उच्चस्तरीय छानबिन समिति गठन नभए संसद चल्न दिन्नौँ : एमाले 

BreaknLinks
BreaknLinks

नेकपा एमालेले एक सय केजी बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान कायमै राखेकाे छ। विमानस्थलबाट बाहिरिएको एक सय केजी बढी सुन बरामद प्रकरणमा छानबिन गर्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ। 

एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद बैठक चल्न दिएको छैन।  साउन १० गते संसद बैठक अबरुद्ध गरेको एमालेले हिजो (साउन १५ गते) उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म चल्न नदिने अडापछि संसद बैठक सुचारु नै भएन। 

आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक पनि चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले बताए। उनले बिएल नेपाली सेवासँग भने, ‘हाम्रो अडान कायम छ। आज पनि हाम्रो मागको सुनाइ नभएमा संसद बैठक चल्न दिँदैनौँ।’

सुन तस्करी प्रकरणमा सत्तारुढ दलको संलग्नता देखिएको भन्दै राजस्व अनुसन्धान विभागले गरेको छानबिनले मात्र पारदर्शी हुन नसक्ने बर्तौलाको भनाइ छ। 

यही साउन ३ गते हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमार्फत ‘ब्रेक–शू’भित्र लुकाएर ल्याएको सय केजी बढी सुन विमानस्थल बाहिर सडकबाट राजस्व अनुसन्धानको टोलिले बरामद गरेको थियो। 

निकै ठुलो सुरक्षा घेराबाट सुन बाहिर आउनु गृहमन्त्रीकोसमेत संलग्नता हुन सक्ने एमालेले बताउँदै आएको छ।  साथै उक्त सुन प्रकरणमा माओवादी केन्द्रका अन्य नेताकाे नामसमेत जाेडिएकाे छ। 

प्रकाशित मिति: : 2023-08-01 08:58:00

प्रतिकृया दिनुहोस्