सरकारले क्विन्टल सुन तस्करी प्रकरण’को अनुसन्धान प्रहरीलाई दिने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिने गरी छलफल अगाडि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालय स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्डले बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलगायत अन्य प्रहरी अधिकृतहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।
उक्त छलफलमा सय किलो सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिने गरी छलफल भएपनि प्रधानमन्त्री कार्यालयले अहिलेसम्म आधिकारी पत्र नपठाएको एआईजी बज्राचार्यले बताइन्।
‘हिजो प्रधानमन्त्रीज्यूले यसबारे छलफल गर्न कार्यालय बोलाउनुभएकाे थियो। हामीले अनुसन्धान गर्ने गरी कुरा पनि भएको हो। तर, प्रधानमन्त्रीज्यूले के निर्णय गर्नुभयो थाहा भएन। हामीकहाँ अहिलेसम्म पत्र आएको छैन’, एआईजी बज्राचार्यले भनिन्।
क्विन्टल सुन प्रकरणको अनुसन्धान अहिले राजस्व अनुसन्धान विभागले गरिरहेको छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहन्छ। भने, प्रहरी गृह मन्त्रालयअन्तर्गत पर्छ।
उक्त परिमाणको सुन राजस्व अनुसन्धान विभागको विशेष टोलीले नै यही साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा सिनामंगलबाट बरामद गरेको थियो।
त्यसयता अनुसन्धान गरिरहेको विभागले १८ जनालाई पक्राउ गरेको छ। जसमा भन्सार एजेन्टसँगै चिनियाँ र भारतीय नागरिक छन्।
अहिलेसम्म पक्राउ परेकाहरुको बयानबाट अनुसन्धान थप अगाडि बढ्नसक्ने अनुमान गरिएसँगै यस प्रकरणको अनुसन्धान प्रहरीले पनि गर्नुपर्ने माग उठेको थियो। भने, गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आवश्यकता परेको अवस्थामा यस प्रकरणको अनुसन्धान प्रहरीले पनि गर्न सक्ने बताएका थिए।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने यस प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेर लगातार संसद अवरुद्ध गर्दै आएको छ।