प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयकाअनुसार बैठक भोलि (सोमबार) दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो।
एमालेले ‘सुन प्रकरण’को अनुसन्धान नटुङ्गिएसम्म बैठक चल्न नदिने अडान लिएको छ।
बैठक सुचारु गराउनको लागि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। तर, छलफलमा सहमति जुट्न सकेको थिएन्।
एमालेको अवरोधकै कारण यसअघिको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।
साउन ३ गत विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद गरेको थियो। उक्त बरामद सुनको सत्य तथ्य छानबिन हुनुपर्ने एमालेको माग छ।