ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर महानगरपालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन्।

निर्धारित समयअघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो।

पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै यो पुलले सुनाकोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए।

नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भने, ‘त्यस्तै किसिमको विपद आइलागेकाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ।’

महानगरकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुनाकोठी र बुङमतीबासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रष्ट पारिन्।

यो पुलले आर्थिक सामाजिक रुपमा स्थानीयलाई समृद्ध बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए।

वडाध्यक्षहरुले कम्पनीको लगनशीलता र इमानदारीप्रति आभार व्यक्त गरे। महानगरका इन्जिनियर प्रदीप पौडेलले पुललाई बलियो बनाउन प्राविधिक रुपमा गरेका कामबारे जानकारी दिए।

पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो।

अन्य दुई पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा

ललितपुर महानगरले आफ्नै लगानीमा सुरु गरेको अन्य दुईवटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ।

रानीबुँ कुसुन्ती (वडा नं.१३) र भैसीँपाटी (वडा नंं.२५) जोड्नेछ। त्यसैगरी वडा नं. १४ स्थित नखिपोटमा बनेको पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको हो।

ललितपुर महानगरका प्रमुख महर्जनले यी पुल प्रयोगमा आउन थालेपछि नगरबासीलाई धेरै सजिलो हुने बताए।

उनले भने,‘ यी पुल दुरी छोट्याउने, सम्बन्ध बढाउने पुल हुन्।’ उनले पुल प्रयोगमा आउन थालेपछि ट्राफिक जामको समस्यासमेत कम हुने बताए। ‘पुल भएपछि मुख्य बाटोको विकल्प समेत तयार हुन्छ’, उनले भने।

महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुईवटा पुल पनि बनिसक्ने बताए। ‘दुई वर्षभित्र तीनवटा पुल निर्माण सम्पन्न हुनेछन्, यो महानगरको लागि ठूलो उपलब्धि हो’, उनले भने।

सुनाकोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ। यो पुलका लागि करीब ५ करोड बजेट छुट्याइएको छ। महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ

कुसुन्ती रानीबुँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ। यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ।

नखिपाट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ भने करीब ४ करोड बजेट छुट्याइएको छ।

प्रकाशित मिति: : 2024-06-30 11:28:00

प्रतिकृया दिनुहोस्