‘हामीलाई त्रिपालको समस्या छ, गाई राति नै वनतिर धपाइदियौँ’

भूकम्पले घरमा चिराचिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी छिन् बारेकोटकी ६१ वर्षीया रामकुमार घर्तीले।

‘हामीलाई त्रिपालको समस्या छ। गाई राति नै वनतिर धपाइदियौँ। अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, उनले भनिन्, ‘आफू त पाल टाँगेर बसौँला। गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ। बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ।’ 

उनीजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन्। खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन्।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा भूकम्पकाे केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताएका छन्।

‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन्। त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ।’ 

अध्यक्ष गिरीले भने, ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ। तर कुनै पनि घर बस्न लायक छैनन्। अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन्। उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो।’ उनले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताएका छन्।

‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, उनले भने, ‘घर उभिएका मात्रै छन्। चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो।’

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन। उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन्। तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन्।

मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन्। हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ। भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन। 

प्रकाशित मिति: : 2023-11-06 09:59:00

प्रतिकृया दिनुहोस्