भारतीय फूलले बजार कब्जा, नेपाली ‘पुष्प व्यापारी’ मारमा

नेपालीहरूको दोस्रो ठुलो चाड ‘तिहार’ को रमझम गाउँँबस्ती, सहर र टोलटोलमा भित्रिन अब केहीदिन मात्र बाँकी छ।

बन्धुत्व र चेलीमाइतीको आपसी सदभाव तथा धार्मिक सहिष्णुताको हार्मोनीका रुपमा हेरिँदै आएको तिहारमा सबैभन्दा बढी प्रयोगमा आउने सयपत्री र मखमली फूल गाउँघरमा ढकमक्क फुलेका छन्।

कार्तिक-मंसिरको पारिलो मौसममा गाउँघरमा फूलेका सयपत्री, मखमली जस्ता फूलहरूले गाउँघरको सौन्दर्यतालाई निखारेको छ।

बारीभरि फुलेका सयपत्री र मखमलीले गाउँघरलाई जति मनमोहक र आर्कषक बनाएका छन्, तर तिनै गाउँघरमा पुष्प व्यवसाय गर्ने किसानहरूको मन भने चाडपर्व आउँदा अमिलो हुने गरेको छ।

मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-१ हिलेडागीमा पुष्प खेती गर्दै आएका नेम्वाङ एग्रो फार्मका सञ्चालक आइन्द्र नेम्वाङको पुष्प बगैँचामा पुग्दा हामीले उनको अनुहारमा हर्ष र विस्मातको मिश्रण एकै पटक भटायौँ।

१० कट्ठा क्षेत्रफलमा करिब २ हजार सयपत्री फूलका विरुवा रोपेर फक्राएका नेम्वाङ फक्रेका फूलले बजार नपाउने हुन् कि भन्ने चिन्तामा छन्।

भारतसँगको खुला सिमानाका कारण वैध र अवैद्ध बाटो भएर भित्रिने सयपत्री फूलले तिहारमा बजार कब्जा गर्ने भएका कारण आफूजस्तै अन्य स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउन मुस्किल पर्ने उनी बताउँछन्।

खुला सिमानाकाको फाइदा उठाएर विचौलियाहरूले अवैध बाटोबाट भित्राएका फूलहरू सरकारले नियन्त्रण गर्न सके स्थानीय किसानको उत्पादनले राम्रो बजार पाउने उनको दावी छ।

उर्लाबारी नगरपालिकाले किसानहरूलाई प्रोत्साहन गर्न र पालिकालाई तिहारको बेला फूलमा आत्मनिर्भर बनाउने उदेश्यले गत असारमा अनुदानमा विभिन्न प्रजातिका फूलका विउ वितरण गरेको थियो। नेम्वाङले पनि सोही अनुदानको विउ लगेर रोपेका थिए। अहिले उनको बारीमा करिब ६ हजार किलो फूल उत्पादन हुने उनले बताए।

तिहारको समयमा भारतीय फूलको दबदबा कम हुने हो भने पूर्वी मोरङ, झापा र सुनसरीसम्म पुर्‍याएर बिक्री गर्न पाए यो सिजनमा करिब ३ लाखको व्यापार गर्न सकिने नेम्वाङले बताए।

विषेश गरी तिहारको समयमा नेपालको पूर्वी क्षेत्रमा काकडभिट्टा, जोगवनी नाका हुँदै हरेक वर्षको तिहारमा भारतीय फूलहरू नेपाली बजारमा भित्रने गरेका छन् भने झापा र मोरङकै सिमावर्ती क्षेत्रबाट अवैध बाटो हुँदै फूलहरू नेपाल भित्रने क्रम पनि उत्तिकै रहेको छ। जसले गर्दा स्थानीय किसानले उत्पादन गरेका फूलहरूले बजार पाउन नसकेको अर्का किसान धनबहादुर भट्टराई बताउँछन्।

स्थानीय किसानहरूलाई पर्याप्त तालिम, प्राविधिक सीप र बजारीकरणलाई सहजता ल्याउन स्थानीय, प्रदेश र संघीय सरकार लागिपरे नेपालमा उत्पादन भएको फूलले भारतीय बजारमा समेत स्थान पाउने स्थानीय युवा किसाना अनिस गिरी बताउँछन्।

पूर्वी नेपालको पाँचथर जिल्लामा अकबरे खोर्सानीको उत्पादन गर्दै आएका नेम्वाङ त्यहाँको उत्पादनले मात्रै जीवन धान्न नसक्ने भएपछि मधेस झरेर कृषि कर्म गर्ने सोच बनाएर मोरङको उर्लाबारी झरी ३ विगा जग्गा लिजमा लिएर तरकारी, धान तथा फलफूल खेतीमा लागेका हुन्।

नेम्वाङ एक प्रतिनिधि पात्र मात्र हुन्। नेम्वाङजस्ता कृषिमा थातथलो छोडी मधेस झरेर कृषि पेशालाई नै अङ्गालेका अन्य किसानहरूको व्यथा पनि उस्तै छ।

तसर्थ, समयमै सिमा क्षेत्रमा फूलको ओसारपसारमा स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार र सिमा क्षेत्रमा तैनाथ रहेको शस्त्र प्रहरी बलले यस विषयमा ध्यान दिने हो भने तिहारको समयमा नेपाली माटोमै उत्पादन भएको सयपत्री फूलले राम्रो बजार पाउने थियो कि?

प्रकाशित मिति: : 2023-11-09 18:18:00

प्रतिकृया दिनुहोस्