त्याे देश, याे परदेश!

Break n Links
Break n Links

राम्राे दिनको खोजीमा परदेश लागेँ, अहिले हजारौँ चुनौतीमा अल्झिँदै छु। त्यसैले खुशी भेटाउने होइन, बरु दुःख अनि पीडा लुकाउने ठाउँ रहेछ परदेश।


स्वदेशमा हुँदा देशका गतिविधिलाई देख्दा यस्तो लाग्यो कि देशमा बसेर केही हुँदैन। यो देश यस्तै हो, यहाँका मान्छे पनि यस्तै हुन्। भोलि हुने पनि यस्तै हो, भइरहने पनि यस्तै हो। नेपालमा जति पढे पनि यस्तै हो।

यस्तै सोचले स्नातकोत्तर अध्ययन गर्दै गरेको म परदेशको सपनामा उडान भर्न थालें। सोच्न थालें, प्रदेश पुगेपछि त सबै राम्रै हुन्छ। ठिकठाक हुन्छ।त्यसैले हजाराैँ नयाँ सपनाहरू बोकेर दुई दशक लामो अध्ययनको यात्रालाई बिट मिरियो। राम्रा दिनको खोजीमा परदेश उडियो।

अहिले हजारौँ युवा नेपाली विद्यार्थीको सपना बनेको देश जापानमा छु। तर यहाँ स्वदेशमा हुँदा सोचिने राम्रा दिन होइन, हजारौँ चुनौतीमा जेलिएको छु। खुशी भेटिने ठाउँ छैन। मात्र दु:ख लुकाउने ठाउँ जस्तो लाग्न थालेको छ।

हुन त अहिले जापानलाई त्यति नौलो परदेशको रुपमा मानिदैन, जस्तो कि अझै अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशहरूलाई मानिन्छ। तर नेपाली विद्यार्थीहरू धेरै आउने एक गन्तव्यस्थल भने पक्कै हो जापान।

अन्य विकसित देशहरूमध्ये केही सजिलै प्रक्रियाबाट भिसा पाउने भएर होला अहिले जापान आउनेहरू कमिलाको झैँ ताँती नै छ भन्दा खासै फरक नपर्ला। जहाँ करिब दुई लाखको हाराहारीमा नेपालीहरू रहेको अनुमान छ। यही संख्याभित्र पर्ने एक पात्र हुँ म।

म परदेशिएको धेरै भएको छैन। परदेशमा के हुन्छ, के हुँदैन? परदेशमा के राम्रो छ, के नराम्रो धेरै कुराहरू जान्न, बुझ्न अनि सिक्न बाँकी नै छ। पछि के कस्तो हुन्छ, त्यो समय आएपछि पक्कै थाहा हुँदै जानेछ।

तर देश छोडेर परदेशिएको जति दिन भयो, यस अवधिको मेरो अनुभव र भोगाइले यति भने भन्न सक्ने अवस्थामा पुगिसेको छु कि परदेशमा हामीले सोचेझैँ र चाहेकोझैँ अमनचयन भने पटक्कै छैन।

अहिले म जुन देश अर्थात् परदेशमा छु, यहाँको लागि म बच्चा नै हुँ भन्दा खासै फरक नपर्ला। किनकी मैले यहाँ शून्यबाट आफ्नो सिकाइलाई सुरुवात गर्दैछु। यहाँका धेरै कुराहरू सिक्न, भोग्न, यहाँको वातावरण र प्रविधिसँग घुलमिल हुनै बाँकी छ।

जसरी बच्चाहरूले आफ्नो सिकाइलाई शून्यबाट सुरुवात गर्दछन्, त्यसैगरी मैले पनि सिक्दैछु। बच्चाले जसरी भोक लागेमा रुन सक्छ, भोक लागेको आमालाई संकेत गर्न सक्छ भन्नुको मतलब अहिलेको परिस्थितिले मलाई त्यस्तै महसुस गराएको छ।

हरेकको परदेश यात्रा र जीवन यस्तै हुन्छ भन्ने छैन। मलाई जस्तो लाग्यो, अर्कोलाई पनि परदेश त्यस्तै लाग्छ भन्ने छैन। यहाँ बसोबास गर्नेहरूको आ-आफ्नो लाइफ स्टाइल छ। हरेक परदेशीका भोगाइका कथा र व्यथा आ-आफ्नै होलान्। सबैले यसरी नै लेख्छन् र देखाउँछन् भन्ने पनि छैन।

अहिले मैले बुझेको परदेश के हो? भन्ने कुरालाई मात्र थोरै लेख्न खोजेको हुँ। सबैले परदेशलाई यसरी नै लिन्छन्, यी सबै कुरा सबैसँग मिल्छन् भन्ने छैन।

पहिलो कुरा त यहाँ नेपालमा हुँदा कसले के कस्तो काम गर्‍याे , त्यो मतलब हुँदैन। ‘मैले नेपालमा यस्तो-उस्तो काम गरेको थिएँ, म फलानाेको छोरा हुँ र नेपालमा मेरो राम्रो स्टाटस थियाे, मैले नेपालमा यति पढेको थिएँ’ भनेर यहाँ कसैले चिन्दैनन्।

