नाबालिग बलात्कारको अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरको इलाम इजलासले आदेश दिएको हो।
घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा उनी २०८१ मंसिर २४ गते पक्राउ परेका थिए।
एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीले अस्वस्थताको कारण देखाउँदै बीएण्डसी अस्पताल भर्ना भएका थिए। उनी त्यहीँबाट रिहा हुन लागेका हुन्।
आफूलाई थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध शिवाकोटी उच्च अदालत पुगेका थिए। चार पटकसम्म पेशी स्थगित हुँदै विहीबार भएको सुनुवाइमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो।