मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ।
देशभर पूर्णतया माैसम बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।