भूकम्प पीडितका अस्थायी आवास बनाउन सेना–प्रहरी खटाइने

भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाइने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका लागि अस्थायी अवास निर्माण गर्न जाजरकोट र रुकुमपश्चिममा सेना र प्रहरी खटाउने निर्णय गरेको हो।

अस्थायी आवास निर्माणमा ढिलाइ भएको गुनासोपछि सेना र सशस्त्र प्रहरी खटाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिने छन्। 

जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने पनि मन्त्री शर्माले बताइन्। 

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए।  

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको छ। 

प्रकाशित मिति: : 2023-11-29 12:45:00

प्रतिकृया दिनुहोस्