माओवादीले सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ- नेसपा

डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)ले समाजवादी केन्द्रकाे नाममा अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाएकाे आराेप लगाएकाे छ। नेसपाकाे यही असाेज १५ देखि १७ सम्म काठमाडाैँमा बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले उक्त आराेप लगाएकाे हाे।

माओवादी केन्द्रसँग नयाँ युगको नयाँ आवश्यकताअनुसार समाजवादी केन्द्र निर्माण गर्ने गरी वार्ता प्रक्रिया सुरु गरेकाे भएपनि माओवादीले त्यसले अंक गणित मिलाएर सत्तामा टिकिरहने अस्त्रकाे रुपमा प्रयाेग गरेकाे नेसपाकाे आराेप छ।

वार्ताकाे लागि ९ बुँदे प्रस्ताव पेस गरेकाे भएपनि माओवादीले बेवास्ता गरेकाे नेसपाकाे गुनासाे छ। पार्टी अध्यक्ष भट्टराईद्वारा हस्तक्षरित प्रेस वक्तव्यमा भनिएकाे छ, ‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ।’

नेसपाले ती ९ बुँदे समष्टीगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नजाएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएकाे छ।

आगामी दिनमा संगठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहँदै जनसरोकारका राष्ट्रिय मुद्दाहरुमा विभिन्न पार्टी र समूहहरुसंग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिहरुसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणकानिम्ति संयुक्त मोर्चा र ध्रुवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने प्रतिवद्धता नेसपाले गरेकाे छ।

विज्ञप्ति: 

प्रकाशित मिति: : 2023-10-05 15:45:00

प्रतिकृया दिनुहोस्