मुकुल ढकालको निष्कर्ष: रविको राप निभ्दैछ, रास्वपा सकिँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका छन्।

पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निष्कर्ष छ।

एकातिर चर्को स्वरमा ‘मिसन–८४’को बाँसुरी बजाइरहँदा, अर्कोतिर महामन्त्री ढकालले गृहमन्त्रीसमेत रहेका लामिछाने र रास्वपा जमातको असली रुप देखाइदिएका छन्।

इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई देशव्यापी कार्यकर्ता भेटघाट गरेर समीक्षा गर्न खटाएको थियो। त्यसपछि उनी देश दौडाहामा निस्किएका थिए।

‘समीक्षा यात्रा’ सकेर ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका उनले अर्को निर्वाचन नआउँदै ‘रास्वपा विघटन’को संघार पुग्नसक्ने चेतावनी दिएका छन्।

महामन्त्री ढकालले परम्परागत राजनीतिक दलको बाटोमै हिँड्दा रास्वपाको हविगत पनि ‘विवेकशील भाग–२’ बन्नसक्ने अनुमान गरेका छन्।

उनको प्रतिवेदनलाई उपसभापति डिपी अर्यालनिकट एक केन्द्रीय सदस्यले विश्लेषण प्रतिवेदन नभनी ‘भ्रमपूर्ण प्रतिवेदन’ भनेका छन्।

सभापति लामिछानेको ‘कोर टीम’बाट निकालेपछि महामन्त्री ढकालले बिरक्तिएर आम–जनमानसमा भ्रम सिर्जना गर्न खोजिरहेको ती सदस्यले आरोप लागएका छन्।

‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ! उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो, त्यो त ठिकै थियो। तर त्यो समीक्षा यात्रा नभइ, कुण्ठा यात्रा हो। उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ। तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ ती केन्द्रीय सदस्यले भने।

रास्वपाका कतिपय केन्द्रीय सदस्यहरूले महामन्त्री ढकालको कार्यशैलीलाई रुचाएका छैनन्। उनीहरू ‘केटाकेटीलाई महामन्त्री’ बनाउँदाको परिणाम भन्छन्।

‘पार्टी सभापति रवि लामिछाने र महामन्त्रीको सम्बन्धमा चिसोपना आएपछि उहाँ बोल्ड निर्णय, बोल्ड निर्णय भन्दै हिँडेको देखियो! खास के हो त्यो बोल्ड निर्णय भनेको?,’ सभापति लामिछानेको कोर टिमका एक सदस्यले भने।

महामन्त्री ढकाल ६ गतेदेखि देश भ्रमणमा निस्किएका थिए। असार ६ गतेसम्म उनी ३९ जिल्लामा नेता तथा कार्यकर्तासँग भेटघाट र कुराकानी पनि गरेका छन्।

करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि ढकालले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेका छन्।

प्रकाशित मिति: : 2024-06-26 16:01:00

प्रतिकृया दिनुहोस्