शुक्रबार बिहानपख आएको भूकम्पको कम्पनपछि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा केही भौतिक क्षति भएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले बेस्सरी हल्लाउन थालेपछि जिल्ला कारागारका एकजना कैदी घाइते भएका छन्। अत्तालिएर भाग्न खोज्दा उनी घाइते भएका हुन्। उनको हाल उपचार भइरहेको छ।
त्यहाँको कोदारी इलाका प्रहरी चौकी केही चर्किएको छ। तर मानवीय क्षति भएको छैन।
भूकम्पपछि भोटेकोशी गाउँपालिका- ३ को तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो खसेको छ। वडाध्यक्ष निमा सोना शेर्पाका अनुसार मानवीय क्षति अहिलेसम्म नदेखिए पनि अरु क्षतिबारे बुझ्ने काम भइरहेको छ।
सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो। साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ।
भूकम्पले नेपाललगायत भारतका विभिन्न स्थानमा पनि कम्पन ल्याएको थियो।