नेपाल सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा आज पाँच बुँदे सहमति भएको छ। सो सहमतिसंगै पीडितले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा रौतहटमा सहिद स्मारक स्तम्भ बनाउने सहमति भएको छ।
यसैगरी सो घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुरोध गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
यस्तै सो घटना परी शहिद घोषणा गरिएका व्यक्तिको विवरण राजपत्रमा प्रकाशित गर्ने र उक्त घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृत्यकहरुका हकमा सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
सहमति पत्रमा नेपाल सरकार गृह मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट समितिका संयोजक रुपसागर देवी उपाध्यायले हस्ताक्षर गरेका छन्।
यसैगरी रोहवरमा गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, उपसचिव (कानून) श्रीकृष्ण पौडेल, प्रहरी उपरिक्षक सुवासचन्द्र बोहरा र पीडिततर्फबाट रोहबरमा रौतहट माधवनारायण नगरपालिका –५ का उपेन्द्र साह र परोहा नगरपालिकाका रोकैया खातुनले हस्ताक्षर गरेका छन्।
२८ जनाको मृत्यु र सयौं व्यक्ति घाईते हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको थियो। १ साउनदेखि आन्दोलनका विभिन्न कार्यक्रम जारी रहेको थियो। रौतहटको चन्द्रपुरमा विगत ११ दिनदेखि जारी धर्ना कार्यक्रम आजैको मितिदेखि स्थगित भएको आम जनता पार्टी (आजपा) का नेता बालकृष्ण सापकोटाले जनाएका छन्।