रविको भावुक सन्देश ‘जेलभित्रै मारिएछु भने पनि…’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले जेलभित्रैबाट एउटा भावुक अपिल सार्वजनिक गरेका छन्। 

पार्टीले तेस्रो वर्ष मनाइरहँदा रविले जेलबाट यस्तो अपिल पठाएका हुन्। उनले आफूलाई राजनीतिक प्रतिसोध राखेर जेल कोचिएको भन्दै जनताबाट न्याय पाउने आशा पनि व्यक्त गरेका छन्। 

‘मेराविरुद्ध जाहिरी दिनेहरुले विस्तारै सत्य बोल्न थाल्नु भएको छ। बाँकीलाई अनुरोध छ, तपाईँहरु आफूलाई जन्म दिएका बा–आमा र आफूले जन्मे दिएका छोरा–छोरीको आँखामा आँखा जुधाएर भन्नुस् त, के रवि लामिछानेले ठगेरै तपाईँहरुले उजुरी दिनुभएको हो? रवि लामिछाने छ भनेरै कुनै सहकारीमा पैसा राख्नु भएको हो? तपाईँहरु मध्ये कतिजना पाप–धर्ममा विश्वास गर्नुहुन्छ मलाई थाहा छैन। तर, धर्मै नमान्नेलाई पनि पाप त लाग्छ। कस्ले कस्को लोभमा, स्वार्थमा या दबाबमा मेराविरुद्ध उजुरी दिनुभयो, एकपटक छातीमा हात राखेर आफैलाई सोध्नुस्, रवि लामिछाने ठगै हो त?’ २० पेज लामो अपिलमा उनले भनेका छन्। 

उनले सरकारले कतै आकर्षित नहुने ऐनका दफाहरू प्रयोग गरेको भन्दै न्यायका निम्ति आम नागरिकसँग अपिल पनि गरेका छन्। हाल रवि सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा छन्। 

‘प्रतिवेदनले कम्पनी कानूनअनुसार भन्दा–भन्दै सरकारले मलाई कतै आकर्षित नहुने सहकारी ऐनको दफा प्रयोग गर्नु र झुटा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह र प्रतिशोध नभएर के हो त’ उनले भनेका छन् ‘म मारिएछु भने पनि जनताले यिनीहरुका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन। यत्ति भनिसकेपछि अब मैले झन् यस बापत कत्रो मूल्य चुकाउनुपर्ने होला, त्यसको हिसाब पनि छैन र मलाई परवाह पनि छैन।’ 

यस्ताे छ उनकाे अपिल


 

प्रकाशित मिति: : 2025-06-21 10:45:00

प्रतिकृया दिनुहोस्