घर फर्किन खोज्दा जेलः ८ लाख तिरेपछि जेलमुक्त, स्वदेश फर्किए प्रकाश

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पाका प्रकाश विक जेलमुक्त भइ स्वदेश फर्किएका छन्। 

दुई वर्षअघि साउदीबाट घर विदामा आइ फेरि सोही कम्पनीमा पुगेका विक फेरि घर फर्किन खोज्दा जेलमा परेका थिए।

घर फर्किन खोज्दा कम्पनीले विदा नदिएपछि त्यहाँको एक एजेण्टमार्फत् गैरकानुनी तरिकाले फर्किन खोजेपछि उनी ८ महिना जेल परेका थिए। 

उनी आबद्ध कम्पनीले गाडी बीच बाटोमै छोडेको आरोप लगाउँदै प्रकाशलाई क्षतिपूर्ति स्वरुप २२ हजार साउदी रियाल अर्थात् नेपाली ७ लाख ७० हजार जरिवाना तिर्नुपर्ने मागसहित मुद्दा दर्ता गरेको थियो। 

जेल चलान भएका प्रकाशलाई थुनामुक्त गरी स्वदेश फर्काउन रोल्पाली सेवा समाज साउदी अरबले साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरेपछि दूतावासले सहजिकरण गरेको थियो। 

गैरकानुनी तरिकाले घर फर्काउन खोज्ने एजेण्टले ७ हजार रियाल र प्रकाशको परिवारले १५ हजार रियाल गरी २२ हजार रियाल करिब पौने ८ लाख नेपाली रकम तिरेर अन्य कानुनी प्रक्रिया पुरा गरी विक सोमबार नेपाल फर्किएको रोल्पाली सेवा समाज साउदी शाखाका सहकोषाध्यक्ष उमान घर्तीमगरले जानकारी दिए। 

घर्तीमगरका अनुसार रोजगारीका लागि साउदी अरब पुग्ने नेपालीहरू अज्ञानता र केही लापरबाहीका कारण गैरकानुनी तरिकाले चल्न खोज्दा आर्थिक जरिमानामा पर्ने र कानुनी कारबाही भोग्नुपर्ने समस्या दिनानुदिन बढिरहेको बताउँछन्।

प्रकाशित मिति: : 2023-11-28 20:05:00

प्रतिकृया दिनुहोस्