नारी दिवस

नौंमती बाजा घन्काउने बालकुमारीहरू

Break n Links
Break n Links

विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन्। समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थाको कार्यक्रमहरु तथा विवाहहरुमा बाजा बजाउने गर्दछन्। 

महिलाले पुरुषले झैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि आफूहरुले महिलाहरुको मात्रै नौमती बाजा समूह कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको समुहकी सदस्य बाल कुमारी भुषाल बताउँछिन्।

पञ्चेबाजा बजाउन लागेको छ वर्ष पुग्न लाग्यो। जातिगत रुपले समूहलाई पनि समावेशी बनाएका छौं। माग भयो भने नेपालभरि नै जान्छौं। कतिपय स्थानीय तहले महिलाहरुलाई गुडिया, अगरबत्ति बनाउ भनेर बजेट दिन्छ’ उनी भन्छिन् ‘त्यसलाई चुनौति दिनका लागि हामीले समूह बनाएरै कानुनी रुपमा समान्य महिलाले गर्न सक्दैनन् भन्ने काम गरेर देखाएका हौं।’

उनले आफूहरुले सुरुवातीमा समाजबाट धेरै अपहेलना खेप्न परेको गुनासो गरिन्। दलित जातिले मात्र बजाउने बाजा भनेर भनियो, समाजको मानसिकताका कारण आफूहरुले तिरस्कार भोग्न परेको उनले सुनाइन्। परम्परागत मानसिकतालाई परिवर्तन गर्न महिला बाजा समूह स्थापना गरेको उनले जानकारी दिइन्। 

‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातिय हिसाबले हेरियो। समाज मात्र नभइ स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो तल्लो जातको काम भनेर हेप्ने काम भयो। समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन। हामी आफैंबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं,’उनले भनिन्।
  
उनको अनुसार सिर्जनशिल महिला नौमती बाजा समूहमा समावेशीतालाई विशेष ध्यान दिइएको छ। बाहुन, क्षेत्री, गुरुङ, मगर तामाङ सबै जातको महिलाहरु समूहमा रहेको उनले जानकारी दिइन्। 

उनले भनिन्,‘बाहुन जातिले बाजा बजाउन हुँदैन भन्ने मानसिकतालाई चिर्ने काम गरेका छौं। तर हाम्रो समूहमा बाहुन, क्षेत्री, गुरुङ, मगर, तामाङ सबै जात छन्। समावेशीता छ। स्थानीय सरकारले समेत महिलाहरुले गर्न सक्दैनन् भन्ने र बजेट पचाउने काम मात्र गर्यो भनियो। तर हामीले साहस बटुलेर प्रधानमन्त्रीदेखि मन्त्रीहरुको क्वाटरसम्म गएर बजाउने काम गरिरहेका छौं।’

सुरु सुरुमा महिला भएकै कारण घर परिवारबाट पनि सपोर्ट नपाएको उनी सुनाउँछिन्। तर अहिले समय परिवर्तनसँगै घर परिवारको मानिसहरुको मानसिकतामा पनि परिवर्तन आउँदा आफूहरुलाई पहिला भन्दा सहज भएको उनको भनाई छ। 

‘हामीलाई लगनमा चाँही भ्याई नभ्याई हुन्छ। बैशाख १७ गतेलाई अहिले नै बुकिङ भएको छ। धेरैले मन पराइदिनुभएको छ,’ उनले खुसी साट्दै भनिन्। 

फाइभ स्टार होटलमा गएर जाँडरक्सी खाएर नारी दिवस मनाउने गतल प्रचलन रहेको भन्दै उनले आफूहरुले सडकमा बाजा बजाएर नारी दिवस मनाउने सोच रहेको सुनाइन्।
 

प्रकाशित मिति: : 2025-03-08 10:55:00

प्रतिकृया दिनुहोस्