संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गरेका छन्।
बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’को आज उद्घाटन गर्दै मन्त्री किरातीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घन्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।
'नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला', मन्त्री किरातीले भने, 'परिवारसहित लुम्बिनी घुम्न आउनुहोस्।'
कोरिया नेपाल मित्रता ‘पिस पार्क’मा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरिएयो। एक सय आठ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्य, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै उद्घाटन समरोह गरिएको हो।
भिक्षुहरूले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीबीचको निःस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किरातीले बताए।'कोरियाले नेपालीलाई रोजगारी दिएर र नेपालीले पसिना दिएर सहयोग गरेका छौँ', उनले भने, 'अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ।'
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीलाई धन्यवाद दिएका छन्।