म्यान्मारको सबैभन्दा शक्तिशाली र प्रजातान्त्रिक जातिवादी विद्रोही संगठन यतिबेला शोकमा डुबेको छ।
कचिन स्वतन्त्र संगठनद्वारा आयोजित संगीत समारोहमा ‘जुन्ता’ले हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ। जसमा ‘केआईए’ नबौँ ब्रिगेडका उच्च अधिकारीहरू पनि छन्।
कचिन स्वतन्त्र संगठनले आइतबार राति आफ्नो ६२औँ वार्षिकोत्सव मनाउँदै गर्दा ‘जुन्ता’ले घातक आक्रमण गरेको हो।
उत्तरी कचिन प्रान्तको फकान क्षेत्रमा सात दशकदेखि संघर्षरत ‘केआईओ’ प्रभावशाली सशस्त्र समूह हो। कचिन स्वतन्त्र संगठनको लडाकू समूह ‘केआईए’मा एउटा गोर्खा बटालियन छ। जहाँको युद्ध–मैदानमा छन्, नेपालीभाषी युवा–युवती। गोर्खा बटालियनका पूर्ण सदस्यहरू सुरक्षित स्थानमा रहेको गोर्खालीहरूले जनाएका छन्।
म्यानमार सेनाले यसक्षेत्रमा फोन र इन्टरनेट काटेको छ। मुख्य सडकमा सरकारी सेना तैनाथ छन्। घटनास्थल छेउछाउका नागरिकहरू थप आतंकित छन्। घाइतेहरूले उपचार पाउन सकेका छैनन्। गाउँलेहरू जंगलतिर भागेका छन्।
०००
म्यान्मार अँध्यारो कुहिँरोभित्र हराइरहेको छ। ‘जुन्ता’को आतंक उस्तै छ। दिनदिनै निर्दोष नागरिकको हत्या भइरहेको छ।
आइतबार राति संगीत उत्सव चलिरहेका बेला सेनाले चारवटा बम बर्सायाे। गीतमा रमाइरहेका चर्चित कलाकार, बालबालिका, शिक्षक, कृषक, व्यापारी र विद्रोही कमान्डर–सेना मारिएका छन्। तर अन्तर्राष्ट्रिय जगत मौन छ। त्यो हवाई आतंकबाट जोगिएका एकजना पात्र स्थानीय पत्रिकासामु पुगेका छन्। उनी त्रसित छन्। आफू भागेर बाँचेको बताउँछन्। नाम नछाप्ने सर्तमा उनी त्यो रातको सैन्य आतंक यसरी सुनाउँछन्—
०००
कचिन स्वतन्त्र सेनाको ६२औँ वार्षिकोत्सव मनाउँदै थियौं, हामी। त्यहाँ धेरै मानिसहरू थिए। हामीले कन्सर्ट हेरिरहेका थियौँ। कार्यक्रम भइरहेको थियो। लगभग सकिने बेला थियो। एकाएक बम पड्किन थाल्यो। त्यसपछि भागेँ। अनि जंगलतिर दगुरेँ।
म फकानमा कार्यक्रम हेर्न गएको थिएँ। ढिलागरी त्यहाँ पुगेको थिएँ। दुईवटा गीत सुने र एउटा नाच हेरेँ। बम खस्न थालेपछि मैले केही देख्न सकिनँ। मैले जीवनमा पहिलोपटक यस्तो भोगेको हुँ। मलाई थाहा छ, बम स्टेज नजिकै खसेको थियो।
६२औँ वार्षिकोत्सवमा चर्चित कलाकारहरू थिए। कलाकारको नाम याद छैन। उनीहरूले गाउन थालेका थिएनन्। सेट मिलाउँदै थिए। उत्सव अन्तिम चरणमा थियो। म पहिले त्यो ठाउँमा गएको पनि थिइनँ।
०००
म स्टेजको बायाँतिर थिएँ। रमाइलो थियो। तर मेरो अगाडि वृद्ध र युवा–युवती थिए। म भागेपछि बम खस्यो। त्यो क्षेत्रमा कम्तिमा तीन सय जति थिए। बम मेरो अगाडि खस्यो, तर अलि टाढा।
जब म दौडिन थालेँ। मैले आगो देख्न सकिनँ। त्यहाँ धेरै उज्यालो थियो। मानिसहरू चिच्याउन, कराउन, रुन थाले। भवनहरू जल्न थाले। जब मैले पछाडि फकेर हेरेँ, म बसेको ठाउँमा आगो सल्किरहेको थियो।
०००
घटनाको वर्णन गर्न मसँग शब्द पनि छैनन्। मेरो कान हिजोसम्म बजिरहेको थियो। सेनाले चारवटा बम खसाल्यो। एउटा भान्साकोठामा खस्यो। जहाँ खाना पाक्दै थियो। दुईवटा दर्शकसामु। र अर्को बाटोमा खसाल्यो। मेरा धेरैहरू मरेका छन्। उनीहरू म अब सम्झना मात्रै सक्छु।
म रातभर जंलमा लुकेर बसेँ। अनि बिहान घर फर्केँ। लुकेको ठाउँ घटनास्थलबाट धेरै टाढा थियो। घर फर्कन डराएको थिएँ, किनभने सैनिकहरू फर्कने खतरा थियो। म वैकल्पिक मार्ग प्रयोग गरेर घर पुगेँ। भगवानलाई धन्यवाद, म धन्न बाँचे...
(म्यान्मार सेनाकाे हवाई आक्रमणबाट बचेका एक ३३ वर्षीय युवककाे नाम गाेप्य राखिएकाे छ।)