चीन पुगेर के गर्छन् प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शनिबार) अमेरिका प्रस्थान गर्दैछन्। न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभा सहभागी हुन अमेरिका जान लागेका प्रचण्ड त्यहीँबाट चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ।

अल्पविकसित देशहरुको अध्यक्षता गर्दै असोज ४ गते (सेप्टेम्बर २१) प्रचण्डले महासभालाई सम्बोधन गर्ने छन्। त्यसको भोलिपल्ट असोज ५ गते चीनको औपचारिक भ्रमणको लागि होङजाओ प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्डले जानकारी गराए।

अमेरिका प्रस्थान गर्नुअघि शुक्रबारको संसद बैठकमा बोलेका प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको कार्यतालिका अत्यन्त छोटो भएकोले अमेरिकाबाटै चीन जानुपर्ने परिस्थिति सिर्जना भएको बताए।

नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमणमा जान लागेका प्रचण्डले यस भ्रमणले नेपाल–चीनबीचको दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताए।

प्रधानमन्त्री भ्रचण्डले असोज ६ गते (सेप्टेम्बर २३) होङजाओमा चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता हुने जानकारी दिएका छन्। ‘होङजाओमा चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटघाटको कार्यक्रम रहेको छ,’ प्रचण्डले भने, ‘सोही दिन म १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी हुनेछु।’

त्यस्तै असोज ८ गते (सेप्टेम्बर २५) बेइजिङमा समकक्षी महामहिम लिछ्याङसँग औपचारिक भेटघाट र दुई पक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

त्यसपछि कृषि क्षेत्रमा छोटो समयमै सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिका क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको प्रचण्डले बताए।

छोङछिङको भ्रमणपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत शाेषासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरी नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

भ्रमणका क्रममा नेपालको कृषि, ऊर्जा तथा पूर्वाधार क्षेत्रको विकासबारे छलफल हुने उनको भनाइ छ। ‘भ्रमणको क्रममा कोभिडको कारण नियमित हुन नसकेका दुई पक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरु खोल्ने विषयमा समेत कुराकानी हुनेछ,’ प्रचण्डले भने।

भिडियाे :

प्रकाशित मिति: : 2023-09-15 14:23:00

प्रतिकृया दिनुहोस्