आज देशभरका अस्पतालमा आकस्मिक बाहेका सेवा ठप्प पारिएको छ। अस्पतालमा डाक्टर कुटपिटका घटनालाई लिएर नेपाल चिकित्सक संघले देशभर अस्पतालमा सेवा ठप्प पारेको हो।
यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको थियो। त्यही घटनालाई लिएर चिकित्सक संघले सेवा ठप्प पारेको हो।
देशभरका अस्पताल बन्द हुँदा नागरिक भने मारमा परेका छन्। टाढा–टाढाबाट अस्पतालमा आएका नागरिक मारमा परेका हुन्। नागरिकहरुले अस्पतालमा बन्द भएपछि डाक्टरमाथि आक्रोश व्यक्त गरेका छन्।
यता बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको नेपाल चिकित्सक सङ्घको भनाइ छ। दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनीसमेत सङ्घले दिएको छ।
देशभरका स्वास्थ्य संस्थामा अनिवार्यरूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ। अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्न पनि सङ्घको माग छ।