रविले सञ्चालन गरेको ‘ब्लु बस’प्रति एमाले महासचिवको टिप्पणी– भोटको सस्तो राजनीति

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले महिलाको लागि मात्रै ‘ब्लु बस’ सञ्चालनमा ल्याएर भोटको सस्तो राजनीति गरेको आरोप लगाएका छन्।

महिलाको लागि मात्रै निःशुल्क बस सेवा सञ्चालन गर्नुले लैङ्गिक असमानता निम्तिने भन्दै यस्ता विषयमा गम्भीर हुनुपर्ने पोखरेलले सुझाव दिए।

पोखरेलले ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ’ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनुपर्ने बताए। ‘हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ। तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौँ’, पोखरेलले भने।

उनले दुनियाँका धेरै मुलुकका महिलाहरु बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा महिला स्वतन्त्र रहेको र अहिले पनि परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका महिलाको लागि मात्रै निःशुल्क बस सेवा सञ्चालन गर्दा प्रश्न उठ्नु स्वभाविक भएको उनको भनाइ छ।

यस्तो छ पोखरेलको भनाइ :

सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश दुनियाँका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरुसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन्।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभावकि हो।

नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ। चितवन महिला जागरण र जागृतिको थलो हो। पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बिचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिएँ।

तर, आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ। हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ।

तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौँ।
चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ।

प्रकाशित मिति: : 2023-08-03 10:35:00

प्रतिकृया दिनुहोस्