अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकमात्रै ‘फोन कल’ले इजरायल-इरानको युद्ध रोकिन पनि सक्छ। तर के ट्रम्पले त्यसो गर्लान्? हालैका दिनमा उनले पक्कै गर्नेछैनन्। किनकी उनले आगामी केही सातासम्म यो युद्ध कहाँसम्म पुग्नसक्छ वा इजरायल अनि इरानले के के सम्म गर्नसक्छन् भनेर हेर्नेछन्।
त्यसपछिमात्रै इरानमाथि कस्तो रणनीति लिने भन्नेबारेमा निर्णयमा पुग्नेछु भनेर यसअघि नै ट्रम्पले भनिरहेका छन्।
इजरायल र इरानबीच एकअर्कामाथि क्षेप्यास्त्र हानाहान भइरहेका बेला इरानी राष्ट्रपति कार्यालयका एकजना बरिष्ठ अधिकारीले ट्रम्पको ‘एक आदेश’मात्रैले यो युद्ध रोकिनसक्ने बताएका छन्।
त्यस्तो आदेश इजरायलका लागि आवश्यक भएको पनि उनले बताए। तर ट्रम्पले इजरायललाई युद्ध रोक्नका लागि आदेश दिने छैनन्। बरु उनले इरानलाई सम्झौतामा आउनका लागि केही समय पर्खिनेछन्।
नत्र उनले इरानमाथि अमेरिकी सैनिकले आक्रमण गर्नेबारेमा पनि सोचिरहेका छन्। खासगरी ट्रम्प इरानको सबै परमाणु परियोजनाहरू बन्द गराउन चाहन्छन्। त्यसलाई सुरुमा त उनले कुटनीतिक तरिकाबाटै समाधान चाहेका थिए।
त्यसका लागि ६० दिनको समय पनि दिए। तर इरानले त्यसलाई टेरेन र ६१ औं दिनमा इजरायलले इरानमाथि इतिहासकै सबैभन्दा ‘भयानक’ आक्रमण गर्यो। त्यसपछि इरानले जवाफ फर्कायो र यो लडाईं अहिले पनि जारी छ।
यसपछि पनि ट्रम्पले इरानलाई ‘विना शर्त’ आत्मसमर्पण गर्न धम्की दिए र तत्काल तेहरान खाली गर्न पनि त्यहाँका नागरिकलाई चेतावनी दिए। त्यसको जवाफमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईले ‘इरान र इरानी जनताले कहिल्यै कुनै शक्तिसामु आत्मसमर्पण नगर्ने’ जवाफ फर्काए। हाल उनी एउटा निकै सुरक्षित मानिने बङ्करमा छन्। तर ट्रम्पले भने आफूहरूले चाहेमा उनलाई सजिलै भेटाउने तर अहिले नै उनलाई मार्न वा टार्गेट गर्न नचाहेको बताएका थिए।
तर अब यो युद्ध कहाँसम्म पुग्ला? वा त्यसले विश्वमा ल्याउनसक्ने भयानक परिणामबारे शक्ति राष्ट्रहरू चिन्तित देखिन्छन्। तर युद्धरत इजरायल र इरान भने कुटनीतिक समाधानतिर लागेका छैनन्। बरु उनीहरूले एकअर्काको शक्ति परीक्षण गरिरहेका छन्।
इरानका राष्ट्रपति कार्यालयका एकजना बरिष्ठ अधिकारी माजिद फरहानीले अमेरिकी सञ्चारमाध्यमसँग कुराकानी गरेका छन् र उनले ‘सजिलै नयाँ सुरुवात’ गर्न सकिने बताएका छन्। तर त्यसका लागि ट्रम्प नै अघि सर्नुपर्छ। अमेरिका सिधै यो लडाईंमा सामेल त भइसकेको छैन। तर उसले चाहेअनुसार अहिले इजरायल नै लडिरहेको छ। खासगरी यसअघि ट्रम्पले इरानले आफ्नो फोर्दो पहाडमुनि बनाएको विशाल आणविक प्रशोधन केन्द्र ध्वस्त पार्ने योजनाका बारेमा पनि छलफल गरेका थिए। त्यसलाई नष्ट पार्नसक्ने बम अमेरिकासँगमात्रै छ।
‘इरान सधै कुटनीतिक संवादमा विश्वास गर्दछ’ फरहानीले भनेका छन् ‘त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष त्यो महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा त यो बेला ट्रम्पले इजरायललाई युद्ध रोक्न एक आदेश दिएमात्रै पनि फेरि नयाँ सुरुवात गर्न सकिन्छ। त्यसका लागि ट्रम्पको एक फोन कल मात्रै पनि काफी हुन्छ।’
तर इजरायलसँग अहिले नै सिधा वार्ताको प्रस्तावलाई भने इरानले अस्वीकार गरिसकेको छ।
उनले यो अवस्थामा अमेरिका सिधै युद्धमा सहभागी नभएकै राम्रो हुने पनि बताए।
‘कुटनीतिक समाधान छोडेर अमेरिकाले पनि यो युद्धमा होमियो भने त्यसको परिणाम के हुन्छ भन्ने विकल्पहरू हाम्रा टेबलमा खुलस्त छन्’ उनले भनेका छन्।