इरानबाट फर्किन चाहने नेपाली नागरिकलाई भारत सरकारले उद्धारका लागि सहयोग गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले यसबारे जानकारी दिँदै छिमेकी राष्ट्रका नागरिकलाई उद्धारका लागि सहयोग गर्ने जनाएको हो।
दूतावासले नेपालसँगै श्रीलङ्काका नागरिकको पनि उद्धार गर्ने जनाएको छ।
‘नेपाल तथा श्रीलङ्काको सरकारको अनुरोधअनुसार इरानमा फसेका नेपाली तथा श्रीलङ्काका नागरिकलाई यहाँबाट निकाल्नका लागि भारतले सहयोग गर्नेछ’ दूतावासले एउटा सूचनामा भनेको छ।
दूतावासले नेपाल तथा श्रीलङ्काका नागरिकलाई सम्पर्क गर्नका लागि (+989010144557; +989128109115; +989128109109 लगायतका सम्पर्क नम्बरहरू पनि जारी गरेको छ।
इजरायल र इरानबीच युद्ध चर्किएपछि नेपाल सरकारले त्यहाँका नागरिकहरूलाई उद्धारका लागि पहल सुरु गरेको थियो।
इरानमा नेपाली दूतावास छैन। त्यहाँ श्रमका लागि प्रतिबन्ध पनि छ। त्यसैले कति नेपाली छन् भन्ने एकीन छैन। त्यहाँका नेपालीहरूका अनुसार इरानमा लगभग १७ जना नेपाली छन्। भने इजरायलमा साढे पाँच हजार नेपाली कार्यरत छन्।
भारतले भने आफ्ना नागरिकहरू आफ्नै जहाजबाट फर्काइरहेको छ।