काठमाडौंका नदी, खोला कस्ता छन्? यहीँ बसिरहेकाहरू यससँग राम्रै परिचित छन्। यहाँ नबसे पनि कुनै दिन काठमाडौँमा पाइला टेकेको हरकोहीलाई यहाँको नदी, खोलाले पक्कै नाक थुन्ने बनाएको छ।
बागमती नदी त यसै पनि फोहोरको पर्यायवाची बनेको छ। नागार्जुनको जङ्गलको बागद्वारबाट निस्किएको बागमती त्यहाँ सुन्दरी जलबाट परिचित छ। र कलकल पानीको सुन्दरताले जोकोहीलाई आकर्षित गर्छ।
तर त्यही नदी काठमाडौँ आइपुग्दा सुन्दरी जलको सुन्दरतामा बदनाम हुने गरी स्वरुप बिग्रिएको छ।
दुर्गन्धले नदी छेउ हिँड्न कठिन हुन्छ। नदीबाट फोहोर निकालेकै–निकाल्यै भए पनि कहिल्यै सकिँदैन।
काठमाडौँमा रहेको बागमती नदीमात्र होइन, विष्णुमती नदीको अवस्था पनि उस्तै छ। र यहाँ भएका धोबी खोला, टुकुचा खोला, सामाखुसी, बल्खु, चखुन्चा खोला सबका सबको अवस्था बागमती भन्दा कम छैन।
बर्षामा केही कम भए पनि यी नदी, खोलामा अन्य समयमा भने दुर्गन्धले वातावरण प्रदूषण बनाइरहेको छ। नदी, खोला प्रदूषण हुनुको कारण यहाँ फालिने फोहोर त हो नै साथमा घर–टोलका ढलहरू सिधैं खोलामै खसाइएका छन्।
यी नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।
अधिकार सम्मपन्न वागमती सभ्यता एकीकृत विकास समित बनेको तीन दशक (२०५१ सालबाट यो समितिले काम गरेको छ) भए पनि नदी भने सफाइ हुन सकेको छैन। सफाइका नाममा केही टन फोहोर पनि नदीबाट निकालिएको छ।
तर नदीको कलकल त्यसैमा भासिइएको छ, नदीमा पानी छोपेको ढलसँगै ‘सफाई’ अभियानका नाममा पैसा पनि बगिरहेको छ।
तीन दशमा बागमती सफाइका नाममा २१ अर्बभन्दा बढी खर्च भइसकेको छ।
बागमती जस्तै अन्य नदी खोला पनि सफा राख्न काठमाडौँ महानगरले यहाँ फोहोर फाल्नेलाई कारबाही थालेको वर्षौँ भइसकेको छ। महानगरले नदी खोलामा फोहोर फाल्नेलाई १ लाखसम्म जरिवाना गर्न थालेको २०७०–०७१ सालदेखि हो।
महानगरले नदी खोला सफाइका लागि सचेतना जगाउनेदेखि कारवाहीसम्म अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। २०७९ सालको स्थानीय तहको निर्वाचनपछि काठमाडौँको मेयर बनेका र्यापर इन्जिनियर बालेन साहले फेरि नदी सफाइ थालेका छन्।
नदी खोला काठमाडौँको गौरव
काठमाडौँ महानगरले नदी, खोलालाई गौरव भनेको छ। महानगरले आर्थिक वर्ष २०८०/८१ देखि नदी खोलालाई गौरव भन्दै गौरवको योजनाअन्तर्गत सफाइ अभियान चलाएको छ।
महानगरले १० योजनालाई गौरवको योजना भनेको छ। जसमा नदी खोला सफाइ पनि हो। महानगरले तीन वर्षमा नदी, खोला सफा गरिसक्ने अठोट लिएर सफाइ अभियान चलाएको छ।
के यति धेरै दुर्घन्धित र मानव बस्ती बिचबाट बहेका नदी खोलाको कलकल स्वरुप फर्काउन सकिन्छरु महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्– ‘सकिन्छ।’ उनले नदी खोलामा थुप्रिएका फोहोर निकालिएको र अब फोहोर नगरे ३ वर्षमा पक्कै नदी खोला सफा हुने विश्वास गर्छन्।
३ वर्षमा नदी खोला सफाइ गरिसक्ने लक्ष्य लिएको महानगरले पहिलो वर्षको काम लगभग सकाएको छ। अब नयाँ आव २०८१/८२ देखि दोस्रो चरणको नदी खोला सफाइ अभियान सुरु हुनेछ। आव २०८२/८३मा पूर्णरुपमा नदी सफाइ गरिसक्ने महानगरको लक्ष्य छ।
पहिलो वर्षको प्रगति के?
