गौर हत्याकाण्डका ‘नाइके’हरुलाई बचाउन प्रतिक्रियावादीहरु सक्रिय भए: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नमा ढिलाइ गर्न नहुने बताएका छन्। अहिले गौर हत्याकाण्डका नाइकेलाई जोगाउनका लागि प्रतिक्रियावादीहरु सक्रिय भएर लागेको उनले बताए।

रौतहटको मौलापुरमा निर्माण भएको पार्क होटलको दोस्रो खण्डको आज उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले रौतहटको कलंकको रुपमा राजपुर बमकाण्ड र गौर हत्याकाण्ड रहेको बताए।

राजपुर बमकाण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको उनले बताए। हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले आपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउनुपर्ने बताए।

घटनाको छानबिनका लागि गठन गरिएको आयोग समेतले आपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहको भनाइ थियो।

‘दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ। एउटा राजपुर बमकाण्ड र अर्को गौर हत्याकाण्ड। राजपुर बमकाण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ’, आजपा अध्यक्ष साहले भने, ‘यहाँ जाहेरी दर्ता भएको छ, तत्कालिन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ। त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन। गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ।’

घटनाको १६ वर्ष बितिसक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाईलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उनले बताए।

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए।

उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए।

हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो। तर, मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन्।

सोही कार्यक्रमका बीच मौलापुर नगरपालिकाले किसानहरुलाई कृषि समाग्री समेत वितरण गरेको छ। माछा व्यवसायीहरु तथा तीन बाली खेति गर्ने किसान एवं तरकारी खेती गर्ने किसानहरुलाई नगरपालिकाद्वारा निःशुल्क विभिन्न कृषि सामग्री बितरण गरिएको हो।

प्रकाशित मिति: : 2023-07-25 20:23:00

प्रतिकृया दिनुहोस्