अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा हुन लागेको फिफा महिला फुटबलको पहिलो खेल न्युजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्क स्टेडियममा सुरू भएको छ । पहिलो खेल समूह ए अन्तर्गत सहआयोजक न्युजिल्याण्ड र नर्वेबीच हुदैछ ।
न्युजिल्याण्ड फिफा बरियताको २६औं र नर्वे १२औं स्थानमा छ । फिफा बरियतामा न्युजिल्याण्ड नर्वेभन्दा पछाडि रहे पनि उसलाई घरेलु मैदान र समर्थकको साथ छ ।
आजको अर्को खेल सिड्नीमा सहआयोजक अस्ट्रेलिया र गणतन्त्र आयरल्यान्डबीच हुदैछ । अष्ट्रेलिया फिफा बरियतामा दशौ स्थानमा रहे पनि प्रतियोगिता जित्ने दाबेदारका रूपमा हेरिएको छ । आयरल्याण्ड फिफा बरियतामा २२औं स्थानमा रहेको छ ।
महिला विश्वकपको यो नवौं संस्करण हो । ३२ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा अष्ट्रेलियामा ३५ र न्युजिल्याण्डमा २९ गरी ६४ खेल हुनेछन् । फिफा महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा चीनले आयोजना गरेको थियो ।