गाजातर्फ गइरहेको डुंगा इजरायली सेनाले रोक्यो

इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ।

जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ। 

इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ।

उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो। 

दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ। हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन्।

उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशनद्वारा आयोजना गरिएको हो।

समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्‍याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण ग‍र्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, निर्शस्त्र नागरिक चालक दललाई अपहरण गरियो, र जिवनरक्षक सामग्री–जसमा बच्चाका लागि दूध, खाद्यान्न र औषधि सामाग्रीहरू थिए–जफत गरियो।’

तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचारबाजीको प्रयासको रूपमा चित्रण गरेको छ। सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फी याट सुरक्षित रूपमा इजरायली तटतर्फ आइरहेको छ।’

मन्त्रालयले थप जनाएको छ कि यात्रुरुहरू आफ्ना देश फर्किनेछन् र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइनेछ। पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियोसमेत सार्वजनिक गरेको छ। 

प्रकाशित मिति: : 2025-06-09 10:59:00

प्रतिकृया दिनुहोस्