीका नेताहरू पनि जनकपुरधाम पुगे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई उत्तर प्रदेशमा ठूलो चुनौती दिएका अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीका नेता मनिष सिंहले उपेन्द्रको खुलेर प्रशंसा गरे।

नेपाल सरकारले मधेस र मधेसीसँग विभेद गरेको आरोप लगाएका उनले जसपा नेपालका अध्यक्ष उपेन्द्रसँग भएको सामिप्यतालाई राम्ररी प्रकट गरे।

०००

उपप्रधान एवं स्वास्थ्यमन्त्रीको हैसियतमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकै बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको थियो।

पार्टीको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा जसपा नेपालको विभाजन उपेन्द्रका लागि अप्रत्याशित राजनीतिक घटना थियो।

अशोक राईसहित उनका पार्टीका सात जना सांसदहरूले २३ वैशाखमा निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

अमेरिकाबाट उपेन्द्र नेपाल नफर्किँदै निर्वाचन आयोगले २४ वैशाखमा राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई मान्यता दियो। राईहरूले पार्टीको नाममा ‘नेपाल’ शब्द हटाएर जसपा नेपालसँग मिल्दोजुल्दो जसपा राखेका छन्।

पार्टीभित्र अचानक गएको भुइँचालोले दुई दिनअघिसम्म सरकारका उपप्रधानमन्त्री रहेको उपेन्द्र सत्ता छाड्न बाध्य भए। सरकारबाट बाहिरिए। राजनीतिका ‘विश्वासपात्र’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए।

संघीय संसदमा १२ सांसद भएका उपेन्द्र ५ सांसदमा सीमित भए। प्रतिनिधिसभामा भएको यो क्षतिले उनको ‘बार्गेनिङ’ क्षमतालाई क्षयीकरण गरिदियो।

फलस्वरूप उनकै पार्टी फुटाएर नयाँ दल खोलेका अशोक राईहरू सत्तामा पुगे। र, उपेन्द्र सत्ताभन्दा बाहिर।

राजनीतिक दाउपेचका ‘चतुर’ खेलाडी उपेन्द्र यतिबेला प्रतिपक्षीको कित्तामा पुगेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग हातेमालो गरेर अगाडि बढिरहेका छन्, उपेन्द्र यतिबेला।

हुन त उपेन्द्रका लागि पार्टी एकता र विभाजनको यो राजनीतिक घटना पहिलोपटक होइन। आवश्यकताअनुसार अरू पार्टीसँग एकता गर्ने र पार्टी छाडेर जान बाध्य बनाइदिने वातावरण तयार पारिदिने उनले यसअघि पनि पटक–पटक गरिसकेका छन्।

महन्थ ठाकुर, बाबुराम भट्टराईहरू यस्ता घटनाका ताजा उदाहरणहरू हुन्।

उपेन्द्र नेतृत्वको संघीय समाजवादी पार्टी विभाजनको संघारमा पुगिसकेका बेला रातारात पार्टी एकता गरेर महन्थहरूले ‘संजीवनी’ दिएका थिए।

महन्थ नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सँग रातारात भएको एकीकरणपछि बनेको थियो, जसपा नेपाल।

तर, त्यो एकता एक वर्ष पनि टिक्न सकेन। एक वर्षकै अन्तरालमा महन्थहरू पार्टी छाड्न बाध्य भए। उनले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि उपेन्द्रसँग धेरै लामो सहकार्य गर्न सकेनन्। विवाद यहाँसम्म बढ्यो कि बाबुरामहरू पनि बाध्य भएर जसपा नेपालबाट बाहिरिए। र, आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेर राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन्।

कहिले पार्टी एकता र कहिले टुटफुट भइरहेका कारण उपेन्द्रको पार्टीले पछिल्लो १८ वर्षमा एउटा पनि महाधिवेशन गर्न सकेन।

०००

जसपा नेपालका ७ जना संघीय सांसदहरूलाई लिएर अशोक राईहरूले जसपा बनाएर राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्रले नयाँ दललाई मान्यता दिएकोमा निर्वाचन आयोगलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट हालेका छन्। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।

मुद्दाको फैसला आफ्नो पक्षमा आउने उपेन्द्र पक्षको दाबी छ। उपेन्द्रनिकट नेताहरूले सोचेअनुसार नै सर्वोच्च अदालतबाट फैसला भइदिए राईलगायतका सात जना सांसदहरूको पद धरापमा पर्ने निश्चित छ।

अर्कोतर्फ संघीय संसदका ७ जना सांसदलाई आफ्नो पक्षमा ल्याउन सफल भए पनि राई नेतृत्वको जसपाले कोशी प्रदेशका एक जना सांसदबाहेक मधेस र लुम्बिनी प्रदेशमा कुनै प्रभाव देखाउन सकेन।

मधेसमा जसपा नेपालका १९ र लुम्बिनीमा ३ जना प्रदेश सांसद छन्। यिनीहरूमध्ये केहीलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि अशोक राईहरू सफल हुन सकेनन्।

दल विभाजन भएको बेला मधेसका कम्तिमा ७–८ जना सांसद राई नेतृत्वको जसपामा जाने चर्चा चलेको थियो। तर, हालसम्म एक जना सांसदले पनि जसपा नेपाल छाडेका छैनन्।

अनि त उपेन्द्रले पत्रकार सम्मेलनमा भनेका थिए– हाम्रो शक्ति कमजोर भएको छैन। हामी झन शक्तिशाली भएका छौँ। मधेसका एक जना सांसद पनि छाडेर गएका छैनन्।

त्यस्तै पालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखहरू पनि उपेन्द्र नेतृत्वको जसपा नेपालमै छन्। वीरगञ्जका मेयर राजेशमान सिंहबाहेक।

वर्तमान स्वास्थ्यमन्त्री रहेका जसपा नेता प्रदीप यादवसँग निकट रहेका सिंहले यतिबेला उपेन्द्रको साथ छाडेका छन्।

सधैँ अस्थिर रूपमा अगाडि बढिरहने नेपाली राजनीतिका कारण अहिलेको सरकार ढुलुमुल भए वा गठबन्धन फेरिए सबभन्दा बढी सकसमा प्रदीप यादव, रेणु यादव र इस्तियाक राईहरू पर्ने देखिन्छ।

प्रकाशित मिति: : 2024-06-11 18:18:00

प्रतिकृया दिनुहोस्