शुक्रबार आएको भूकम्पका कारण देशभर ९१० घर पूर्ण रूपमा क्षति पुगेको छ। नेपाल प्रहरीले आइतबार साँझ ५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार ९१० घर पूर्ण रूपमा क्षति हुँदा २ हजार ८६१ घरमा आंशिक क्षति भएको छ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ।
सो घटनामा जाजरकोटमा एक सय पाँच र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी जाजरकोटमा एक सय १२, रूकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन, तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ घाइते भएका छन्।