हामी यहाँ आएपछि कुर्सीमा बसेर गर्ने कुनै पनि काम हुँदैन, पहिलो कुरा त सुरुवाती दिनहरूमा यहाँको भाषाको ज्ञान नहुँदा काम नै पाइँदैन। परदेशमा मेरा दाजुभाइ, दिदीबहिनी, आफन्त वा साथीभाइ छन्। म उता पुगेपछि राम्रै सर-सहयोग पाउँछु, उता पुगेपछि समयमै काम पाउँछु र पैसा कमाउँछु भनेर सोच्ने, उनीहरूसँग आशा राख्ने र परदेश पस्ने ठाउँ होइन रहेछ।

आमाले दिएको खाएझैँ, बाबाले दिएर लाएझैँ छैन। परदेशमा दुःखको कमाई होला, पसिनामा डुबेर आफ्नो निद्रालाई त्यागेर काम गर्नेहरूका लागि, मनले चाहेझैँ पटक्कै हुँदैन। चित्त बुझाएर बस्ने ठाउँ रहेछ परदेश। रातदिन नभनी खटिएर काम गर्नुपर्ने, वन पाखा, बारीमा गीत गाएझैँ छैन। डिस्को र रोधीमा धाएझैँ छैन परदेश।

विदेश आउँदा नेपालबाट आफन्तीहरूबाट लिएको ऋण अनि दुःख, पीडाले तड्पिएर बाँच्नुपर्ने, शून्यबाट आफ्नो नयाँ जीवनको सुरुवात गर्नुपर्ने, त्यही अनुरुप आफूलाई तयार पारेर खट्नेहरूका लागि मात्रै हो रहेछ परदेश। गलत मान्छे, गलत गतिविधिहरू देखे पनि चुपचाप केही नबोली आफ्नो काम गर्ने ठाउँ रहेछ परदेश।

सकारात्मक सोचका साथ सङ्घर्ष गर्नुपर्ने, मानसिकता बनाउनुपर्ने, नेपालमा हुँदा यति-उति पढेको, यस्तो-उस्तो काम गरेको त्यो सबै भुलेर जे जस्तो काम भएपनि गर्छु भन्ने सोच राख्नुपर्नेका लागि रहेछ परदेश।

विदेशमा धेरै नेपाली साथीहरू भएपनि मनका त्यति धेरै सफा नहुँदा रहेछन्। मन खोलेर सहयोग गर्ने नेपाली मान्छे कमै भेटिँदा रहेछन्, नेपालबाट आउँदा कन्सल्टेन्सीले भनेअनुसार, हामीले सोचेअनुसार केही पनि हुँदैन यहाँ। बरु राम्रो ठाउँमा नपरेमा ठ्याक्कै उल्टोचाहिँ हुँदोरहेछ। आएको दुई/चार महिनासम्म पनि काम नपाउने, त्यसमा पनि आफ्नो क्षेत्रको।

आफूले जानेको सीप, क्षमताको काम कुनै पनि भेटिँदैन। यहाँ यसो भन्दा कतिपयलाई लाग्न सक्छ, नेपालमा त पाइँदैन सोचेजस्तो काम अनि विदेशमा कहाँ पाइन्छ त! मैले नेपालको जस्तो काम भनेको होइन तर कामचाहिँ पाउने धेरै उद्योगधन्दा र कम्पनी भएका बजारजस्तो क्षेत्रमा आउनु पर्नेरहेछ भन्न खोजेको मात्र हुँ।

काम त सुरुसुरुमा यहाँको भाषाको ज्ञान नहुँदा पाउनै गाह्रो। पाएपछि सिक्नको लागि समय लाग्ने, त्यो समयमा जेजस्तो काम पाएपनि गर्नका लागि तयार हुने। होटलमा पोछा लगाउने, रेस्टुरेन्टमा काम गर्ने, शाैचालय सफा गर्ने जस्ता कामहरू पाइन्छन्।

सबैभन्दा महत्वपूर्ण कुरा धैर्यता राख्न जान्नेका लागि रहेछ परदेश। नत्र सोचेको जस्तो छैन परदेश, गाह्रो हुनसक्छ। हुन त एउटा भनाइ छ नि- संसारमा हरेक मान्छे दुखी छ तर सबैलाई आफ्नो दु:ख सबभन्दा ठुलो लाग्छ। त्यसैले परदेश रहरको रोजाइ होइन, बाध्यताको उपज रहेछ।

नेपालमा हातमुख जोर्ने कुनै विकल्प नभएपछि मात्रै विदेश रोज्नुपर्ने परिस्थिति बनाऔँ। हातमुख जोर्ने विकल्प भएसम्म नेपाल नै स्वर्ग रहेछ। स्वदेश हुँदा सोचेको जस्ताे समय आएपछि सबैको ऋण तिर्नेछु। सजिलो छैन परदेश।

त्यसैले खुशी भेटिने हैन, दुख लुकाउने ठाउँ रहेछ परदेश। विदेशिनु गर्व हैन, बाध्यता रहेछ। त्यसैले राम्रा दिनको खोजीमा नलागौँ। वर्तमान जे छ, त्यसैमा रमाउने बानीको विकास गरौँ। परदेशी जिन्दगी भोग्नेले मात्रै बुझेको छ, यहाँको दशा अनि दिशा।

प्रकाशित मिति: : 2024-06-22 17:35:00

प्रतिकृया दिनुहोस्