प्रिय नर्स र डाक्टर ! समयले तिम्रो काँधमा आफ्नै मृत्यु र अरुलाई बचाउने जिम्मेवारीको जोखिम एकैपटक राखिदिएको छ। तिमीलाई मृत्युको भयले किच्यो भने जिम्मेवारीबाट टाढा भाग्नेछौ र जिम्मेवारीबोधले जित्यो भने मृत्युलाई रछ्यानमा सुताउने छौँ। साँच्चिकै डरलाग्दो भूमरीमा छौ तिमी। कोठाभित्र कोरोनाको भयले थन्किरहेको मलाई यति सोच्दा पनि जिउमा काँडा उम्रन्छ।
कोभिड–१९ बाट दैनिक अप्रत्याशित मृत्यु र हजारौँ संक्रमित भएको खबरले दिमाग खराब गराइरहेका बेला के लेख्न सकिएला ? यति सोच्नसाथ सेतो पीपीई, मास्क र फेस सिल्ड गरिएको भर्चुअल इमेज मेरो खप्परमा आइपुग्यो। र, लाग्यो तिम्रो वीरताका अक्षरहरू त लेखिनै पर्छ। लेखिएला...।
तिम्रै अस्पतालबाट तुफान जसरी निस्किरहेका छन् मृत्युका खबर। र, हावा जसरी फैलिरहेका छन् दुनियाँका मकान–मकानसम्म, कान–कानसम्म।
कोरोनाले ध्वस्त पार्दै गरेको संक्रमितको फोक्सोमा अक्सिजन अभाव हुँदा तिम्रा सिलिण्डरविहीन हात कापिरहेका होलान्। फ्याँ–फ्याँ गरेको संक्रमित बोकेर तिम्रो हस्पिटलको प्यासेजमा साइरन बजाउँदै एम्बुलेन्स आइरहँदा बेड नभएर भक्कानिँदै छ होला तिम्रो मन। शय्यामा हट्टाकट्टा शरीरले फेरिरहेको सास क्षणभंगुरमै नाटकसरी रोकिँदा बर्सिरहेका होलान् तिम्रा आँखामा आँशु।
हप्ता दिनसम्म एउटै पीपीईमा संक्रमितको अघिपछि गर्दा काँपिरहेका होलान् तिम्रो मुटु। चाहिएका बेला मास्क र फेससिल समेत फेर्न हम्मे–हम्मे पर्दा कैयौँपटक सम्झिएका छौ होला परिवारको अनुहार र थपथपाए हौला आफ्नो निर्दोष निधार।