अमेजन वेब सर्भिसेस (एडब्लुएस) तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बिहीबार एक अन्तरक्रिया आयोजना गरेको छ।
'नेपालको प्रविधि क्षेत्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ' भन्ने विषयमा आयोजित छलफलमा एडब्लुएस उपभोक्ता समूह नेपाल तथा एडब्लुएस एकेडेमीले नेपालको प्रविधि क्षेत्रको उत्थानका साथै प्रविधि क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्तिकरण गर्न गरिरहेका कामहरुको बारेमा पनि जानकारी गराइएको थियो।
उक्त अवसरमा वक्ताहरुले प्रविधि क्षेत्रमा आफ्नो यात्राको कथा सुनाउँदै आफ्ना अनुभवहरु शेयर गरेका थिए।
कार्यक्रमका मुख्य वक्ता जेनेस सलुशनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयाँलले आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिङको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताए।
सन् २०१९ देखि 'एडब्लुएस एमव्यास्डर' तथा एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफूले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटक ‘एडब्लुएस कम्युनिटी डे’ आयोजना गरेको उनले स्मरण गरे।
यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उनले बताए।
'यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षता विकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न र एक अर्कालाई सघाउने सञ्जाल निर्माण गर्न मदत गरिरहेका छन्।
त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा र कम्पनीहरुमा रहेको 'सीपको ग्याप 'कम गर्न पनि मदत पुगेको छ', फुयाँलले भने।
एउटा प्रमुख अमेरिकी वित्तीय सेवा कम्पनी, क्रस रिभर बैंकको क्वान्टिटेटिभ स्ट्राटेजिज ग्रुपका प्रमुख, प्रवेश रिजालले आफ्नो बैंकले कसरी नेपाली इन्जिनियरहरुको सीप र क्षमता प्रयोग गरिरहेको छ भन्ने अनुभव सुनाए।
उनले नेपालमा पनि गुणस्तरीय सेवा दिन सक्ने विश्वस्तरको प्राविधिक जनशक्ति छ भन्ने आफूले थाहा नपाएको बताए। एडब्लुएस र जेनेस सलुशनसंग काम गरेपछि नेपाली टेक जनशक्तिको क्षमताबाट आफू प्रभावित भएको उनले जनाए।
‘तपाईंहरुको मदतबाटै क्रस रिभर बैंकले अमेरिकाजस्तो निकै प्रतिस्पर्धी बजारमा नवपरिवर्तनमा आधारित सेवाहरु दिन सकीरहेको छ। यसका लागि म तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु,’ रिजालले भने।
त्यस्तै एडब्लुएसको सामुदायिक प्रभाव कार्यक्रमकी प्रमुख क्लेरा सेडानाले नेपालको सूचना प्रविधि क्षेत्रमा महिला तथा किशोरीहरुको सहभागिता वृद्धि गर्न आफ्नो कम्पनीले गरिरहेको कामको बारेमा जानकारी दिइन्।
‘समुदायमा लामो समयसम्म प्रभाव पार्ने काम गर्नु हाम्रो जिम्मेवारी हो। हामी हाम्रो नेतृत्व सम्बन्धी सिद्धान्तहरुप्रति बफादार छौं र हामी काम गर्ने समुदायहरुको उन्नतिको लागि हाम्रो सिकाइ कार्यक्रम, स्थानीय सामुदायिक साझेदारहरु र एडब्लुएस साझेदार संजालको सामूहिक शक्ति उपयोग गर्न हामी प्रतिबद्ध छौं’, उनले भनिन्।
उक्त अवसरमा 'गर्ल्स इन टेक नेपाल,' 'हर जर्नी' तथा 'शी क्यान' जस्ता कार्यक्रमहरुको बारेमा पनि जानकारी दिइएको थियो। यस्ता कार्यक्रमहरुले प्रशिक्षण तथा 'मेन्टरिङ्ग' को माध्यमबाट सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपाली महिला तथा किशोरीहरुको सीप विकास गर्न तथा करियर विकास गर्न सघाउ पुराइरहेका छन्।