काठमाडौँ महानगरले यस वर्ष नदी खोलाहरूको सफाइ गरेकोमा निकै प्रशंसा बटुलेको छ। नदी खोलाका दुर्गन्धले आजित नागरिकलाई आफ्नै कर्मचारी खटाएर महानगरले सफाइ थालेपछि प्रशंसा बटुल्यो।
महानगरले खोला सफाइका लागि असोज ३० गतेदेखि अभियान थालेको थियो। सुरु असोज ३० गतेदेखि नदी खोला छेउको फोहोर महानगरले निकालेको थियो। महानगर छोएर बगेका बागमती, विष्णुमती, धोवीखोला र टुकुचा खोला छेउको फोहोर निकाल्न महानगरलाई ९ महिना लाग्यो।
जेठ अन्तिमसम्म यी नदी खोलाबाट महानगरले ३ हजार ९४ टन फोहोर निकालेको वातावरण विभागकी उपनिर्देशक तथा नदी सरसफाइ अभियानकी फोकल पर्सन सानुमैया महर्जनले बताइन्। फोहोर निकाल्नका लागि ११ हजार ६०१ जना कर्मचारी परिचालन भएका थिए।
फोहोर निकाल्का लागि महानगरले यस आवमा ७ करोड छुट्याएको थियो। आव सकिन बाँकी रहेकाले कति रकम खर्च भयो भन्ने विवरण छैन। तर महर्जन आधा रकम पनि खर्च नभएको बताउँछिन्।
महानगरले पहिले नदी किनारका फोहोर निकाल्यो। त्यसपछि नदीभित्रबाट फोहोर निकालेको महानगरले धेरै फोहोर भएको ठाउँमा स्काभेटर प्रयोग गरेर पनि फोहोर निकालेको छ।
नदीभित्रबाट फोहोर निकाल्ने काम अहिले पनि भइरहेको छ। यो काम यस आवको अन्तिम असार १५ गतेसम्म चल्ने उपनिर्देशक महर्जनले जानकारी दिइन्। नदी खोलाभित्र फोहोर निकाल्ने काम फागुन २० गतेदेखि सुरु भएको थियो।
त्यसयता धोवी खोला, भजाखुसी खोला, बल्खु, टुकुचा खोलामा निकाल्न मिल्ने ठाउँमा निकालिएको छ। कपनको चखुञ्चा र सामाखुसी खोलामा यही असार १५ सम्म फोहोर निकालिने छ।
यहाँ फोहोर निकाल्नका लागि ३६ हजार ८१ जना सरसफाइकर्मी खटिएका छन्। उनिहरूलाई दैनिक १२ सयका दरले खोला सफाइ अभियानमा खटाइएको छ।
यस्तै यही बैशाख २९ गतेदेखि जेठ ३२ गतेसम्म बालाजु बसपार्कदेखि टेकु दोभानसम्म एक्साभेटर लगाएर फोहोर निकालिएको थियो। खोलाभित्र र मेसिन लगाएर कति फोहोर निकालिएको भन्नेमा अझै विवरण आइसकेको छैन।