राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिएका छन्।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र हुने ढुङ्गानाले बताएका हुन्।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो।
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ। प्रकाउ पर्नेमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बताएकाे छ।